सहकारीमार्फत सहयोग प्राप्त गरेपछि प्याज खेतीतिर गुलरियाका महिला

यादव आचार्य

गुलरिया : सहकारीमार्फत सहयोग प्राप्त गरेपछि बर्दियास्थित गुलरिया नगरपालिका-८ का विपन्न महिला प्याजखेतीमा सक्रिए भएका छन्। समूहमार्फत सहकारीले प्याजको ब्याडलगायत खेत जोत्ने मेसिन समेत उपलब्ध गराएपछि गृहिणी मात्र बन्ने अवसर पाएका महिला प्याजखेती गर्न हौसिएका हुन्।

स्थानीय सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था गुलरियाले वडाका विपन्नलगायत जनजाती महिलालाई प्याजखेतीमा सहयोग गरेपछि सहकारीमा आबद्ध महिला त्यसतर्फ आर्कर्षित बनेको समूहकी सदस्य महिला कृषक चन्द्रकला जैसीले बताइन्। उनले भनिन्,’ सहकारीले समूहमार्फत हामीलाई प्याज खेतीमा सहयोग गरेपछि प्याजखेती गर्न कस्सिएका हौं।’

एक्‍काइसजना महिलाको समूह बनाएर उनीहरुलाई तालिम, प्याजको ब्याड र खेतजोत्ने उपकरण सहकारीले उपलब्ध गराएको थियो।उनले थपिन् मसालाजन्य प्याजको खेतीबाट मनग्य आम्दानी हुने आशाले प्याज रोजेका हौं। सहकारीले महिलालाई सहयोग उपलब्ध गरेकोमा खुशी लागेको उनले बताइन्।

घरभित्रका महिलालाई स्वरोजगार बनाउन कार्यक्रमले ठूलो सहयोग पुगेको महिलाहरुको बुझाई छ । गाउँघरमा परम्परागत रुपमै कृषि कार्य गर्दै आएपनि महिलालाई लक्षित गर्दै यस्ता कार्यक्रमले महिलाको आर्थिकस्तर वृद्धिमा टेवा पुर्‍याउने लक्ष्य सहित विपन्न महिलालाई सहयोग दिएको सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था गुलरियाकी अध्यक्ष इन्दिरा सुवेदीले बताइन्।

उनले भनिन्,’ संस्थाले सहकारी भित्रका अन्र्तसमूहका विपन्न र जनजाती महिलालाई लक्षित गरी गुलरिया नगरपालिका वडा नम्बर ८ का महिलालाई छनोट गरेको हो। जसअन्र्तगत रिजम एफपीको ६५ प्रतिशत अनुदान सहयोग र सहकारी संस्थाको ३५ प्रतिशत लगानी छ। उनले थपिन्,’ पुरक आयोजना अन्र्तगत वडाभित्र ३ सय ६५ कठ्ठा क्षेत्रफलको जग्गामा प्याजखेती सुरु गरिएको हो।

प्याजखेतीबाट सहकारीमा आवद्ध महिलाको आयस्तर वृद्धि हुने विश्वास सहकारीको छ। वेमौसमी असिना र पानीले प्याजको ब्याड नोक्सान गरेपछि समूहलाई केही समस्या परेको उनको भनाई छ। बर्दिया जिल्ला कृषिको उर्बरभूमि मानिए पनि यहाँका अधिकांश महिला चुलोचौकोमै व्यस्त हुने गरेको अध्यक्ष सुवेदीले बताइन्। महिला लक्षित कृषि कार्यक्रममार्फत इच्छुक महिलालाई कृषि क्षेत्रमा सहयोग गर्न सहकारी सधैं तयार छ, उनले थपिन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!