सरकारी जागिर छाडेर कोरिया : जे छ कोरियामै छ !

सृजना खड्का

काठमाडौं जडीबुटीस्थित होली हंस एजुकेसनल सेन्टरबाहिर बिहानदेखि बेलुकासम्म कोरियाली भाषा पढ्ने विद्यार्थीको चाप हुन्छ। शनिबार बिहान ८ बजे भाषा पढेर निस्किएका केही विद्यार्थी आफ्नै सुरमा गफिइरहेका थिए। भाषा पढ्न आएका सोम घिसिङ, प्रकाश बोगटी, कृष्ण श्रेष्ठ, प्रदीप तामाङ र अम्बिका दंगाल यसरी कुराकानी गरिहेका थिएः

सोमः कस्तो भयो तिमीहरूको जाँच? ४० वटै प्रश्न मिलायौ होला हैन?
अम्बिका : कहाँ मिलाउनु। ३८ र ३९ नम्बरको बिग्रिएछ।

कृष्णः भनेपछि अब सबै जना कोरिया जाने भइयो हैन?

प्रकाशः नगएर के गर्नु, यहाँ बसेर चाहिँ के नै हुने हो र?

प्रदिपः कोरिया गएर पाँच वर्ष बसेर आउनेले कत्रो प्रगति गरिसके। यहाँ ५० वर्ष हड्डी घोटे पनि हुनेवाला केही छैन।

कृष्णः अहिले त यार कोरिया गएर आएको भन्नेबित्तिकै बिहे गर्न पनि फ्याट्टै केटी पाइने रहेछ।

प्रदिपः केको कोरिया गएर आएको नि। ‘मैले कोरियन भाषा पास गरेको छु’ मात्र भन् न, छोरी दिनेको लाइन तेरो घरसम्मै आइपुग्छ।

अम्बिकाः यसै कोरिया जान मरिहत्ते गर्छन् त मान्छे !

सोमः मेरो एउटा साथीले माध्यमिकको शिक्षकमा नाम निकालेको थियो। यता कोरियामा पनि नाम निस्किएछ। अस्ति भेटेको थिएँ। ‘अब के गर्छस्?’ भनेर सोधेको ‘मैले त मावि हाप्देँ, कोरिया जान्छु’ भन्यो।’

कृष्णः अरूको के कुरा, प्लस टू सकेर बसेकालाई ‘के छ अब तिमीहरूको योजना?’ भनेर सोध त। पहिला–पहिला भए आईईएलटीएस, टोफेल, स्याट, जिम्याट, जिआरई भन्थे। अहिले सीधै ‘कोरियन भाषा’ भन्छन्।

प्रकाशः आफ्नै देशमा केही गर्छु भन्ने मान्छे त आजभोलि भेटिँदै भेटिँदैन।

कृष्णः गाउँमा एसएलसी फेल भएर कोरिया गएको साथीले काठमाडौँमा घर बनाइसक्यो। आफू भने पढाइ–पढाइ भनेर बसियो। हात लाग्यो शून्य।

प्रकाशः कोरियामा हाम्रो गाउँको त एउटा टोल नै बनिसक्यो रे। एउटा घरका कम्तीमा एक जना मान्छे त्यहाँ पुगेका छन्।

सोमः बरु अब स्कुलले नै आफ्नो पाठ्यक्रममा कोरियन भाषा हाले हुन्छ। भोलि जति पढे पनि जाने कोरिया नै हो क्यारे।

कृष्णः अब त गीत पनि ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ, कोरियाको मुहार फेर्नलाई उठ’ भनेर गाउनुपर्ने भैसक्यो।

प्रदीपः पख न कोरियाको भिसा त लागोस्। जाने बेला भ्रष्टाचारी नेताहरूलाई सराप्दै जान्छु।

प्रकाशः के सराप्छस् केटा? हाम्रो देशमा लाग्दै नलाग्ने चिज भनेकै त्यही एउटा सराप हो। तैँले जति सरापे पनि तेरो सराप लागे पो !

