प्रचण्डका भाञ्जी ज्वाइँ पनि लुट धन्दामा संलग्न

काठमाडौं, २८ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलभित्रको स्टोराइल कक्षमा रहेको कफीसपबाट अबैध विदेशी मुद्राको कारोबार गरेको प्रमाण भेटिएपछि कफीसपका सञ्चालक सुवास श्रेष्ठलाई पक्राउ गरी मुद्दा चलाइएको छ । यूनाइटेड पोस्ट साप्ताहिकले समाचार छापेको छ ।

श्रेष्ठलाई गत शुक्रबार बैङकक जाने क्रममा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुले शंका लागि चेकजाँच गर्दा उनको साथबाट २२ हजार १ सय ५० थाई भाट, १० हजार अमेरिकन डलर, ८० हजार चिनियाँ यूआन र १ हजार ३ सय ८० यूरो अबैध विदेशी रकम बरामद गरेका थिए ।

लगत्तै राअबीका कर्मचारीले प्रहरीलाई जिम्मा लगाए पनि विदामा बसेका विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दिप भण्डारीले प्रमाण के छ भन्दै छाडेका थिए ।

सो विषयले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म हंगामा मच्चिएपछि सुरुमा श्रेष्ठलाई छाडेका भण्डारीले आफू फस्ने डरले पुनः श्रेष्ठलाई पक्राउ गरी राजश्व अनुसन्धान विभाग पठाएका थिए ।

अहिले सरकारले श्रेष्ठको स्टोराईल कक्षमा रहेको कफी सपलाई शिलवन्दी गरिसकेको छ । ९ वर्षदेखि विमानस्थलमा सातवटा भन्दा बढि पसल राखेर एकछत्र राज गर्दै आएका श्रेष्ठका कारण सुरक्षामा चुनौती थपिएको छ ।

त्यसो त विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, कर्पोरेट महाशाखा प्रमुख नारायणी डंगोल र बिष्णु अधिकारीको मिलोमतोमा बिमानस्थलभित्र राखिएको लगेज र्‍यापिङको ठेक्का हालसम्म पनि अदालतको आदेश भन्दै एकलौटी रुपमा श्रेष्ठले चलाईरहेका छन् । जसका कारण यात्रुहरु ठगिने गरेका छन् ।

बिमानस्थलले २०७३ कार्तिक २२ गते बोलपत्र खोल्ने गरी आब्हान गरेको लगेज ¥यापिङको ठेक्कामा श्रेष्ठको कम्पनी स्वनीगा सर्भिसले पनि सहभागिता जनाएको थियो । उक्त ठेक्कामा ३ बर्षको लागि ३ करोड कबोल गरिएको थियो ।

तर, त्यो ठेक्का आफूलाई नपरेपछि अदालतमा सेटिङ मिलाई राज्यलाई बार्षिक करोडौ नोक्सान हुने गरी श्रेष्ठले ३ करोडको ठेक्का ३० लाखमा चलाईरहेका छन् । विमानस्थको अन्तर्राष्ट्रिय टर्मिनल तर्फ प्रस्थानको चेकईन एरियामा रहेको लगेज र्‍यापिङको लागि बोलपत्र आव्हान भएको थियो ।

तर, श्रेष्ठको कम्पनीले ठेक्का नपाउँदा उनले अदातको दुरुपयोग गरेका हुन् । उक्त बोलपत्रमा ७ बटा कम्पनीले सहभागिता जनाएका थिए ।

सहभागिता जनाएकामध्ये सबैभन्दा बढी ३ कारोड मूल्य कबोल गर्ने साई किरण इन्टरप्राइजेजले हाल सम्म पनि सञ्चालन गर्न पाएको छैन । सञ्चालक श्रेष्ठले विमानस्थलका महानिर्देशक संजिव गौतम, महाप्रबन्धक क्षेत्री र कर्पोरेटका प्रमुखदेखि उपप्रमुखसम्मलाई मोटो रकम मिलाएर र्‍यापिङको काम गर्दै आएका छन् ।

विगत लामो समयदेखि नै र्‍यापिङको ठेक्का हत्याइरहेका श्रेष्ठको स्वनिगा सर्भिसले त्यतिबेला २ करोड ३२ लाख मूल्य कबोल गरी बोलपत्र पेश गरेको थियो ।

तर, उनले आफूलाई उक्त ठेक्का नपर्ने जानकारी पाएपछि उच्च अदालत पाटनमा सेटिङ मिलाई बोलपत्र खुलेकै दिन स्टे अर्डर जारी गर्न लगाएर आजसम्म पनि र्‍यापिङको काम गरिरहेका छन् ।

उक्त मुद्दा हालसम्म पनि मुल्तबिमा छ । उच्च अदालतको आदेशका बिरुद्धमा सर्बाेच्च आदलतमा जानुपर्ने बाटो खुल्ला थियो । तर, बिमानस्थलका महाप्रबन्धक क्षेत्री अझै आँखा चिम्लेर बसेका छन् ।

बिमानस्थलको तर्फबाट राखिएका वकिल सोमकान्त मैनाली नाताले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाञ्जि ज्वाँई हुन् । मैनाली पनि श्रेष्ठ निकट मानिन्छन् ।

