गाउँ बनाउन फर्किएका जीतबाहादुरको सपना नाउराको भीरमा पोखियो

ब्रिटिस आर्मीबाट अवकास पाएपछि जीत पुन गाउँको विकासमा सक्रिय थिए । सडक सञ्जालको पहुँचभन्दा धेरै टाढा, विकास निर्माणमा पछाडी, शिक्षा, स्वास्थ्य सहित झोलुङ्गे पुलको अभावमा जोखिमपूर्ण यात्रा गर्न बाध्य धवलागिरी गाउँपालिका वडा नं ४ खिवाङ सहित आसपासका बस्तीमा पुनले धेरै पूर्वाधार विस्तारमा उनले अगुवाई गर्दथे ।

कादुरी नामक संस्थाबाट खिवाङ गाउँ झिलिमिली पार्ने, विद्यालयमा भौतिक पूर्वाधार निर्माण, झोलुङे पुल सहित थुप्रै काम गरेका थिए। अवकाशपछिको जीवनलाई गाउँकै सेवामा सर्मपित गर्ने योजना बुनेर जोखिमपूर्ण भिरपाखामा यात्रा गरिरहेका पुनको मुदीको नाउराको भिरबाट लडेर मृत्यु भएपछि पश्चिम म्याग्दीमा लक्षित आधादर्जन ठूला योजनाहरू अलपत्र परेका छन् ।

आफ्नै प्रयासमा मुदीको बगरस्थित तातोपानी कुण्डमा बनेको संरचनाको अवलोकन गरी गाउँ फर्किने बेलामा धौलागिरी चक्रिय पदमार्गको सबैभन्दा कठिन र अप्ठारो मानिने नाउराको भीरमा चिप्लिएर मृत्यु भएपछि सिंगो गाउँपालिका शोकमा डुवेको छ । ‘उहाँको निधनले गाउँपालिकाको विकास निर्माणमा ठूलो धक्का लागेका छ,‘ठूला योजनाहरूमा जनताको सहभागिता गराउने प्रयास अलपत्र परेका छन्’ गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले भने ।

गाउँपालिका भित्र बेलायतमा सक्रिय विभिन्न संघसंस्थाका योजनाहरुमार्फत स्थानीयको जनजीवनमा परिवर्तन ल्याउने,मुदीकै खिवाङको तल्लो क्षेत्रमा म्याग्दी खोलाबाट जलविद्युत आयोजना सञ्चालन गर्ने लगाएतका योजना सहित धौलागिरी पदमार्गका जोखिमपूर्ण स्थानमा मर्मत गरी आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउने योजना बनाएका थिए ।

अस्तब्यस्त तातोपानीमा पूर्वाधार बनाउन समेत पुनले खेलेको भूमिबाट स्थानीय उत्साहित थिए ।चन्दज्योती माविका ब्यवस्थापन समिति अध्यक्षको जिम्मेबारी सम्हालेका पुनले शिक्षासँगै गाउँमा सुन्तला र केराखेती समेत विस्तार गरेका थिए । खानेपनी योजना, गाउँका जनतालाई आयआर्जन लगाएत विभिन्न योजनाहरूमा सहभागिता गराउने प्रयासलार्ई स्थानीयले सम्झिएका छन् ।पुनको लडेर ज्यान गएपछि यूकेमा बस्ने म्याग्देलीले समेत शोक मन्तब्य जारी गरेका छन् ।

धौलागिरी नौमति बाजा समुहका अध्यक्ष बिल पुर्जाले यूकेका सामाजिक कार्यमा सक्रिय पुनको निधनको खवरले स्तब्ध भएको बताए । उनले समेत पुनको अगुवाईमा अगाडी ल्याइएको जलविद्युतमा प्रवासी आर्कषित भएको बताउँदै धेरै योजनाहरू अलपत्र पर्ने अवस्थामा रहेको बताए । बिहिबार पुनको अन्त्येष्टि गरिएको छ । पुनको अन्तेष्टिमा सहभागि हुन प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी सहित विभिन्न राजनीतिक दलका नेता तथा शुभचिन्तकहरु खिवाङ पुगेका थिए ।

बेनीअनलाईन बाट साभार

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!