पाथीभरा क्षेत्रमा मदिरा र मासु प्रतिबन्ध, भजन अनिवार्य

ताप्लेजुङ : पूर्वीनेपालको प्रसिद्ध तीर्थस्थल पाथीभरा जान भत्तजन जब सवारीमा चढ्छन, तब जानकारीसहित भजन बज्न थाल्छ । ‘नमस्कार ! तपाईं पाथीभरा क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ । यो धार्मिक क्षेत्र हो । यहाँ कुनै प्रकारको मदिरा र मासु प्रयोग निषेध गरिएको छ ।’ जिल्ला सदरमुकाम फुङलिङ बजारबाट काफ्लेपाटीसम्म १६ किलोमिटर यात्रामा तिर्थयात्रीलाई पाथीभराको महिमा र ताप्लेजुङका अन्य पर्यटकीयस्थल बारे वर्णन गरिएका संगीतमय सन्देशले तिर्थयात्रीलाई आल्लादित बनाउँछ ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर जाने कसैले पनि मादक पदार्थ र मासु सेवन गर्न पाउँदैनन् । यसअभियानले पाथीभरा र जिल्लाको प्रचार र प्रवद्धनमा सहयोग पुग्ने स्थानीय व्यवसायी बालमणी बरालले बताए । फुङलिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिको पहलमा चैत १ गतेदेखि यो नियम लागु गरिएको हो ।

फागुन २५ गतेदेखि नै सो क्षेत्रका होटल व्यवसायीले मासु र मदिरा बिक्री नगर्ने र विक्रीका लागि ल्याइएका मदिरा फिर्ता गर्ने निर्णय गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले व्यवसायीलाई यस बारे आग्रह गरेको थियो । ‘यो क्षेत्रमा मासु र मदिराको प्रयोग पूर्ण रुपमा हटिसकेको छ’, व्यवसायी इन्द्रनारायण भट्टराईले भने, ‘हामीसँग भएको मदिरा फिर्ता गरिसकेका छौं ।’ बली दिन र सगुन चढाउने चाहने भक्तजनलाई भने निषेध नगरिएको पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका सचिव लक्ष्मी काफ्लेले जानकारी दिए ।

तिर्थयात्री बोक्ने प्रत्येक सवारीसाधनमा भजन बजाउन फुङलिङ नगरपालिकाले भजनसहितको पेन ड्राइभ उपलब्ध गराएको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए । ‘पाथीभराको महिमा र गरिमा समेटिएका भजन र त्यहाँको वर्णनले यात्रुलाई आनन्दित बनाउँछ । यसमार्फत पाथीभरा क्षेत्र जाने हरेकले जानकारी पाउँछन्’, नगरप्रमुख प्याकुरेलले भने, ‘ताप्लेजुङको पहिचान पाथीभरा मन्दिरको प्रचारप्रसार गर्न यसले सहयोग गर्ने विश्वास लिएका छौं ।’

नियम उल्लंघन गर्नेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको भनाइ छ । चालक र व्यवसायीलाई तिर्थयात्रीसँग राम्रो व्यवहार गर्न पनि आग्रह गरिएको भण्डारीले बताए । ‘उहाँहरु सेवा प्रदायक भएकाले यात्रुसँग राम्रो व्यवहार र सहयोग गर्न आग्रह गरेका छाूं’, उनले भने, ‘सेवाग्राहीबाट उजुरी आएमा, रुखो र अभद्र व्यवहार भएमा तत्काल कारवाही गर्नेर्छौं ।’

पछिल्लो तथ्यांकअनुसार पाथीभरा दर्शन् गर्न वार्षिक ४ लाख तिर्थयात्री आउने गरेका छन् । ताप्लेजुङमा आर्थिक विकासका लागि अलैंचीपछि धार्मिक पर्यटकको योगदान रहेको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले बताए । पाथिभर मन्दिरसम्म पुग्न काफ्लेपाटीसम्म साना सवारीसाधन चल्छ । त्यहाँबाट करिब तीन घण्टा पैदल हिड्नुपर्छ । पाथीभरालाई नमुना धार्मिक क्षेत्र बनाउने उद्देश्य लिइएको, प्रत्येक होटल एवं सवारीसाधनमा पाथीभरासहित ताप्लेजुङका पर्यटकीयस्थल बारे जानकारी समेटिएका बोर्ड स्टिकर राखिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!