विभिन्न ठाउँमा स्कुटर चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरे

काठमाडाैं । महानगरीय प्रहरी नयाँ बानेश्वर वृत्त एरियाका विभिन्न ठाउँमा स्कुटर चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्नेहरु सिन्धुपाल्चोक डाँडापाखर गाउँपालिका-६ का सुरज थापा, रामेछाप थिरपानी गाँउपालिका-१ का बिक्रम श्रेष्ठ, झापा भद्रपुर नगरपालिका-३ का विपिन गुरुङ, अर्घाखाँची सन्धिखर्क नगरपालिकाका विवेक खनाल र चितवन पुरानो पर्साका अभिषेक बराम रहेका छन् ।

काठमाडाैं महानगरपालिका वडा नम्बर–३१ नयाँबानेश्वोर स्थित बिकास श्रेष्ठकको घर कम्पाउण्डमा पार्किङ गरी राखेको बा ७८ प १०१३ नम्बरको होण्डा कम्पनीको डियो स्कुटर चोरी भएको थियो ।

स्कुटर चोरी भएको भनि बिकास श्रेष्ठेले खोज तलास गरी पाउ भनी निवेदन दिएकोमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले चैत्र २१ गते काठमाडाैं महानगरपालिका ३१ बाट बा ५० प ७६२ नम्बरको एभिएटर कम्पनीको स्कुटर चढिरहेको अवस्थामा बिबेक खनाल र अभिषेक बरामलाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त स्कुटर सुरज थापाको भएको बताएका थिए ।

उनको बयानको आधारमा सुरज थापालाई खोजतलास गर्दै जाँदा निजको साथबाट बिकास श्रेष्ठको घर कम्पाउण्डबाट हराएको बा ७८ प १०१३ नम्बरको स्कुटर सहित प्रहरीले फेला पार्याे।

प्रहरीले सोधपुछ गर्दा बिक्रम श्रेष्ठ र बिपिन गुरुङ्ग समेतको संलग्नतामा चोरी गरेको खुलेपछि अरूलाई पनि प्रहरीले पक्राउ गरेकाे हाे ।

निजहरुको साथबाट धनि नखुलेको बा ५४ प २६८ नम्बरको एभिएटर कम्पनीको स्कुटर र बा ७८ प १०१३ नम्बरको होण्डा कम्पनीको डियो स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!