मिस नेपाल आयोजकको अर्को गल्ती, हङकङबाट बोलाएर यी चेलिलाई अलपत्र पारियो

मिस नेपाल २०१९ का लागि लिइएको अडिशनका क्रममा एक किशोरीप्रति निर्णायकमण्डलकी एक सदस्यले गरेको व्यवहारको सामाजिक सञ्जालमा निकै आलोचना भएको छ।

ट्विटर, फेसबुक र इन्स्टाग्राममा ‘भाइरल’ भएको एउटा भिडिओमा निर्णायकमण्डलकी सदस्यले रुखो शैलीमा ती किशोरीलाई शृङ्गार किन नगरेको, चस्माको सट्टा कन्ट्याक्ट लेन्सको प्रयोग किन नगरेको भनेर प्रश्न गरेको देखिन्छ।

यो घटनाले नेपालमा हुने गरेका विभिन्न सुन्दरी प्रतियोगिताको पक्ष र विपक्षमा पुनः बहस निम्त्याइदिएको छ।

सुन्दरी प्रतियोगिताको औचित्य देख्ने र नदेख्नेहरूबीच सामाजिक सञ्जालमा पनि वादविवाद भइरहेको छ।

र, यसले कैयौँ प्रश्नलाई पुनः एक पटक सतहमा ल्याइदिएको छ – नेपालमा सुन्दरी प्रतियोगिताबारे किन विवाद हुन्छ, के यहाँ सुन्दरी प्रतियोगिताको औचित्य छैन? आदि, इत्यादि।

फरकफरक बुझाइ

सामाजिक सञ्जालमा अडिशनसम्बन्धी भिडिओ व्यापक भएपछि त्यसले सुन्दरी प्रतियोगिताको ‘कुरूप पक्षलाई उजागर गरिएको’ भन्दै कतिपयले टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा कतिपय महिला र पुरुषले त मेकअप नगरिएको तस्बिर राख्दै “मेकअपबिाना पनि सुन्दर” भन्दै लेखेका छन्।

कतिपयले मेकअप गर्नु/नगर्नु र चस्मा लगाउनु/नलाउनु व्यक्तिको स्वतन्त्रताको विषय भएको भनेका छन्।

घटनापछि ट्विटरमा त #nomakeupandstillbeautiful ट्रेन्डिङमै आयो।

ट्विटरमा सुष्मिता महर्जन लेख्छिन्, “मैले जानेको मेकअप भनेको मस्करा र सानो टिका लगाउने मात्र हो। मेकअप हुँदा र नहुँदा पनि ममा आत्मविश्वास हुन्छ। के यो गलत हो?”

गत वर्षकी मिस नेपाल शृङ्खला खतिवडाले पनि तस्बिरसहित त्यस्तै आशयको ट्वीट गरिन्।

अर्का ट्विटर प्रयोगकर्ता सन्तोष न्यौपानेले आफ्नी पत्नी र छोरीको तस्बिरसहित ट्वीट गरे।

उनले लेखे, “म मेरी श्रीमती र छोरीलाई विनामेकअप नै धेरै माया गर्छु। प्रकृतिले सुन्दरता ल्याउँछ। मिस नेपाल प्रतियोगिताको वास्ता नगर्नूस् उनीहरूले आफ्नै काम गर्छन्।”

कोपिला अधिकारीले यस्तो ट्वीट गरिन्, “म २१ औँ शताब्दीकी केटी हुँ र मेकअप मेरो वशको कुरा होइन। यो कुरा सबैले बुझून् र यो अनादर होइन।”

सन् १९९४ देखि नेपालमा २३ पटक मिस नेपाल प्रतियोगिताको आयोजना भइसकेको छ।

प्रतियोगिताको औचित्य

विगतमा तत्कालीन माओवादीको महिला सङ्गठनले ‘सांस्कृतिक अतिक्रमण’ र ‘महिलालाई उपभोग्य वस्तु बनाउन खोजिएको’ भन्दै प्रतियोगिताको खुलेरै विरोध गर्दै आएको थियो।

हुन त पार्टी सत्तामा आएपछि उनीहरूले त्यस्तो विरोध गर्न छाडे।

नेपालमा सुन्दरी प्रतियोगिताबारे हुने विवाद चर्चाका लागि गर्ने गरिएको पनि कतिपयले तर्क गर्छन्।

सुन्दरी प्रतियोगितामा शीर्ष स्थानमा पुग्न किन सक्दैनन् नेपाली महिला ?

मिस वर्ल्डकी नेपाली प्रतिस्पर्धी शृङ्खला खतिवडाकी आमा के भन्छिन् …

तर नेपालमा सुन्दरी प्रतियोगिताप्रति एकै खालको बुझाइ नहुनु पनि त्यस्ता प्रतियोगिता विवादमा परिरहनुको एउटा कारण भएको कतिपयको धारणा छ।

राजनीतिक विश्लेषक आहुति सुन्दरी प्रतियोगिताको औचित्यमाथि नै प्रश्न गर्छन्।

“कोही सुन्दर छ भन्ने कुरा कसले किटान गर्ने, सुन्दरताको त मापन हुनै सक्दैन,” उनी भन्छन्।

“फरकफरक संस्कृतिका मान्छेले, फरकफरक मानिसलाई, फरकफरक अवस्थामा सुन्दर वा कुरूप देख्छन्। त्यसकारण सुन्दरताबारे बनिबनाउ नियम हुनै सक्दैन।”

सुन्दरताको मापक के?

