नेता र मन्त्री आए पनि हामीले खान पाएका छैनौँ :हावाहुरी पीडित

बारा – फेटा गाउँपालिका–६, पुरैनियाकी कलमा खातुनका छोराबुहारी र छोरी यतिखेर वीरगञ्जमा उपचार गराइरहेका छन् । बितेको आइतबार साँझ आएको हावाहुरीले घाइते बनाएका खातुनका छोराबुहारी अस्पतालमा भर्ना भए पनि उहाँ अस्पतालमा जान पाउनु भएको छैन ।

उहाँलाई बिरामीको भन्दा पनि आफ्ना आठ र ६ वर्षीय नातिनातिनाको बासगासको चिन्ताले पिरोलिरहेको छ । हुरीले घर नै भत्काएपछि अहिले कहाँ बस्ने र के खाने भन्ने समस्या नै कलमा खातुनको पीडाको मुख्य कारण बनेको छ । भत्किएको घर नजिकैको खुल्ला चौरमा खुल्ला आकाशमुनि रात काट्न बाध्य उहाँ भन्नुहुन्छ, ‘राति शीत पर्छ, लामखुट्टेले टोक्छ र दिउँसो घाम लाग्छ । तर कहाँ जाउँ, कुनै ठाउँ छैन । कसैले त्रिपाल पनि दिएका छैनन् । खानेकुरा त जसोतसो मागेर बच्चाहरुलाई खुवाएको छु ।’

यस्तो समस्या उहाँको मात्रै होइन, अहिले पुरैनिया, भलुही भरवलिया, हर्दिया परशुरामपुर, खुटवालगायतका ठाउँ हुरीले प्रभावित नागरिकको बिजोग छ । बालबालिका र बुढाबुढीलाई अझै समस्या छ ।

तीन दिन बित्न लाग्दा पपन कतैबाट बासको उचित व्यवस्था हुन नसकेकोमा निराश भएका छन्, हावाहुरी पीडित । पुरैनियाका ४५ जर्षीय समीर अन्सारी हावाहुरीले बचेको घरको नै पुरानो पाल टाँगेर कष्टकर जीवन कटाउनु परेको दुखेसो पोख्नुहुन्छ ।

उहाँले नेता र मन्त्रीहरु आएर आश्वासन मात्रै दिएको गुनासो गर्नुभयो । पीडितहरु भरपेट खानसमेत नपाएको गुनासो गरेका छन् । खुल्ला आकाशमुनि बस्दा आफूहरुलाई लामखुट्टेले टोक्ने गरेका कारण अरु रोग लाग्ने हो कि भन्ने त्रासमै रात कटाउन परेको पुरैनियाका अर्का पीडित वाहब अन्सारी बताउनु हुन्छ ।

अहिले पीडितहरु कतिखेर कसैले चाउचाउ, बिस्कुट, पानी देलान् र भोक टार्न सकिएला भने आशमा बसिरहेका छन् । विभिन्न संस्था र व्यक्तिहरु राहत आफ्नो आफ्नो तरिकाले वितरण गरे पनि सबैले पाउन नसकेको पीडितहरुले गुनासो गरेका छन् ।

फेटा–५, का वडाध्यक्ष जाकिर अन्सारीले राहत वितरण एकद्वार नीतिले गर्न जिल्ला प्रशासन कार्यालय गुनासो गरे पनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!