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाको कार्यालय ललितपुर, ग्वार्कोमा शनिबार दिउँसो बाक्लो भीड थियो। ‘सोमबार र मंगलबार १ सय ९५ जना कोरिया उड्दै छन्,’ ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भने, ‘उनीहरूलाई पठाउन श्रम स्वीकृति लगाएर पासपोर्ट वितरण गर्ने काम भइरहेको छ।’

कोरियाले सन् २००४ देखि ईपीएसद्वारा एसियाका विकासोन्मुख देशबाट १८ देखि ४० वर्षका युवालाई रोजगारी दिँदै आएको भण्डारीले बताए। कोरियाले उत्पादनमूलक, कृषि तथा मत्स्य व्यवसाय क्षेत्रमा ‘थ्रीडी’ (डर्टी, डिफिकल्ट र डेन्जरस) कामका लागि विदेशी कामदार लैजाने योजनासँगै ईपीएस विकास गरिएको उनले बताए। हालसम्म कोरियाले ईपीएसअन्तर्गत नेपालसहित इन्डोनेसिया, मंगोलिया, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, भियतनाम, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बंगलादेश, किर्गिस्तान, म्यानमार, पूर्वी टिमोर र लाओस गरी १६ देशबाट रोजगारीका लागि कामदार लैजाने उनले जानकारी दिए।

जे छ कोरियामै छ

ईपीएस शाखाको तथ्यांकअनुसार ईपीएस लागू भएयता यही वर्षको फागुन मसान्तसम्म नेपालबाट कोरिया जानेको संख्या ५९ हजार ६ सय ९८ पुगेको छ। जसमध्ये पुरुष ५६ हजार १ सय ५३ र महिला ३ हजार ५ सय ४५ रहेका छन्। यस वर्ष कोरिया जान कुल ९२ हजार ३ सय ७६ जना नेपालीले आवेदन दिएका छन्। त्यसमध्ये ६३ हजार ४ सय ८७ जनाको उत्पादनतर्फ आवेदन परेको छ।

कृषितर्फ २८ हजार ८ सय ८९ जनाले आवेदन दिएका छन्। गत वर्षको तुलनामा रोजगारीका लागि कोरिया जान इच्छुक नेपालीको संख्या १० हजार १ सय ११ ले बढेको छ। अघिल्लो वर्ष कोरियन भाषा परीक्षाको लागि ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए। अहिलेसम्मको तथ्यांकलाई हेर्दा आवेदन दिनेमध्ये लगभग १० प्रतिशत मात्रै पास हुने देखिएको छ।

सरकारी जागिर छाडेर कोरिया

काठमाडौँ, बल्खु बस्ने अनिल गिरी (नाम परिवर्तन)ले अंगे्रजी साहित्यमा स्नातकोत्तर गरेका छन्। पढाइ सकेको केही समय उनले कलेजमा अंग्रेजी विषय पढाए। कलेज पढाएर मात्र जीविका नचल्ने देखिएपछि उनको मोह सरकारी जागिरतिर मोडियो। ‘दुई वर्ष घरबाटै बाहिर ननिस्की लोक सेवा तयारी गरेँ,’ उनले भने, ‘खरिदारमा नाम निस्कियो। सरकारी जागिरे भएको पाँच वर्ष भयो।’

सरकारी जागिरबाट आउने तलबले परिवारको हातमुख जोड्न धौधौ भएपछि अहिले उनको ध्यान कोरियातिर मोडिएको छ। ‘पाँच वर्षअघि कोरिया गएको साथीले काठमाडौँमा घर ठडाइसक्यो,’ उनले भने, ‘आफू भने जहाँको तहीँ छु। छोराछोरीलाई राम्रो स्कुलमा भर्ना गर्न पनि १० पटक सोच्नुपर्छ। यही सरकारी जागिर भनेर बस्ने हो भने अबको ५० वर्षपछि पनि मेरो ताल उही हुन्छ भनेर कोरिया जाने सोच बनाए।’ परिवार र आफन्तको गाली खाइएला भनेर उनले अहिलेसम्म कोरिया जान लागेको कसैलाई भनेका छैनन्।

‘लुकीलुकी पढ्न आएको छु,’ गिरीले भने, ‘आफन्त र घरकाले थाहा पाए भने ‘सरकारी जागिर छाडेर किन बौलाएर हिँडेको’ भन्छन्।’ उनले कोरियामा उत्पादन क्षेत्रका लागि आवेदन दिएका छन्। सरकारी जागिर छोडेर उनले कोरियन भाषा पढ्न थालेको छ महिना भयो। ‘काम गर्दै पढ्दा गाह्रो हुने भएकाले जागिर छोड्नुपर्‍यो,’ उनले भने, ‘मैले नै प्लस टू पढाएको एक जना विद्यार्थी पनि मैले पढ्ने इन्स्टिच्युटमा पढ्छ। सुरुमा उसलाई देखेर लाजले भुतुक्कै भएँ। देशमा श्रमको मूल्य नभएपछि लाज पचाएर विदेशिनुपरेको छ।’

