विकटमा प्रहरी चौकीकाे कष्टकर दैनिकी: खाद्यान्नसमेत पैँचाे मागेर चलाउनु पर्ने

बझाङ – सीमा प्रहरी चौकी धुलीको ४० बर्ष पछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले निरीक्षण गर्नु भएको छ ।

जिल्लाकै दुर्गम साईपाल गाउँपालिकामा २०३५ सालमा स्थापना भएको सीमा प्रहरी चौकी धुली पुग्न सदरमुकाम चैनपुरबाट तीन दिन जान र तिन दिन फर्किन लाग्छ । सडक सञ्जालसँग समेत नजोडिएको साईपाल गाँउपालिकामा रहेको प्रहरी चौकी निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी सुनारले आफूलाई यहाँको समस्या देख्दा निकै दुःख लागेको बताउनुभयो ।

प्रहरीको बसाइ र नागरिकलाई दिने सेवाका बारेमा बुझ्दै प्रमुख जिल्ला अधिकारी सुनारले विकट ठाँउमा समेत राम्रो काम गरेकोमा धन्यबाद समेत दिनुभयो ।

सञ्चारको समेत सुविधा नभएको ठाउँमा सीमा प्रहरी चौकीले जनताको साथी नै भएर काम गरिरहेको देख्दा खुशी लागेको बताउदै उहाँले भन्नुभयो, ‘एउटा गाउँबाट अर्को गाउँ पुग्नसमेत एक दिन पूरा लाग्दोरहेछ । हिमपात भएको समयमा पनि यहाँ कार्यरत प्रहरीले दुःख नभनी काम गर्दा रहेछन् ।’

आफूले निरीक्षण गर्दा सीमा प्रहरी चौकी धुलीमा जनशक्ति कम भएको, भौतिक पूर्वाधारको अवस्था नाजुक पाएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।

यहाँ २२ जनाको दरबन्दी भए पनि अहिले १२ जनाले मात्रै काम गरिरहेका छन् । यसका लागि आफूले केन्द्र सरकारसँग समन्वय गरी तुरुन्तै थप जनशक्तिका लागि पहल गर्ने उहाँको भनाइ छ ।

प्रहरीको आफ्नो जग्गा हुँदा–हुँदै पनि जीर्ण घरमा स–साना ४ कोठामा १२ जना प्रहरी बस्दै आएका र त्यसमा पनि पानी पर्दा र हिमपात हुँदा पानी भित्र आउने गरेको प्रहरीको गुनासो छ । भौतिक पूर्वाधारका लागि साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीसँगसमेत आफूले छलफल चलाएको प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

खाद्यान्न र नूनसमेत पैचो माग्नु पर्ने बाध्यता
नेपाल सरकारले खाद्यान्नका लागि रकम छुट्याउने गरेको भए पनि सीमा प्रहरी चौकी धुलीका प्रहरीहरुले भने पर्याप्त मात्रामा कहिले पनि खाद्यान्न नपाएको गुनासो गरेका छन् ।

खाद्यान्न अपुग भएका कारण आफूहरुले गाउँलेहरुसँग पैंचो मागेर खानेकुराको जोहो गर्ने गरेको बताए । प्रहरी चौकी नजिकै रहेका शैनगाँउ लाफडीका स्थानीय बासिन्दाहरुबाट कहिले नून, तेल, कहिले चामल र पीठो पंैचो मागेर खानेकुराको जोहो गरेको सीमा प्रहरी चौकी धुलीमा कार्यरत प्रहरी नायब निरीक्षक महानन्द जोशीको भनाइ छ ।

गाँउमा पसल नभएका कारण हिमपात र वर्षाका बेला खाद्यान्न पाइँदैन । एक किलो खाद्यान्न ढुवानीका लागि खच्चड र भेडाहरुले १३० देखि १६० सम्म लिन्छन् । बाटो. लामो र जोखिमयुक्त बाटो भएकाले साथै बाक्लो हिउँ जमेका कारण ३/४ महिनादेखि साइपाल गाँउपालिका–४ र ५ का स्थानीयले खाद्यान्न समेत ढुवानी गर्न सकेका छैनन् ।

स्थानीयले वर्षभरिका लागि खाद्यान्न ढुवानी गरी सकेको बिक्री गर भन्दा समेत नमान्ने भएकाले पछि तिर्ने गरी पैँचोको लिएर चलाउँदै आएका छन् ।

आफूहरुमको मासिक तलबभन्दा बढी खर्च हुने गरेको प्रहरीको गुनासो छ । सदरमुकाम चैनपुरमा पर्ने हरेक सामानको मुल्य ४ गुणा देखी ८ गुणा सम्म बढी पर्छ ।

नेपाल सरकारले दुर्गम भत्ता भनेर थप सेवा दिएको भए पनि यहाँका लागि उक्तसेवा सुविधा प्राप्त नभएको आफुले समेत पाएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले समेत बताए ।

सदरमुकाम चैनपुरमा १० रुपैयाँमा पाइने सामानको मूल्य सीमा प्रहरी चौकी नजिकका पसलमा ८० रुपैयाँ पर्ने सशष्त्र प्रहरीका प्रहरी नायब उपरLक्षक भुवनराज पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!