छोरी मात्रै पाएको भन्दै ६ छोरीलाई छोडेर बाबू बेपत्ता

लुलाङ, म्याग्दी। गएको फागुन १६ मा नरमाया विक उमेरले ३४ वर्ष पुगिन् । धौलागिरी गाउँपालिका–२ लुलाङको नयाँवनकी उनको १९ वर्षको उमेरमा विवाह भएको थियो । १५ वर्षको अन्तरालमा शर्मिला (१४), अनिता (१२), उर्मिला (१०), निरुता (८), सरिता (६) र शीतल (१७ महिना) गरी ६ वटी छोरी छन् ।

एक हलगोरु लाग्ने लम्सुङ छेउको पाखोबारी र खरको दुईपाखे कटेरो पहिरोको जोखिममा पर्‍यो । त्यसपछि नरमाया चिचिला छोरीहरू च्याप्दै–डोर्‍याउँदै र घिसार्दै नयाँवनस्थित आफन्तको कटेरोमा सरिन् । श्रीमान् पूर्णबहादुर उमेरले उनीभन्दा तीन वर्ष कान्छा हुन् । २०७४ कात्तिकमा कान्छी छोरी जन्मेपछि पूर्णबहादुरले ‘छोरी मात्रै पाएको’ भन्दै नरमायालाई गाली गरिरहन्थे ।

छिमेकी मालिका–३ रुमबाट कान्छी श्रीमतीसहित गत असारबाट उनी बेपत्ता छन् । गाउँलेले नरमायालाई सुनाएअनुसार पूर्णबहादुर कान्छी श्रीमतीसँग बाग्लुङको गल्कोटतिर मजदुरी गर्छन् । कान्छी पनि सुत्केरी हुन लागेकी छन् ।

‘छोरो पाउने श्रीमती लिएर लोग्ने भाग्यो । लोग्ने अब मेरा लागि मरेसरह भो । सुत्केरीमाथि रोगी छु,’ नरमाया भन्छिन्, ‘६/६ जना छोरीको सास थेग्न मुस्किल भएको छ । अरूले दिएको चामल, पिठो खाएर बाँचेका छौं ।’ बाँझो र पाखोबारी जोत्ने मान्छे छैन । अर्को मान्छे र गोरु लगाएर काम गराउने पैसा छैन । ‘जति बेला पनि आँखाबाट फाल्सा छुट्छ, सबै अँध्यारो मात्र हुन्छ,’ उनी भन्छिन् ।

छोरीहरू र नरमायाको विजोग देखेपछि स्थानीयले सहयोग गरे । नर्जाखोला युवा क्लब, लमसुङ मावि जागृत बाल क्लब र विद्यालयको जुनियर रेडक्रस सर्कलले दिएको एक–एक बोरा चामल, दाल, तेल र ८ हजार रुपैयाँ र गाउँलेले मानामुठी अन्न उठाएर सहयोग गरेका छन् । त्यही अन्नपातको भरमा उनीहरू बाँचेका छन् ।

धौलागिरी गापा–२ लुलाङ घर भई हाल बुटवल बस्ने अनिल बुढाले गत फागुनमा गाउँ आएका बेला नरमायाको कारुणिक अवस्था देखे । सामाजिक सञ्जाल फेसबुकबाट सहयोग अपिल गरे । ४९ हजार नगद र तीन बोरा लत्ताकपडा संकलन गरी गत बिहीबार गाउँपालिका अध्यक्ष थमसरा पुनमार्फत सहयोग पीडितको हातमा पुर्‍याए । अध्यक्ष पुनले कुखुराका १० वटा चल्ला र दाना पनि दिइन ।

बर्सेनि सुत्केरी भएपछि उमेरमै रोगी बनेकी उनलाई छोरीहरू र आफ्नो पेट पाल्न सकस छ । स्थानीयले दिएको अन्नपातले पेट भर्दै आए पनि मनबाट चिन्ता हटेको छैन ।

नरमायाका ५ छोरी स्थानीय लम्सुङ माविमा क्रमशः ७, ६, ४, २ र १ कक्षामा पढ्छन । उनीहरूलाई असल छिमेकी नामक संस्थाले शैक्षिक सामग्री उपलब्ध गराएको छ । घरबाट स्कुल पुग्न उनीहरू दैनिक आधा घण्टा हिँड्छन ।

‘सानी बैनी जन्मेपछि बाबाले आमा र हामीलाई कुट्नुहुन्थ्यो,’ जेठी छोरी शर्मिलाले भनिन्, ‘कति दिन घरै नआउने हुँदाहुँदै भाइ पाउने आमा लिन जान्छु भन्दै निक्लेका हुन् ।

अत्तोपत्तो छैन ।’ बिरामी आमा र पाखोबारी बाँझै देख्दा पीर लाग्ने उनले बताइन् । ‘धेरै पढ्ने रहर त थ्यो । बैनीहरू पाल्न काम गर्न पाए हुन्थ्यो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!