पाँचथरका इन्द्रकुमार लिम्बू केही दिनमै कोरिया जाँदै छन्। शनिबार ईपीएस शाखाको कार्यालयमा भेटिएका उनले भारी मन लिएर कोरिया जान लागेको बताए। नेपाली विषयमा स्नातकोत्तर गरेका उनी सरकारी जागिरे हुन्। ‘म पाँचथरको एउटा स्कुलमा माध्यमिक तहलाई नेपाली पढाउँथेँ,’ उनले भने, ‘शिक्षक सेवा अयोगको परीक्षा दिएर स्थायी शिक्षक भइसकेको थिएँ। तलबले घर चलाउनै गाह्रो भयो।’

लिम्बूको नेपाली विषयमा पीएचडी गरेर नामको अगाडि ‘डा.’ लेख्ने ठूलो धोको छ। ‘स्कुलको कमाइले त्यो धोको पूरा नहुने भएकाले कोरिया जान लागेको हुँ,’ उनले भने, ‘उताबाट आउनेबित्तिकै एमफिल गर्छु, अनि पीएचडी गर्छु। नेपालमा शिक्षक बनेर बसेको जस्तो सम्मान त उता नपाइएला। के गर्नु, सम्मानले मात्र जिन्दगी नचल्दो रहेछ।’

कास्की, पोखराका प्रेम थापाले अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन्। राम्रो कमाइ गर्ने आशामा यही हप्ता उनी पनि कोरिया उड्दै छन्। ‘यहाँ जति काम गरे पनि खान र चल्न मात्रै ठीक भयो,’ शनिबार ईपीएस शाखामा भेटिएका उनले भने, ‘कुनै जटिल खालको रोग लाग्यो भने घरबारी नै बेच्नुपर्छ। टिचिङ गरेर महिनामा कमाइने ३०–३५ हजारले परिवार पाल्नै पुग्दैन।’

आठ वर्ष कोरिया बसेर आएका सञ्चारकर्मी गोपाल संग्रौला पढेलेखेका थुप्रै युवा कोरियामा काम गरिरहेको बताउँछन्। ‘पहिला पढ्न नसक्ने र बीचैमा पढाइ छाड्नेहरू कोरिया जान्छन् भन्ने मानसिकता थियो,’ संग्रौलाले भने, ‘अहिले पढेका÷नपढेका सरोबर छन्। तर, नेपालमा हुँदाखाँदाको जागिर छाडेर विदेशिनु मूर्खता हो। त्यहाँ बोटमा पैसा फल्दैन, दुःखै गर्नुपर्छ।’

भाषा परीक्षा पास हुनेबित्तिकै जागिर छोडेका धेरै युवा आफूले देखेको उनले बताए। ‘भाषा पास गर्दैमा कोरिया जाने ग्यारेन्टी हुँदैन,’ उनले भने, ‘यसरी कुरै नबुझी आफ्नो पेशा, व्यवसाय र अध्ययन बीचैमा छाड्नु हुँदैन। भाषामा नाम निकालेर पनि भिसा नआएर कोरिया जान नपाएका धेरै छन्।’

हेल्थ असिस्टेन्ट, सरकारी जागिरेदेखि प्रहरीका असईसम्म ईपीएस जाँच दिन आउने ईपीएस कोरिया शाखाका अधिकृत भण्डारीले बताए। ‘यसपालि पनि मास्टर्स डिग्री सकेर बसेकादेखि सरकारी जागिरेहरू धेरैले आवेदन दिएका छन्,’ उनले भने, ‘तर, कोरियालाई डिग्री होइन, मसल्स चहिएको हो।’ पढेलेखेका र सरकारी जागिरेहरू विदेशिनुमा आ–आफ्नै बाध्यता रहेको उनले बताए।

‘सामान्य सरकारी जागिर खाएकाको हातमा एक लाखको गड्डी कहिल्यै पर्दैन,’ उनले भने, ‘करोड त सपना मात्र हो। तर, कोरियामा ४ वर्ष १० महिना मेहनत गरेर कमाएको पैसा मुठी कसेर राख्यो भने नेपाल फर्किने बेला करोड पुग्छ। त्यहाँ गएका नेपालीको न्यूनतम पारिश्रमिक मासिक १ लाख ७० हजार हुन्छ। वभरटाइम गर्नेले महिनाको तीन लाख रुपैयाँसम्म कमाउँछन्।’