महानिर्देशक, महाप्रबन्धक, कर्पोरेटका कर्मचारीहरु र वकिललाई मोटो रकम खुवाएर मुद्दालाई आफ्नो पक्षमा पारी हालसम्म बिमानस्थलमा ब्रमलुट मच्चाईरहेका श्रेष्ठ पक्राउ परेसँगै अब भने विमानस्थलका भ्रष्ट कर्मचारीको कमाई खाने भाँडो नै बन्द हुने अवस्था सृजना भएको छ ।

स्वनिगा सर्भिसले बर्षको १० लाख मात्र भाडा तिरी र्‍यापिङको काम गर्दै आएको अवस्थामा श्रेष्ठको कम्पनीलाई हटाई बढि कबोल गर्ने साई किरणलाई ठेक्का दिएको खण्डमा एकातिर बिमानस्थलको राजस्व बृद्धि हुने देखिन्छ भने अर्कोतिर लुटतन्त्र मच्चाइरहेका श्रेष्ठमाथि कारबाही हुने देखिन्छ ।

भण्डारी र राउतले बुझ्छन् कमिसन

विवादास्पद ब्यापारी श्रेष्ठले चलाएको सिन्डिकेटका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र आन्तरिक र वाह्य पर्यटक तथा सेवाग्राहीहरू दिनदहाडै लुटिने गरेका छन् ।

अति संवेदनशिल क्षेत्र स्टराइल कक्षमा रहेका कफि सपमा उनले लुटतन्त्र मच्चाइरहेका छन् । शक्ति केन्द्रलाई रिझाएकै भरमा श्रेष्ठले ५०० प्रतिशत भन्दा बढि नाफा लिएर कफि, पेय पदार्थ, जंक फुडहरु विक्री गरी सेवाग्राहीहरुलाई लुटिरहेका छन् ।

जवकि सरकारी मापदण्ड अनुसार २० प्रतिशत भन्दा बढि नाफा लिन पाईंदैन । विमानस्थल सुधारका लागि तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले झण्डै एक वर्ष अघि नै १० बुँदे निर्देशन जारी गरेको भएपनि त्यसले श्रेष्ठलाई भने छोएन ।

श्रेष्ठको होटेल स्वनिगाको नामबाट अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल प्रस्थान कक्षमा सञ्चालित आधा दर्जन पसलमा संकलन हुने विदेशी मुद्रा अवैध तरिकाले मुलुक बाहिर तस्करी हुने गरेको उनी पक्राउ परेसँगै पुष्टि भएको छ ।

राजपाका नेता शरतसिंह भण्डारीले पर्यटनमन्त्री छँदा नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराई निर्जला राउत र श्रेष्ठको साझेदारीमा रहने गरी त्रिभुवन विमानस्थलको स्टराइल कक्षमा टि कफी सप सञ्चालन गर्न अनुमति दिलाएका थिए ।

सो वापत भण्डारीले आजसम्म पनि श्रेष्ठबाट अवैध रकम आर्जन गर्दै आइरहेको स्रोत बताउँछ । निर्जला भने भण्डारी निकट महिला हुन् । तर, सेवाग्राहिहरु भने ठगिएको ठगिएकै छन् ।

श्रेष्ठको नाममा रहेको ग्रिनतारा मिडिया ग्रुप मार्केटिङ प्रालिले ९ वर्षदेखि विमानस्थल परिसरभित्र रहेको गोल्डेन गेटदेखि अप्रेसन भवनसम्म २५ थान र इन्टरनेशनल टर्मिनल भवनदेखि डोमेस्टिक टर्मिनल भवनसम्म २५ थान विज्ञापनका होर्डिङ बोर्ड राख्न अनुमति पाएको छ । २०६६ भदौ २२ र २०६८ भदौ ११ मा दुई पटक गरी १० वर्षका लागि सम्झौता गरिएको थियो ।

सो सम्झौतामा उक्त होर्डिङ बोर्डका साथै विमानस्थल भित्रका उपर्युक्त क्षेत्रहरुमा ब्यूटिफिकेशन (गार्डेन बनाउने र साजसज्जा) कार्य गर्न सम्झौता भएको थियो । तर, एक दशक वित्न लाग्दा पनि श्रेष्ठले पैसा र शक्तिको आडमा कुनै पनि ब्यूटिफिकेशनको कार्य नगरी होर्डिङ बोर्डको मात्रै काम गर्दै आइरहेका छन् ।

एउटा होर्डिङ बोर्ड राख्दा बार्षिक ९ लाखसम्म असुल्ने श्रेष्ठले महानगरपालिकालाई तिर्नुपर्ने कर समेत बुझाएका छैनन् । तर, उनले बार्षिक रुपमा भण्डारी र राउतलाई भने कमिसन बुझाउँदै आएका छन् ।

स्रोतका अनुसार १० वर्षको अवधि सकिन लाग्दा श्रेष्ठले सम्झौता नविकरणका लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई प्रभावमा पार्न खोजेका छन् । गौतमको अवधि सकिन लागेको छ भने पुनः थप्नका लागि उनी चलखेलमा जुटेका छन् । Dainiknepal मा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!