फेरी अर्को विपत्ती : चट्याङ लागेर पन्ध्र जना घाइते, ७ जना बेहोस

काठमाडौं । केही दिन देखि नेपालमा पश्चिमा वायुको प्रभावले मौसममा अचानक परिवर्तन आएको छ । यो बिचमा बारा र पर्सामा आएको शक्तिशाली आँधीले २९ जनाको ज्यान गएको छ भने चार सय भन्दा धेरै घाइते भएका छन् । यस्तै चट्याङ लागेर अछाममा १५ जना घाइते भएका छन् ।

घाइते हुनेमा ११ जना पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोट र ४ जना रामारोशन गाउँपालिका ५ सल्लीसैनका रहेका छन् । उनीहरु मध्ये ७ जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोटमा मंगलवार राति परेको चट्याङले घाइते भएका ११ जना मध्ये ७ जनाको अझै होस खुलेको छैन् ।

बेहोस अवस्थामा रहेकाहरु १४ वर्षका जगत बोहरा, १९ वर्षका भीमपुरा दास, ५२ वर्षका बलिराम दास, ४५ वर्षकी लडु बिक, ५७ वर्षका दुर्गे बिक, १५ वर्षकी कल्पना बोहरा र ४० वर्षकी राधिका शाही हुन् । उनीहरु सबै तामकोट गाउँकै हुन् । गम्भीर घाइतेहरुलाई इलाका प्रहरी चौकि कालेकाँडाबाट गएको प्रहरी टोलीले उपचारका लागि चिलतडा स्वास्थ्य चौकिमा ल्याउदैछ ।

घटनास्थल चिलतडाबाट ५ घण्टाको पैदल दुरीमा पर्छ । चट्याङ लागेर घाइते भएका सोही गाउँका ४० वर्षका उज्वल सार्की, १९ वर्षका उपेन्द्र बोहरा, २५ वर्षकी निता दास र ६० वर्षकी जौकला दासको अवस्था भने सामान्य रहेको छ । रामारोशन गाउँपालिका ५ नेटाकोटको सल्लीसैनमा चट्याङ लागेर घाइते भएका चार जनाको अवस्था पनि सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

सल्लीसैनमा घाइते भएका १६ वर्षकी खन्टी कुमारी दमाई, १३ वर्षका दिनेश दमाई, १२ वर्षकी रुपा दमाई र ७ वर्षकी गीता दमाइलाई सामान्य उपचारपछि घर फर्काइएको छ । उनीहरु एकै घरका दाजुबहिनी हुन् । चट्याङले लागेर उनीहरुकै घरको एक भैँसी मरेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!