आँधीहुरीले भत्काएको गाँउमा उद्धारको काम जारी, थप शव भेटियो

१९ चैत, पुरनिया (बारा) । आइतबार साँझको आँधीहुरीले सबैभन्दा धेरै मानवीय क्षति भोगेको पुरनिया गाउँमा मंगलबार बिहान हामी पुग्दा प्राइभेट गाडी र मोटरसाइकलको ताँती थियो । ठूला नेताको ओहोर-दोहोरका कारण देहाती सडकको धुलो आकाशमा मडारिइरहेको थियो ।

अनलाइनखबरको टोली त्यहाँ पुग्दा नेपाली सेनाका जवानहरु हुरीले भत्काएका घरका संरचना हटाउँदै थिए । एक प्लाटुन सेनाका जवान तरतरी पसिना चुहाउँदै खाली हात ईट्टा र काठपात हटाउन तल्लीन रहँदा एक बटालियनजति रमितेहरु चाहिँ उनीहरुलाई घेरेर बसेका थिए । कोही मोबाइलबाट सेल्फी खिच्दै थिए भने कोही सैनिक जवानलाई आदेशको शैलीमा यसो गर, उसो गर भन्दै थिए ।

जनप्रतिनिधिहरु नेताको स्वागतमै व्यस्त

सोमबार बिहानदेखि शुरु भएको भीआइपीको आगमन मंगलबार झनै बाक्लिँदा आँधी पीडितको गासबासको दिगो व्यवस्थापनमा भने सुरक्षाकर्मी बाहेक अरु कोही खटेको देखिएन ।

विपदका बेला स्थानीय तहको भूमिका सबैभन्दा प्रभावकारी हुनुपर्ने हो । तर, फेटा गाउँपालिकाका जनप्रतिनिधिहरु आफ्ना नेताको स्वागत सत्कारको दौडधूपमै व्यस्त थिए ।
गाउँपालिकाले पीडितहरुका लागि सामुहिक भोजन सञ्चालन गरे पनि प्रभावकारी नबनेको गुनासो पीडितले गरिरहेका थिए । फेटा गाउँपालिका प्रशासकीय अधिकृतको अत्तोपत्तो थिएन । स्थानीय नेता कार्यकर्ताहरु पनि आफ्ना ठूला नेताको स्वागत सत्कार र उनीहरुको पछि लावालस्कर लगाउनमै केन्द्रित देखिए ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय सरकारका केही मन्त्रीहरु र सिंगो प्रदेश सरकार आँधी प्रभावित क्षेत्रमा पुग्यो । तर, दिनभरि भीआइपी आगमनको रमिते बनेकाहरु आ-आफ्नो दरदिशा लागेपछि पीडितहरु खुल्ला आकाशमुनि रात गुजार्न बाध्य भए । राति पठाइएको पाल पनि पीडितले टाँग्न पाएनन् ।

मंगलबार बिहानै फेरि काठमाडौंबाट नेताहरुको लावालस्कर चलिरहृयो । कांग्रेस सभापति शेरवहादुर देउवा पुरनिया पुगेर २५ लाख सहयोगको घोषणा गरेलगत्तै सोही ठाउँमा पुगेका नेकपा अध्यक्ष प्रचण्डले प्रति मृतक परिवार ५ लाखको घोषणा गरे । राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झासहितका नेताहरु पीडितसमक्ष पुगेर केन्द्र सरकारको आलोचना गरेर फर्किए ।

वीरगञ्जबाट करीव १० देखि १५ किलोमिटरको दूरीमा आँधीग्रस्त गाउँहरु रहेकाले पनि यहाँ पीडितभन्दा धेरै बाहिरी मान्छेहरुको भीडभाड बढेको हो ।

कतिपय व्यक्ति र संस्थाहरु राहत सामाग्री लिएर गएका छन् । तर, उनीहरुले लगेको राहत सामाग्री वितरणको व्यवस्थापन गर्नुपर्ने स्थानीय तहका जनप्रतिनिधिको भूमिकामाथि नै पीडितले प्रश्न उठाइरहेका पाइयो ।