समाजमा एकथरी यस्ता पनि छन् जसलाई नेपालमा सुन्दरी प्रतियोगिताको आयोजना गर्ने र त्यसमा सहभागी हुनेहरूसँग कुनै गुनासो छैन।

गुनासो छ त केवल त्यस्ता प्रतियोगिताका आयोजकले बनाएका सुन्दरता र बौद्धिकताका मानकसँग। त्यस्तै धारणा राख्नेमा पर्छिन् लेखक तथा अधिकारकर्मी सावित्री गौतम।

“त्यो गर्नेले गरून्, उनीहरू स्वतन्त्र छन् तर त्यसलाई महिला सशक्तीकरणको नाम दिएर, बौद्धिक विकास र सुन्दरताभन्दा धेरै परको कुरा भनेर झूटो दाबी चाहिँ नगरियोस्।”

नेपालमा सुन्दरी प्रतियोगिताबारे हुने विरोध र विवादलाई मानसिकतासँग जोडेर हेर्ने अर्काथरी छन्।

समाजशास्त्री निर्मला ढकालको त्यस्तै तर्क छ।

“हरेक प्रतियोगिताका केही निश्चित मापदण्ड हुन्छन् जसलाई प्रतियोगीले मान्नुपर्ने हुन्छ। नेपालमा चर्चामा आउन पनि कतिपय कुराको विरोध गर्ने प्रवृत्ति छ।”

नेपालमा सुन्दरी प्रतियोगिताको औचित्यलाई लिएर समाजशास्त्रीबीच पनि मतैक्य छैन।

अर्का समाजशास्त्री डा. चैतन्य मिश्र भन्छन्, “म आफैँ औचित्य देख्दिनँ, तर नेपाल अथवा विश्वको अर्थतन्त्र जसरी चलेको छ त्यहाँ सुन्दरी प्रतियोगिताको उपादेयता भएरै ती भइरहेका होलान्।”

कतिपयको तर्क छ – हरेक कुराको सकारात्मक तथा नकारात्मक पाटो हुने गर्छ र सुन्दरी प्रतियोगिता अपवाद हुन सक्दैन।

त्यस्ता प्रतियोगिताले महिलाको व्यक्तित्व तथा क्षमताको विकासमा पनि मद्दत पुर्‍याउने गरेको पक्षधरहरूको तर्क हुने गरेको छ।

विश्वव्यापीकरणको प्रभाव

समाजशास्त्री ढकाल थप्छिन्, “जित्ने तीन जना देशविदेश जान पाउँछन्, त्यहाँका रहनसहन बुझ्न पाउँछन्। त्यसरी जानुअघि र गएर आएपछि तुलना गर्दा तपाईँले धेरै फरक पाउनुहुन्छ।”

“संसारभरि चलिरहेको कुरालाई हामी रोक्छौँ अथवा हाम्रो संस्कृतिको विरुद्ध छ भनेर अघि बढ्छु भन्नु एकदम मुर्ख्याइँजस्तो मलाई लाग्छ।”

समाजशास्त्री ढकालले प्रविधिको विकास र विश्वव्यापीकरणको प्रभावलाई चाहेर पनि रोक्न नसकिनेतर्फ सङ्केत गरेको देखिन्छ।

तर राजनीतिक विश्लेषक आहुतिको विचारमा विश्वव्यापीकरणले सिर्जना गरेका प्रत्येक कुरालाई उपयुक्त नै मान्नुपर्छ भन्ने छैन।

“विश्वव्यापी के बन्छ/बन्दैन मुख्य कुरा होइन। के कुराले मानवको अस्तित्वलाई अपमान गर्छ/गर्दैन, समाज वा व्यक्तिलाई बिक्रीको वस्तु बनाउँछ/बनाउँदैन भन्ने कुरा मुख्य हो।”

सुन्दरी प्रतियोगितामा सहभागी हुनका लागि उमेरदेखि शरीरको उचाइसम्मका कुरा निर्धारण गरिएको हुन्छ।

नेपाल सुन्दरी वा विश्व सुन्दरीको उपाधि उचालेपछि विजेताले निश्चित समयसम्म बिहे गर्न नपाउने र आफूले सम्झौता गरेको पक्षको अनुमतिविना सार्वजनिक टीकाटिप्पणी गर्न नपाउनेजस्ता कैयौँ सर्तको कडाइका साथ पालना गर्नुपर्ने हुन्छ।

यस्तै यसैपाली मिस नेपालमा भाग लिन हङकङबाट आएकी प्रिय गुरूङलाई मिस नेपाल आयोजक टिमले अलपत्र पारेका छन, पुरा जानकारीको लागी यो भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!