सेवा गर्ने भनी शपथ खाएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जान नमान्ने ?

अत्तरिया – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गरिने चेतावनी दिनुभएको छ । जिल्ला समन्वय समिति कैलालीले आज आयोजना गरेको स्वागत तथा अन्तत्र्रिmया कार्यक्रममा उहाँले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जान नमान्नेलाई कारवाही गरिने बताउनुभयो ।

राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्ने भन्दै उहाँले कर्मचारीले गैरजिम्मेवार बन्न नहुनेमा जोड दिनुभयो । उहाँले कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने व्यवस्था रहेको उल्लेख गर्दै भन्नुभयो, “गुनासो सुनुवाइ समिति छ, जायज गुनासोमा सम्बोधन हुन्छ ।”

कर्मचारी समायोजनका कारण तीन वटै तहका सरकारका काममा केही अप्ठेरो परिरहेको जानकारी गराउँदै उहाँले एकअर्काको मर्म बुझेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले समायोजनको काम नसकिएसम्म भर्ना खोल्ने बाटो नखुल्ने भउकाले असारसम्म टुङ्ग्याउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पण्डितलाई कैलालीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले कामको चटारोको बेला कर्मचारी सरुवाले बजेट कार्यान्वयनमा बाधा पुगेको गुनासो गरेका थिए । यसैगरी आजै बिहान जिल्ला प्रशासन कार्यालयमा भएको एक कार्यक्रममा मन्त्री पण्डितले यहाँका कार्यालय प्रमुखहरुलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!