हलमा रिलिज नभइ सिधै युट्युबमा आयो ‘अमेरिकन बाबु मेड इन नेपाल’

करोडौं लगानीमा बनेका फिल्महरु एकअर्को अर्को बक्सअफिसमा डुबिरहेको अवस्थामा अहिले फिल्मकर्मीहरु हलमा फिल्म रिलिज गर्न डराएको अवस्था छ । हरेक हप्ताहरु नेपाली फिल्मले हलमा हावा खाइरहेका छन् । ठूला स्टारका फिल्म समेत चल्न छाडेका छन् । हलको व्यापार यतिसम्म ठन्डाराम भएको छ कि, फिल्मले पोस्टर टाँस्ने माडको पैसा समेत उठाउन सकेका छैनन् ।

अहिले निर्माताहरु हलमा फिल्म रिलिज गरेर टाँट पल्टिनुभन्दा सिधै युट्युब रिलिजलाई सहज मान्न थालेका छन् । उदाहरणको रुपमा अमेरिकामा निर्माण भएको फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ लाई लिन सकिन्छ । यो फिल्म हलमा रिलिज नभइ सिधै युट्युबमा आएको छ । नेपालमा वितरक तथा हलवालासँग बारम्बार ताकेता गर्न नसकेका कारण फिल्म सिधै युट्युबमा रिलिज गरिएको निर्देशक तथा निर्माता ईश्वर थापाले जानकारी दिए ।

यो फिल्मको अमेरिका र क्यानाडामा विशेष शो गरिएको थियो । दुई देशबाट फिल्मले लगभग ८० प्रतिशत लगानी उठाएको निर्देशक थापा बताउँछन् । बाँकी २० प्रतिशत युट्युबबाट उठ्नेमा उनी विश्वस्त छन् । फिल्मले विषेश प्रदर्शनीमा राम्रो प्रतिक्रिया बटुलेको थियो । निर्देशक थापा युट्युबमा पनि दर्शकले फिल्म रुचाउने ठान्छन् । एक समयकी लोकप्रिय अभिनेत्री नन्दिता केसीको फिल्ममा लिड रोल छ ।

बाबु बोगटी, स्मृती पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अञ्जली लामा, प्रवेश उप्रेती पल, रघु गिरि, जंगबु शेर्पा, सुरेन्द्र बाँस्तोलालगायतका कलाकारहरुको ‘अमेरिकन बाबु मेड इन नेपाल’ मा अभिनय छ । फिल्मलाई राजेश गुरुङ, मञ्जु राना र सम्झना उप्रेतीले निर्माण गरेका हुन् । अमेरिका बस्ने नेपालीहरुको वास्तविक कथा फिल्मले भन्छ । फिल्मका सम्पादक पनि निर्देशक थापा आफैं हुन् ।

पूरा फिल्म हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!