लिबियामा द्वन्द्व चर्कियो, सुरक्षा जिम्मा नेपाली सेनालाई

काठमाडौं–अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रुपमा अन्यन्त्र सारिएपछि सुरक्षाको जिम्मा नेपाली सेनाको काँधमा आएको छ । द्वन्द्वका कारणले भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ ।

लिबियाको अवस्था एक्कासि बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मी लाई त्रिपोलीबाट अन्यत्रै सारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पुष्टि गरेको नागरिक दैनिकमा खबर छ । राजधानी त्रिपोली माथि कब्जा जमाउने उद्देश्यले बिद्रोहीले आक्रमण थालेपछि निम्तिएको संकटले अमेरिकी र भारतीय शान्ति सैनिक अन्यत्रै सारिएपनि नेपाली सेनालाई भने थप जिम्मेवारी दिइएको छ ।

अमेरिका र भारतका फौजसमेत हटाइएको अवस्थामा त्रिपोलीमा रहेको राष्ट्र संघीय शान्ति मिसन मुख्यालय र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षा जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ । नेपाली सेनाले हाल राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा लिबिया शान्ति मिसनका प्रमुख घासन सलामेलगायतका कर्मचारीलाई आफ्नो सुरक्षा घेरामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!