ट्राफिक नियम उल्लंघन गर्नेलाई १० हजारसम्म जरिवाना !

काठमाडौं, चैत २१ – ट्राफिक नियम उल्लंघन गर्दा लाग्ने जरिवाना बढाउने तयारीमा सरकार लागेको छ । हाल ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई १ हजारसम्म जरिवाना हुँदै आएकोमा अब त्यसलाई बढाएर १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्न यातायात व्यवस्था विभागले महानगरिय ट्राफिक महाशाखासँग समन्वयनमा काम गरि रहेको छ ।

ट्राफिक नियम उल्लंघन गर्दा लाग्ने जरिवाना कम भएको र त्यसले गर्दा धेरैले नियम मिचेको भन्दै जरीवाना बढाउने तयारी गरेको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले जानकारी दिए ।

हाल मापसे, हिट एण्ड रन, वान वे, मोडिफाइ, भाडा बढी उठाउने, इजाजत बिना सवारी चलाउनेलगायतका ट्राफिक नियम उल्लंघन भए ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।

अब आउने नयाँ नियम अनुसार मापासे गर्नेलाई पहिलो पटक फेला परे ३ हजार दोस्रो पटक फेला परे ५ हजार र तेस्रो पटक फेला परे १० हजार रुपैयाँसम्म कारवाही गर्ने व्यवस्थाको प्रस्ताव महाशाखाले गरेको छ । त्यस्तै गरी हिट एण्ड रन केसमा ५ हजार रुपैयाँ, वान वेमा सवारी गुडाउनेलाई ५ हजार रुपैयाँ जरिवाना बढाउने गरी लागि यातायात विभागमा प्रस्ताव पठाइएको पन्तले बताए ।

जरिवाना निमय मिच्नेका लागि भएकाले त्यो बढी नै हुनु पर्ने भन्दै पन्तले भने, ‘जरिवाना बढी भएपछि नियम मिच्नेको संख्या स्वतः घट्ने छ । गल्ती नगर्नेले जरिवाना तिर्नु पर्दैन ।’

जरिवान यातायात व्यवस्था ऐनमै तोकिएकाले हालको सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरेर संघीय यातायात ऐन बनाउने तयारी सरकारले गरेको छ । विभागका अनुसार उक्त ऐन संशोधनको प्रकृयामा रहेको छ ।

Source: Recent Nepal

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!