शीतल निवास मेरो जिजुकाकाकाे हो, विद्या भण्डारीको होइन – पशुपतिशमशेर

काठमाडौं। राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले गणतन्त्र स्थापनापछिका दुवै राष्ट्रपति राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्न असक्षम भएकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उक्त भूमिकामा फर्काउनुपर्ने बताएका छन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्न बुधबार बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा राणाले वर्तमान राष्ट्रपति विद्यादेवाी भण्डारीप्रति आक्रोश व्यक्त गरे । राष्ट्राध्यक्षको भूमिका दलीय व्यक्तिले निर्वाह गर्न नसक्ने भन्दै राणाले दलबाहिरको व्यक्तिलाई सो भूमिका दिइनुपर्ने तर्क गरे।

उनले दसैंमा टीका लगाउँदा जनताका छोरालाई घुँडा टेकाएको, १७ करोडको हेलिकोप्टर चढ्ने आशक्ति देखाएको तथा शीतलनिवास परिसरमा रहेको प्रहरी तालिम केन्द्र हटाएर आफ्ना लागि फराकिलो ठाउँ बनाउन खोजेको भन्दै उनले राष्ट्रपति भण्डारीविरुद्ध खनिए । उनले शीतलनिवास आफ्नो पुर्खाको भएको समेत जिकिर गरे ।

‘१७ करोडको हेलिकोप्टर चढ्नुपर्ने, दसैंमा टीका लगाउँदा जनताको छोरालाई घुँडा टेकाउने काम गरेर उहाँले राष्ट्रपति पदको मर्यादा र गरिमा कायम गर्न सक्नुभएन’, राणाले भने, ‘मेरो जिजुकाकाले(बाबुको हजुरबाको भाई)ले दिएको शीतलनिवासले नपुगेर प्रहरी तालिम केन्द्र हडपेर फराकिलो ठाउँ किन चाहियो उहाँलाई ?’

अध्यक्ष राणाले निर्मलनिवासभन्दा दोब्बर फराकिलो ठाउँ चाहिने राष्ट्रपति नेपालका लागि आवश्यक नभएको तर्क गरे । यस्तै राष्ट्रपतिले कामकाज गर्दा आफ्नो पूर्वपार्टीको सरकार र काँग्रेस सरकारलाई फरक व्यवहार गरेको आरोप लगाए । दलीय व्यक्तिहरु राष्ट्रपति हुँदा संविधानको मर्म र भावनाअनुरुप चल्न नसकेको आरोप उनको थियो ।

पत्रकार सम्मेलनमा अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि राष्ट्रपतिको भूमिकामा प्रश्न उठाए । उनले कार्यकारी अधिकार दलहरुमै रहने गरी राष्ट्रिय एकताका लागि सेरेमोनियल राजसंस्था आजको आवश्यकता भइसकेको जिकिर गरे ।

‘कार्यकारी अधिकार जनतामै रहने हो । शासन जनताले नै चलाउने हो’, लोहनीले भने, ‘तर, राष्ट्र र राष्ट्रिय एकता बचाउन दलबाहिरको व्यक्ति राष्ट्रप्रमुख हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!