संकटका साथी सुरक्षाकर्मी

राजनीतिक दलका नेता र मन्त्रीहरु पीडितहरुलाई भेट्न प्रभावित क्षेत्रमै पुग्नु अवश्य पनि राम्रो कुरा हो । तर, नेताहरुले घटनास्थलमा पुगेर पीडितको तत्काल अस्थायी बसोबास र खानपिनका लागि आवश्यक पहल गर्नुपर्नेमा आफ्नै कार्यकर्ताको भीडलाई सम्बोधन गरेर फर्किएको आरोप लागिरहेको छ ।

अहिले ध्वस्त संरचना हटाउने र पीडितलाई खुला आकाशबाट पालमुनि ल्याउने काममा सेना र प्रहरी मात्रै सक्रिय देखिएका छन् । पीडित मधेसी जनताका साथी नेपाली सेना र प्रहरीहरु बनेका छन् ।

सरकार र विभिन्न सहयोगी संस्थाहरुले उपलब्ध गराएका त्रिपाल र टेन्ट गाडेर पीडितलाई छानोभित्र ल्याउने काम मंगलवार अपरान्हबाट मात्रै शुरु भएको छ । सेना र प्रहरीको सीमित संख्याले करीब १५ सय पीडितलाई एकै रातमा छानोमुनि ल्याउने कार्य सम्भव नभएको मैदानमा खटिएका एक सुरक्षा अधिकारीले बताए । दुईरात खुला आकाशमुनि बिताएका केही पीडितले तेस्रो रात पनि छानो पाउने सम्भावना देखिन्न ।

मंगलबारदेखि सत्तारुढ नेकपा सम्वद्ध विद्यार्थी संगठनका नेताहरुले अस्थायी टहरा निर्माण गरेर स्थानीयलाई छानोमुनी ल्याउने कार्य थालेका छन् । सबै राजनीतिक पार्टीले कार्यकर्तालाई भुकम्पको बेला जस्तै स्वयंसेवी अभियानमा खटाउने हो भने ध्वस्त संरचना हटाउन सघाउनेछ ।

यद्यपि सकेसम्म राति अबेरसम्म सबै पीडितलाई त्रिपाल र टेन्टमुनि ल्याउने प्रयास भने जारी राखिएको सुरक्षा अधिकारीहरुले बताएका छन् । केन्द्र र प्रदेश सरकारले पीडितलाई घर बनाइदिनेसम्मका घोषणा गरिसकेका छन् । तर, तत्कालै गर्नुपर्ने अस्थायी छानो र मानोको प्रभावकारी र व्यवस्थित योजना पुगेको देखिन्न ।

राहत सामाग्री पर्याप्त पुगेका छन् । तर, वितरणमा समस्या देखिएको स्थानीय गुञ्जन रायले बताए ।

सुरक्षाकर्मीको सक्रियतामा मंगलबारदेखि आँधीले भत्काए र उडाएका घर टहराका संरचना हटाउने र पुरिएका सामानहरु निकालेर सम्बन्धित घरधनीलाई हस्तान्तरण गर्ने कार्य शुरु भएको छ । सकेसम्म अन्न पनि संकलन गरेर दिन खोजिएको छ । कतिपय घरका सबै सदस्य घाइते भएर अस्पताल र मृत्यु भएका कारण उनीहरुको जिम्मा लिई दिने पनि कोही छैनन् ।

मंगलबारमात्रै अस्पतालमा पतिको मृत्यु भएको खबर सुनेपछि सुधना सदा बेहोसी अवस्थामा बिलाप गरिरहेकी थिइन् । उनको पीडा सुनेर देउवा फर्केलगत्तै स्थानीय युवा नेता होइन, अब नीति चाहियो भन्दै स्थानीय जनप्रतिनिधिको भूमिकाप्रति असन्तुष्टि जनाउँदै थिए ।

तर, उनीहरुले सेना र प्रहरीको भने धेरै प्रशंसा गरे ।

३० सेकेण्डको तवाही

पर्साको परवानीपुरस्थित चैनपुरबाट विनाशालीला मच्चाउँदै अघि बढेको आँधीले करीव ३ मिनेटभित्र कम्तिमा २७ जनाको ज्यान लिइसकेको थियो । अझ स्थानीयले ३० सेकेण्डमै सबै समाप्त भएको सुनाएका छन् । त्यही समयभित्र ५ सय भन्दा बढी घाइते भएका थिए भने १५ सय घर नष्ट भए ।

