विप्लव नेकपालाई खाना खुवाएको आरोपमा सुत्केरी महिला पक्राउ

धनगढी । सरकारले प्रतिबन्ध लगाएको ‘विप्लव’ नेतृत्वको नेकपाको पूर्वकार्यकर्तालाई सघाएको आरोपमा प्रहरीले ४ महिने शिशुसहित एक महिलालाई पक्राउ गरेको छ ।हिरासतमा रहेका देवर रुपलाल देउकरबारे सोधपुछ गर्ने भन्दै सीता देउकरलाई बुधवार उनकै घर कैलालीको गोदावरी नगरपालिका–५ बाट बच्चासहित हिरासतमा राखेको परिवारिक स्रोतले जनाएको छ ।

सीताकी अर्का देवर पुरन देउकरका अनुसार रुपलालसँग देवर–भाउजुको नाता भएको र देवरलाई आफ्नो घरमा बस्न दिएकै कारण झुक्याएर हिरासतमा लिएको छ ।५ बच्चाकी आमा रहेकी सीतालाई प्रहरीले हिरासतमा राखेपछि उनका अरु ४ जना बच्चाहरूको बिचल्ली भएको पुरनले दुखेसो सुनाए । सीताका श्रीमान कामको शिलशिलामा भारतमा छन् । गत चैत ११ गते रुपलाललाई विप्लव कार्यकर्ता भन्दै प्रहरीले हिरासतमा लिएको थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का क्षेत्रीय संयोजक खडकराज जोशीले हिरासतमा उनलाई लिएकोबारे आफूहरूले पनि अनुसन्धान शुरू गरेको बताए । कसैसँग नाता भएकै कारण, घरमा बस्न दिएकै कारण, त्यो पनि दुधे बालकसहित हिरासतमा राख्नु प्रहरीको नियत गलत रहेको भन्दै सीतालाई हिरासतमुक्त गर्नुपर्ने संयोजक जोशीको भनाइ छ ।तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले सीतालाई अपराधीको मतियार भएको कारण नियन्त्रणमा लिएको दाबी गरे ।

-संकल्प न्यूजबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!