भारतले हात हालेको विकास निर्माणको काम जताततै कमजोर

तारा आचार्य

विराटनगर, २४ चैत । नेपालमा हुने विकास निर्माणमा आफ्नो संलग्नता देखाउन चाहने छिमेकी मुलुक भारतले जिम्मा लिएका विकास निर्माणको कार्य कुन हद्सम्मको कमसल हुन्छ भन्ने कुरा बारम्बार देखिदै आएको छ ।

जिम्मा लिएको दुई दशक वित्दा पनि हुलाकी सडक नबनाएर अल्मल्याएको भारतले धेरै विकास निर्माणका काममा पनि आफ्नो ‘नियत’ देखाउदै आएको छ । यस्को प्रमाण बनेको छ विरानगरमा निर्माणाधीन रेल्वे यार्ड । भारत सरकारले बनाइदिने संरचनाहरु कमसल हुन्छन् भन्ने पछिल्लो उदाहरण बनेको छ, विराटनगरमा निर्माणाधीन रेल्वे यार्ड ।

भारतको सहयोगमा विराटनगर महानगरपालिका वडा नं. १८ बुधनगरमा निर्माण भईरहेको रेल्वे यार्ड गुणस्तरहिन भएकाले भत्कन थालेको छ । यसबाट नेपाललाई हस्तान्तरण गरिने भौतिक संरचना कमसल र कमजोर हुने त होइन भन्ने आशंका बढेको छ ।

केही दिन अघि परेको वर्षाका कारण विराटनगर महानगरपालिका वडा नं. १८ बुधनगरमा रेल चल्ने लिकको मध्य भागमा बनाइएको नाला भत्किएको छ भने पर्खालहरुको प्लाष्टर समेत पकपकी उप्किएको छ । हस्तान्तरण गर्ने प्रक्रियामा रहेको सो संरचना मध्ये १ सय ८० मिटर नाला भत्किएको छ । वर्षाका कारण नाला भत्किएको र चाडै नै बनाउने ठेकेदार कम्पनी इरकानले जनाएको छ ।

भारत सरकारको करिब २ सय ३८ करोड भारतीय रुपैयाँमा बथनाहा देखि मोरङको कटहरी सम्म रेल्वेको संरचना बनाइएको हो । सो संरचना मध्ये केही संरचना अझै निर्माण भईसकेको छैन । तर बुधनगरसम्म रेल्वे संचालनको प्रक्रिया थालिएको बेला नाला र पर्खालहरु नै भत्कन थालेपछि कमसल निर्माण गरिएको प्रष्ट भएको छ । सम्झौता अनुसार नेपालले जग्गा उपलब्ध गराउने र भारत सरकारले साढे १८ किलोमिटर रेलवे ट्रयाक, स्टेशन विल्डिङ, यात्रु प्रतीक्षालय र संयुक्त चेक प्वाइन्ट निर्माण गर्ने उल्लेख छ ।

कमसल वस्तु र भौतिक पूर्वाधार बनिरहेको बारे नेपालको रेलवे विभागले भने हस्तान्तरण अघि कुनै प्रतिक्रिया दिन नमिल्ने बताएको छ । हस्तान्तरण गर्नु अघि सबै भौतिक पूर्वाधारको गुणस्तर चेकजाँच पछि मात्र स्वामित्व लिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!