दक्षिण कोरियाली सरकारले ईपीएसअन्तर्गत रोजगारीका लागि लैजाने कामदारको तलब बर्सेनि वृद्धि गर्दै आइरहेकाले पनि रोजगारीका लागि त्यहाँ जाने नेपाली युवाको संख्या बढ्दै गएको भण्डारीले बताए। ‘कोरिया सरकारले ईपीएस लागू हुनुभन्दा पहिलादेखि नै कामदारको न्यूनतम तलबमा बर्सेनि वृद्धि गर्ने कारण त्यहाँ जाने नेपालीले राम्रो आम्दानी गर्छन्,’ उनले भने।

सपना अनेक

सुर्खेतका रविन गिरी (२४) लाई कसैले ‘नेपालमा बस्न पाएकोमा खुशी छु’ भन्यो भने शंका लाग्छ। ‘कसैले ‘म नेपालमै खुशी छु’ भन्यो भने म दोहोर्‍याएर सोध्छु,’ उनले भने, ‘मलाई उनीहरूमाथि शंका लाग्छ। किनभने, उनीहरू झुट बोलिरहेका हुन्छन्।’ रविन कोरिया जाने अन्तिम तयारीमा छन्। यही हप्ता कोरिया उड्दै छन्।

‘सानै उमेरदेखि टन्न पैसा कमाउने सपना थियो,’ उनले भने, ‘१८ वर्ष पुग्नेबित्तिकै कोरियन भाषाको परीक्षा दिएको थिएँ। नेपालमा २०–२५ हजारमा काम गर्न मन लागेन।’ उनले सन् २०१३ मा एकै पटकमा कोरियन भाषामा नाम निकाले। ‘कृषि क्षेत्रको लागि भरेको थिएँ, एकै पटकमा नाम निस्कियो,’ उनले भने, ‘दुई वर्ष कुर्दा पनि रोस्टर (रोजगार योग्य सूची) मा नाम परेन। त्यसैले २०१७ मा फेरि भाषा पढेर नाम निकालेर जान लागेको हुँ।’

काठमाडौँ, बुद्धनगर बस्ने १९ वर्षीय सिद्धराज भुसाललाई कोरिया जाने सोच आएको दुई वर्ष भयो। ‘मलाई कोरिया गएर टन्न पैसा कमाउनु छ,’ उनले भने, ‘त्यहाँ गएर कमाएको पैसाले भित्रै स्विमिङ पुल भएको घर बनाउँछु।’ उनी आफूलाई कोरियन भाषाको दोस्रो वर्षको विद्यार्थी भन्छन्। ‘पहिलो वर्ष पास गर्न सकिएन, यो दोस्रो वर्ष हो,’ उनले भने, ‘मसँगै पढ्ने साथीहरू छ–सात वर्षदेखि पढिरहेका छन्। मेरो पञ्चवर्षीय योजना छ। पाँच वर्षमा त कसो पास नगरिएला?’

खोटाङकी स्मिता कार्कीले कोरियन भाषा पढ्न थालेको तीन वर्ष भयो। ‘हतार गरेर खाडी देश जानुभन्दा केही समय लगाएर कोरिया जानै ठीक लाग्यो,’ उनले भनिन्, ‘लगानी पनि थोरै लाग्ने भएकाले भाषाको लागि निकै मेहनत गरिरहेको छु। कोरिया महिलाका लागि राम्रो छ भन्ने पनि सुनेको छु।’

सञ्चारकर्मी संग्रौलाका अनुसार कोरियामा महिलाहरू स–साना पाट्र्स बनाउने काम गर्छन्। ‘फुड, बेभरेज, टेक्सटाइलजस्ता हल्का काममा महिलाले गर्छन्,’ उनले भने, ‘देख्दा हल्का भए पनि उनीहरूको काम एकदमै झन्झटिलो हुन्छ। सियो धागो बुन्ने र सिमेन्टका बोरा उचाल्ने काममा सिमेन्टको काम गाह्रो लाग्ला। तर, सानो काम पनि उत्तिकै झन्झटिलो र गाह्रो छ। त्यसैले महिला र पुरुष दुवैको काम एकदमै गाह्रो छ।’