आँधीले बिनाश गरेको क्षेत्र हेर्दा यस्तो देखियो, त्यो विनाशकारी हुरी नदीको आकारमा अघि बढेको थियो ।

त्यसले शुरुमा चैनपुरमा ठूला-ठूला विद्युतका पोल ढाल्यो । गुडिरहेका बस र रोकेर राखिएका मालबाहक ट्रक ढाल्यो । उद्योगका छानो उडाउँदै बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ भलबाडियातर्फ अघि बढेको आँधीले तीन मिनेटभित्र फेटासम्म पुगेर २६ किलोमिटरभित्रको बस्ती सखाप पारेको थियो ।

आँधी तवाही मच्चाएर गयो । त्यसपछिको अवस्था भयानक थियो । जसरी हिजो आज हजारौं मान्छेहरु यो गाउँमा आइरहेका छन्, त्यो रात यहाँ गाउँलेहरु एक अर्काको घरभित्रका लास निकाल्ने सहयोगी नपाएर रुवाबासी गरिरहेका थिए ।

स्थानीय एकजना वृद्ध सवाजिर अन्सारीले त्यो क्षण सम्झिँदै ३० सेकेण्डको तवाहीमात्रै सुनाएनन्, आफ्नो ६४ वर्षको जीवनकालमा यस्तो विनाशकारी आँधिहुरी कहिल्यै नदेखेको बताए ।

अब के गर्ने ?

अब नेताहरुको सहानुभूति र सरकारको सहयोग घोषण पर्याप्त भइसकेको छ । आँधीले विनाशलीला मच्चाएको क्षेत्रमा तत्काल गर्नुपर्ने र योजना बनाएर गर्नुपर्ने मुख्यतः दुईखाले जिम्मेवारी देखिन्छ । अब प्रभावित क्षेत्रमा भीडभाड गर्ने भन्दा पनि व्यस्थित ढंगले पुनर्स्थापनाको काम थाल्नुपर्ने देखियो ।

अहिले यहाँ आँधीहुरीको विनाशलिलापछि रोग फैलिने खतरा देखिएको छ । तत्कालै सरसफाइमा स्वयंसेवीहरु जुट्नुपर्ने आवश्यकता छ । प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा सहितको शिविर सञ्चालन भइरहनुपर्छ ।

अहिले चलेका सामुहिक मेसमा दुईछाक दालभात खुवाउने कार्य भइरहेको छ । तर, त्यसको गुणस्तर र सरसफाइमा कसैको ध्यान छैन । हामीले राति खाना खाइरहेका बिभिन्न मेसमा पुगेर हेर्दा त्यही खानाको कारण बिरामी पर्ने अवस्था छ ।

खाद्यान्नको व्यवस्थित वितरण, अस्थायी शिविर र टहरा बनाएर आ-आफ्ना परिवार बस्ने वातावरण बनाउनुपर्ने प्रारम्भिक खाँचो छ । अहिलेसम्म पानी परेको छैन, यदि पानी पर्‍यो भने थप समस्या हुनुअघि नै बसोबासको व्यवस्था हुनुपर्छ ।

सरकार, विभिन्न संघ संस्था र व्यक्तिगत पहलमा गएका राहत सामाग्रीको व्यवस्थित वितरणका लागि विशेष डेक्स नै बनाइनुपर्छ । त्यसपछि मात्रै यहाँ बलिया र सुरक्षित घर निर्माणका लागि सरकारले योजना र अनुदान दुवैको व्यवस्था गर्नुपर्ने हुन्छ ।

आँधीहुरीले जुन ढंगले भौतिक संरचना क्षति गरेको छ, यसले तराई मधेसमा आवास निर्माण गर्दा पनि नयाँ मापदण्ड आवश्यक देखियो ।

मात्रिका पौडेल/सुरेश बिडारी

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!