छोराछोरी एसईई परीक्षा केन्द्रमा ओसार्ने सरकारी गाडीको लस्कर

सेतो नम्बर प्लेटका यी गाडी राज्यकोषबाट तलब खाने नेता, पदाधिकारी र उच्चपदस्थ अधिकृतलाई कार्यालय आउजाउ र सरकारी प्रयोजनका लागि दिइएको हो । सरकारी कामवाहेक अन्य प्रयोजनमा यी गाडी प्रयोग गर्न पाईंदैन । तर नेता र उच्चपदस्थ सरकारी अधिकृतले भने गाडीको चरम दुरुपयोग गरेका छन् । उनीहरुले पदीय दुरुपयोग गरी छोराछोरी र नातिनातिनालाई एसईईको परीक्षा केन्द्रमा ओसार्न गाडी प्रयोग गरिरहेका छन् । हो अहिले एसईई परीक्षा चलिरहेको छ र काठमाडौं, ललितपुर लगायत सहरी क्षेत्रका परीक्षा केन्द्रमा विद्यार्थी पुर्याउन एकाविहानै सरकारी गाडीको लावालस्कर लाग्ने गरेको छ । गाडी सरकारी, यसमा प्रयोग हुने इन्धन खर्च सरकारी अनि यसका चालक पनि सरकारी, तर प्रयोग भने निजामति, प्रहरी, सेना र संस्थानका उच्च अधिकृतको निजी प्रयोजनमा, यो सरासर सरकारी सम्पतिको दुरुपयोग हो ।

सरकारी गाडी कसरी दुरुपयोग हुन्छ भन्ने यो ताजा उदाहरण हो । तत्कालीन व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिअन्तर्गतको उपसमितिले पनि सचिव, सहसचिव लगायत उच्च पद्स्थ कर्मचारीका अलावा मन्त्री, नेता र संवैधानिक पदाधिकारीले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । तर गाडीको दुरुपयोग रोक्न कुनै निकायले पनि चासो दिएको छैन । यी गाडी जनताले तिरेको करबाट किनिएका हुन् । त्यसैले सरकारी कामका लागि मात्र प्रयोग हुनुपर्छ । दुरुपयोग यसरी निजी प्रयोजनमा गाडी प्रयोग गर्ने क्रम रोक्न कानुन बनाएर कडाइसाथ कार्यान्वयन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!