उनका अनुसार कृषि क्षेत्रमा काम गर्न कोरिया जाने नेपालीले खेती र पशुपालन क्षेत्रमा काम गनुपर्छ। खेतीमा काम गर्ने कामदारले प्लास्टिकको टनेलभित्र साग तथा विभिन्न प्रकारका तरकारी रोप्ने, टिप्ने काम गर्नुपर्छ। ‘पशुपालन क्षेत्रमा गाई गोठ, बंगुर फार्म र कुखुरा फार्ममा काम गर्नुपर्छ,’ उनले भने, ‘उत्पालनमूलक क्षेत्रमा जाने नेपालीहरू जहाज निर्माण कम्पनी, प्लास्टिक उद्योग, मेटल वर्क, अटोमोवाइलका पार्ट निमार्ण कम्पनी, फर्निचर उद्योग, कपडा उद्योग, केमिकल कम्पनी तथा खाद्य पदार्थ उत्पादन क्षेत्रमा काम गर्छन्।’

दुःख छ कोरियामा

वर्षौं कोसिस गरेर कोरिया जानेको लर्को लामो छ। त्यहाँ आफूले भोग्नुपर्ने पीडा बिर्सिएर दोहोर्‍याएर कोरिया जाने पनि उत्तिकै छन्। तर, एक पटक गएर आएका केही कामदार भने नेपालमै केही न केही गरिरहेका छन्। रामेछापका विदुर खड्का र रमेश खड्का पनि यस्तै पात्र हुन्। अहिले दुई जना मिलेर भक्तपुरको सल्लाघारीमा ‘रामभोले मोटर ड्राइभिङ सेन्टर’ खोलेर बसेका छन्। ‘अर्काका देशमा गएर कमाएको पैसा भनेको एकछिन ऐना हेरेको जस्तै हो,’ विदुरले भने, ‘क्षणभरिका लागि मात्रै हुने रहेछ। आखिर बाँचुञ्जेल बस्नुपर्ने त आफ्नै देशमा हो।’

उनीहरू ४ वर्ष १० महिना कोरिया बसेर आए। ‘साह्रै कष्टसँग ४ वर्ष १० महिना बित्यो,’ विदुरले भने, ‘गाडीको पाट्र्स बनाउने कम्पनीमा काम गरेँ। एक दिन पनि बिदा नलिई दैनिक १३ घण्टा काम गर्थें। तीन महिना काम गर्न साह्रै गाह्रो भयो।’ कोरिया जाने नयाँ कामदारले राम्ररी भाषा सिकेर मात्र जान उनी सल्लाह दिन्छन् । ‘ईपीएस भाषा परीक्षा पास गरेर गए पनि भाषाको टोन फरक पर्दा बुझ्न गाह्रो हुन्छ,’ उनले भने, ‘फेसबुकमा देखिने सुन्दर ठाउँ, अग्ला भवन, चिल्ला सडकभन्दा पर कोरियाको वास्तविकता अर्कै छ।’

उनका साथी रमेशको पनि आफ्नै अनुभव छ। ‘आफ्नै आँखाअगाडि साथीको मृत्यु भयो,’ उनले भने, ‘मसँगै काम गर्ने साथी गाई फार्ममा काम गथ्र्यो। एक दिन सामान ओसारपसार गर्ने डोजरजस्तो गाडीले किचेर मर्‍यो। घटना भएकै बेला अस्पतालमा लगेको भए बाँच्थ्यो होला। विदेशको ठाउँमा कसैले वास्ता गरेनन्।’

कोरिया बस्दा आफ्नो स्वास्थ्यमा पनि निकै समस्या देखिएको उनले सुनाए। ‘लामो समयको काम, खानपान, निन्द्राका कारण भोग्नु पीडा भोगियो,’ उनले भने, ‘ढाड दुख्ने, पिसाब पोल्ने, पेट दुख्ने, आधा टाउको दुख्ने, घुँडा तथा जोर्नी दुख्ने, आँखा दुख्ने भएभरका समस्या देखिएको थियो। जे भए पनि कम्पनीले पेनकिलर दिन्थ्यो। जसोतसो बाँचेर नेपाल आइयो।’

