यस्तो रहेछ नेता योगेन्द्रले रमिला राईको हत्या गर्नुको कारण !

मोरङ । प्रेमीकाको हत्या अभियोगमा पक्राउ परेका बेलबारी ४ का योगेन्द्र गुरुङले विवाह गर्न दबाब दिएपछि बेलबारी ४ की २६ वर्षीय रमिला राईको हत्या गरेको खुलासा भएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार रमिलाले विवाह गर्नुपर्ने भन्दै दबाब दिएपछि आफ्नो इज्जत र प्रतिष्ठा जोगाउन गुरुङले हत्या गरेको खुलेको हो । राजनीतिमा र सामाजिक रुपमा राम्रै छबि बनाएका गुरुङको श्रीमती र २ छोरा समेत थिए । त्यसैले रमिलासँग प्रेम सम्बन्ध राखेपनि बिवाह गर्न नसकेको तर, रमिलाले विवाह गर्न दबाब दिएपछि गुरुङले हत्या गरेका अनुसन्धानबाट देखिएको ती प्रहरी अधिकृतले बताए ।बिवाह गर्ने पक्षमा नरहेका योगेन्द्र लाई रमिलाले विवाह गर्न दबाब दिएर हल्लाखल्ला गर्न खोजेपछि हत्या गरेको देखिन्छ उनले भने । योगेन्द्रले फागुन १७ गते राती आफनै घरमा रमिलाको हत्या गरेका थिए । रमिलाको शवलाई उनले बोरामा हालेर कोशी ब्यारेजमा फालेका थिए । प्रहरी अनुसन्धानबाट योगेन्द्रले रमिलाको हत्या गरेको हुनसक्ने प्रमाण भेटिए पछि उनलाई पक्राउ गरेको थियो ।

उनले कोशीमा शव फालेको वयान दिएपनि रमिलाको शव हत्या भएको २६ दिनपछि गत बुधबार भेटिएको थियो । प्रहरीले उनलाई कर्तव्य ज्यानमा अनुसन्धान समेत पुरा गरेर मिसिल सरकारी वकिलको कार्यालयमा मंगलबार बझाएको छ । यता स्थानीय बासिन्दा र रमिलाका आफन्तले भने शवको प्रकृति हेर्दा उनको हत्यामा अरुपनि संलग्न रहेको आशंका गर्दै त्यसतर्फ पनि अनुसन्धान गर्न र योगेन्द्र लाई बेलबारीमा सार्बजनिक गर्न माग गरिरहेका छन ।

यस्तो थियो घटना बिवरण

स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका लागी नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङलाई ईलाका प्रहरी कार्यलय बेलबारीको टोलीले ईलामबाट पक्राउ गरेकाे थियाे । युवती हराएपछि गुरुङले ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईलाई फोन गरी तनाव भयो,गर्लफ्रेण्ड हराई भन्दै फोन गरेको र अनुसन्धानको सुई उनीतिरै सोझिएपछि केही वकिलको सल्लाहमा उनी भागेको उनले बयान दिएको प्रहरीले बताएको छ ।

बेलबारी ४ बुधबारे निबासी ति महिला पहिलो श्रीमान सँग सम्बन्ध बिच्छेद गरेर माईतीघरमा बस्दै आएकी थिईन । गुरुङका भने श्रीमती र छोराहरु काठमाण्डौमा बस्दै आएका छन । गुरुङ नेकपा एमालेका पुर्ब बेलबारी अध्यक्ष,नोबेल अस्पताल बेलबारीका अध्यक्ष तथा एक साझेदारी बनका समेत अध्यक्ष हुन ।

घटना भएको दिन योगेन्द्रले रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर घरबाट दोहोरीमा जाने भन्दै निस्किएका थिए । सो दिन उनीहरु विराटचौक स्थित हवाना रेष्टुरेण्टमा गएको खुलेको छ । शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किए । उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडीदिए तर रमिलालाई भने गाडीमै लिएर गएका थिए ।

शुक्रबार निस्केकी रमिला शनिबार विहानपनि घरमा नआएपछि भने परिवारका सदस्यले खोजी गर्न थाले । रमिलाकी वहिनीले योगेन्द्रलाई फोन गरेर सोधिन । योगेन्द्रले राति साढे ११ बजेतिरै रमिलाको घर नजिकै छोडिदिएको जवाफ दिए । तर,रमिला घर आएकी थिइनन् ।

रमिला घर नआएको भनेर परिवारले फोन गरेपछि शनिबार विहानै योगेन्द्र आफै पनि रमिलाको घर आएका थिए । त्यसदिन योगेन्द्र ३ पटक सम्म रमिलाको घरमा गएको र केही पत्ता नलागेपछि योगेन्द्रकै सल्लाह अनुसार प्रहरीमा हुलिया दिएका थिए । युवती हराएपछि योगेन्द्र आफैले पनि इप्रका बेलबारीका इन्स्पेक्टरलाई फोन गरेर मेरी गर्लफेण्ड हराइन, तनाव भयो भनेका थिए ।

युवतीका परिवारको दवावपछि योगेन्द्रले युवतीलाई घरमै बन्धक बनाएर राखेको आशंकामा बेलबारी ४ स्थित योगेन्द्रको घरमा प्रहरीले फागुन २० गते सोमबार खानतलासी गरेको थियो । खानतलासीका क्रममा केही नभेटिएपछि प्रहरी र आफन्तहरु फर्किएका थिए । त्यसको भोलीपल्ट मंगलबार दुवैपक्षविच इलाका प्रहरी कार्यालय बेलबारीमा छलफल समेत चलेको थियो । छलफलका क्रममा ३ दिनसम्म दुवैपक्षले युवतीको खोजतलास गर्ने सहमति बनेको थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीले विशेष टोली नै खटाएर गाउँलेसँग समन्वय गरेर मोरङको बेतना लगायत आसपासको जंगल क्षेत्रमा बुधबार खोजी गरेका थिए । यस्तै विहिबार गछिया र गोठगाउँ आसपासका खोला किनार र जंगलमा गाउँले र प्रहरीको संयुृक्त टोलीले खोजतलास गरेको थियो । सोही बिषयमा हल्ला चलेपछि काठमाण्डौमा बस्दै आएकी उनकी श्रीमती पनि बेलबारी आएकी थिइन् । बुधबार दिउँसो योगेन्द्रले श्रीमतीलाई प्लेन मार्फत विराटनगरबाट काठमाण्डौ पठाएका थिए । योगेन्द्र विराटनगर पुग्दासम्म चालु रहेकोे नेपाल टेलिकमको पोस्टपेड मोबाइल नम्बर योगेन्द्रले त्यसपछि स्विच अफ गरेका थिए । त्यसपछि प्रहरी थप शसंकित बनेको थियो । र घटनाको सुक्ष्म अनुसन्धान थालेको थियो ।

गुरुङले युवतीलाई फागुन १७ गते शुक्रबार राति साँढे ११ बजे घरमै छोडिदिएको भनेर दावी गरेपनि सोही दिन रातिका ‘सिसिटिभी फुटेज’ हेर्दा योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साँढे १२ बजे इटहरी पश्चिम लागेको र शनिबार विहान साँढे ४ बजे गोठगाउँबाट पुर्व लागेको देखिएको प्रहरी बताउँछ । योगेन्द्रले भनेको कुरा र गाडीको अवस्था हेर्दा नमिलेपछि उनीमाथी प्रहरीले विशेष टोली परिचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!