चिकित्सकको लापरवाही: एउटालाई लगाउनु पर्ने सुई अर्कोलाई लगाइदिएपछि बिरामीको मृत्यु

पोखरा, २१ चैत्र । चिकित्सकको लापरवाहीका कारण पोखराको मनिपाल अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बिरामीको मृत्यु भएको परिवारको आरोप छ ।

मृत्यु हुनेमा बागलुङ जैमनी वडा नम्बर ८ का ७५ बर्षीय धनराज परियार रहेका छन् ।

मृतकका छोरा केशव परियारले भने, ‘त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको अर्काे बेडमा रहेको अर्कै बिरामीको लागि ल्याएको सुई ल्याएर बुबालाई लगाएपछि उहाँको मृत्यु भएको हो ।’ – उनले अगाडी थपे, ‘सुई लगाउनासाथ बुबा वाकवाकी लाग्यो भनेर निस्कनु भयो र दुई मिनेटमै उहाँको मृत्यु भयो ।’

अर्काको लागि ल्याएको सुई आफ्नो बुबालाई लगाई दिएपछि स्वास्थ्यकर्मीले जिब्रो टोक्दै बाहिर निस्केको कुरुवा बहिनी बिमलाले पनि देखेको उनले बताए ।

केशवका अनुसार टाउको दुख्ने तथा खोकि लाग्ने भएपछि धनराजलाई आइतबार मनिपाल ल्याईएको थियो । अस्पताल ल्याएपछि इमरजेन्सी कक्षमा लगिएको धनराजको इसिजी गरेपनि रिपोर्टमा केहि नदेखिएपछि स्वास्थ्यकर्मीले उनलाई ओपिडीमा पठाएका थिए ।

धनराजको मृत्युपछि आफन्तहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै शवको जिम्मा लिन मानेका छैनन् । अस्पताल प्रशासन र आफन्तबीच बुधबार वार्ता भएपनि निष्कर्ष बिनै टुङ्गिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!