महिलाका लागि कोरिया सुरक्षित भनिए पनि नेपालीबाटै दुव्र्यवहार भोगिन्, सुर्खेतकी गंगा रेग्मीले। ‘त्यो बेला म बंगुर फार्ममा काम गर्थें,’ उनले सम्झिइन्, ‘सँगै काम गर्ने साथीले साहूलाई भनेर तलब बढाइदिने बहानामा पटक–पटक यौनहिंसा गर्न खोज्यो।

उसले मलाई यौन प्रस्ताव राखेको थियो। मैले नमानेपछि ‘यसलाई यहाँ राख्नु हुँदैन’ भनेर साहूसँग कुरा गरेर मलाई निकाल्न लगायो।’ त्यहाँबाट निकालिएपछि आफूले च्याउ टिप्ने काम गर्न थालेको उनले बताइन्। ‘महिलाका लागि राम्रो देश भए पनि आफ्नै देशका दाजुभाइबाट शोषित हुनुपर्छ,’ उनले भनिन्, ‘कहिले भिसा सक्किएर नेपाल आउनुजस्तो भयो। यहाँ आएपछि मैले विदेशको नाम कहिल्यै लिइनँ।’

ईपीएसमार्फत कोरिया गएर आएका कामदार त्यहाँ ‘थ्रीडी’ (डिफिकल्ट, डर्टी, डेन्जरस) काम गर्नुपरेको र ‘टूडी’ (डंकी र डग) को व्यवहार खेप्नुपरेको बताउँछन्। अर्थात्, कठिन, फोहोरी र खतरनाक काम गर्नुपरेको र रोजगारदाताबाट गधा र कुकुरलाई जस्तो व्यवहार गरिने उनीहरूको दुखेसो छ। चार वर्ष कोरिया बसरे आएका केशव थापाले कोरियामा करिब १५ महिनादेखि पगालेको फलामलाई हेरफेर गर्ने काम गरे।

‘काम गर्दागर्दै अकस्मात् अण्डकोष सुनिन र दुख्न थाल्यो,’ उनले भने, ‘सुरुमा तातोले होला भनेर वास्ता गरिनँ। पछि झन्झन् सुन्निने, दुख्ने र पिसाब पोल्ने गर्न थाल्यो।’ यति भएपछि उनले कम्पनीको मालिकलाई आफ्नो समस्या राखे। ‘तातोले हो, केही हुँदैन’ भन्ने साहूले जवाफ फर्काएको उनले बताए। ‘त्यहाँ समस्या सेयर गर्नलाई साथी थिएनन्,’ २२ वर्षीय अविवाहित केशवले भने, ‘घरपरिवारलाई यस्तो कुरा भन्ने कुरा भएन।

पछि समस्या झन्झन् बल्झिँदै गएपछि त्यो काम छोडेर अर्कै ठाउँमा काम गर्न थालेँ।’ उक्त कम्पनीमा काम गरेबापत आफूले मासिक तीन लाख रुपैयाँको हाराहारीमा कमाइ गरेको उनले बताए। ‘त्यो बेला मलाई तीन लाख होइन, शरीरको माया लाग्यो,’ उनले भने, ‘शरीरभन्दा पैसा कहिल्यै ठूलो हुँदैन भनेर पछि नेपाल फर्किए। अहिले ती दिन सम्झिँदा पनि कहाली लाग्छ।’

कतिपय नेपाली कामदारले कार्यस्थलमा भएका दुर्घटनामा ज्यान गुमाएका छन् भने कतिपयको अंगभंग भएको छ। पशुपालन तथा कृषि क्षेत्रको दाँजोमा निर्माण, औद्योगिक उत्पादन र मत्स्यपालन क्षेत्रमा कार्यरत कामदारहरू धेरै संख्यामा दुर्घटनामा पर्ने गरेको ईपीएस शाखाको तथ्यांकले देखाउँछ।

रोजगारीका लागि कोरिया जानेको संख्या बढेसँगै विभिन्न कारणले मृत्यु हुनेको संख्या पनि बढेको छ। सन् २००८ देखि ईपीएसमार्फत कोरिया जान थालेपछि ९४ जना नेपालीको ज्यान गएको छ। तीमध्ये सुतेकै अवस्थामा २२ जनाको मृत्यु भएको छ भने २० जनाले आत्महत्या गरेका छन्। कार्यस्थलमा दुर्घटना भएर १२ जनाले ज्यान गुमाएका छन् भने सडक दुर्घटनामा आठ जना नेपालीको मृत्यु भएको छ। सन् २०१८ मा मात्रै १२ जना नेपालीले कारियामा ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!