प्रहरीको हतियार खोस्ने क्रममा गोली चल्यो (अपडेट)

इनरुवा, २२ चैत । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीको गोली लागि स्थानीय घाइते भएका छन् । सीमामा पर्ने घिर्नी पुल नजिक स्थानीय र प्रहरीबीचको विवादपछि गोली चलेको हो ।

प्रहरीले भने हात हालाहालपछि हतियार खोसाखोेसको क्रममा गोली चलेको जनाएको छ । प्रहरीले स्थानीय र प्रहरीबीच बिवाद पश्चात हात हालाहालको अवस्था सिर्जना हुँदा दुवै पक्षका केही घाइते भएको समेत पुष्टि गरेको छ । सुनसरी प्रहरीका अनुसार सही चन्द्रकुमार शाक्य घाइते भएका छन् ।

स्थानीयवासीले मापसे गरेका प्रहरीले निहत्थामाथि गोली चलाएको दाबी गरेका छन् । स्थानीयका अनुसार प्रहरीको गोली लागी जियाउल मन्सुरी घाइते भएका छन् । हातमा गोली लागेका उनको उपचारका लागि बिराटनगर लगिएको छ ।

प्रहरीले भने तस्कर समूहलाई रोक्ने क्रममा स्थानीय युवा समूहले प्रतिकार गर्न खोज्दा विवाद उत्पन्न भएको जनाएको छ । बढ्दो विवाद हात हालाहालको अवस्थामा पुगेपछि कुटाकुटको अवस्था सृजना हुँदा एकजना स्थानीय र स्वयं प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीले बताए ।

स्थानीयले घटनालाई प्रहरीको ज्यादतीको आरोप लगाएका छन् । घटना पश्चात स्थानीयवासीले सो क्षेत्रमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरेका छन् । स्थानीय संचारकर्मी लुकमान अन्सारीका अनुसार जिल्लाबाट पुगेको प्रहरी टोली र हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्षको रोहबरमा छलफल गरीएपनि सबैलाई जिल्लामा थप छलफलका लागि लगिएको छ ।

Source: news24nepal

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!