सडक र हवाई यातायात सञ्जालको राम्रो पहुँच हुँदा रारामा पर्यटक बढे

रारा यतिखेर पर्यटकको गन्तव्य बनेको छ । पछिल्लो समय नाग्मा, सिञ्जाको गोठिज्यूला र मुगुको गमगढी बजारसम्म राष्ट्रिय सडक र हवाई यातायात सञ्जालको राम्रो पहुँच हुँदा रारामा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागेको छ ।

रारा राष्ट्रिय निकुञ्जको पछिल्लो एघार महिनाको तथ्याङ्कानुसार १५ हजार बढी आन्तरिक तथा बाह्य पर्यटक रारा अवलोकन गर्न आएका छन् । कर्णाली प्रदेशले २०७५ लाई पर्यटन वर्ष घोषणा गरेयता निकै पर्यटकको घुइँचो बढेको छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख लालबहादुर भण्डारी राराको सुन्दरता हेर्न आउनेको सङ्ख्या बढे पनि उचित पूर्वाधार नहुँदा पर्यटकलाई सुविधा दिन नसकिएको बताउँछन् । यस वर्ष पर्यटक बढेको भण्डारीको भनाई छ । रारा आउने पर्यटक सडक र हवाई मार्गबाट आउँछन् । नेपालगञ्जबाट मुगुको झ्यारी सल्लेरीसम्म गाडीमा र त्यहाँबाट आधा घण्टा घोडामा चढेर रारा ताल पुगिन्छ ।

निकुञ्जमा पर्ने ५ किमी लम्बाइ, ३ किमी चौडाइ र एक सय ६७ मिटर गहिराइको रारा तालले दिनमा तीन किसिमको रङ बदल्छ । तालको रङ बिहान कालो, दिनमा आकाशे रङ नीलो र बेलुका सेतो हुन्छ ।

पर्यटकलाई राम्रो व्यवस्था भने गर्न नसकिएको स्थानीय मछिन्द्रप्रसाद उपाध्याय गुनासो गर्छन् । ‘होमस्टेका नाममा ठग्ने काम भएको छ,’ उनले भने, ‘यस्ता कुरा नियन्त्रण गर्न सके पर्यटक निकै बढ्छन् । संसारै लोभिने प्राकृतिक खजानासम्म पुग्न खान, बस्न राम्रो सुविधाका लागि सरकारले पूर्वाधार बनाइदिनुपर्छ या निजी क्षेत्रलाई हौस्याउनुपर्छ । स्थानीय तहले यही रारा तालबाबट पूरै क्षेत्रको कायापलट गर्न सक्छ ।’
नेपालगञ्जबाट रारा घुम्न पुगेका महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा गोपालप्रसाद शर्मा अधिकारीले रारा ताल प्रकृतिको अनुपम खजाना भएको बताए । यस्तो खजानालाई राज्यले अझ राम्रोसँग प्रयोग गर्न नसकेको उनले गुनासो गरे ।

रारा राष्ट्रिय निकुञ्जमा रहेको तालबाहेक यसका वरिपरि विभिन्न बहुमूल्य वनस्पति र वन्यजन्तुबाट पनि पर्यटकले मनोरञ्जन लिन सक्ने हुँदा यसको सुन्दरतामा निखार ल्याउन पूर्वाधार निर्माण गर्न राज्य हिच्किचाउन नहुने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!