नुरबहादुर विक पक्राउ, अनैतिक सम्बन्ध लुकाउन ओमकुमारी घर्तीको हत्या

पाल्पा – पाल्पाको रिब्दीकोट गाँउपालिका-५ नयाँटोलकी ५० वर्षीया ओमकुमारी घर्तीको हत्याको आरोपमा पक्राउ परेका स्थानीय ४६ वर्षीय नुरबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले गएकाे फागुन २४ गते हराएकी ओम कुमारीको शव एक हप्तापछि घर नजिकैको खरबारीमा भेटेको थियो । हत्याको आरोपमा विकलाई प्रहरीले सोमबार मात्रै पक्राउ गरेको थियो ।

दुई वर्ष अघिदेखि ओमकुमारी र नुर बहादुरबीच अनैतिक सम्बन्ध रहेको भेटिएको र ओम कुमारीले विवाह गर्न दबाब दिँदा नुर बहादुरले उनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । ओमकुमारीको हत्यामा विकले प्रयोग गरेको फलामको रड, ओमकुमारीको साथमा रहेको कपडा, झोलासमेत प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले बिहेका लागि भाग्ने तयारी गरी नुरबहादुरलाई फोन गरेर ओमकुमारी घरबाट हिँडेको र सोही दिन नु बहादुरले उनको हत्या गरेको खुल्न आएको जानकारी दिनुभयो ।

पक्राउ परेका विकले अनैतिक सम्बन्ध लुकाउन आफूले ओमकुमारीको हत्या गरेको स्वीकारेका छन् । हत्यामा संलग्न भनिएका विकको घरमा श्रीमतीसँगै २५ वर्ष बढी उमेरका दुई छोराहरु छन् भने मृतक ओम कुमारी घर्तीका छोरा बुहारी छन् । उनका श्रीमान्को २५ वर्ष अघि नै मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!