कक्षा आठको नतिजा : अधिकांश विद्यार्थी गणितमा कमजोर

भरतपुर । जग नै कमजोर भएपछि घर कसरी बलियो बन्नु ? यो विशेषता चितवनको शिक्षामा पनि देखियो । आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा आठलाई एसईईको जग मानिन्छ । कक्षा आठको नतिजा नै कमजोर आएपछि एसईई नतिजा कसरी राम्रो आउन सक्ला ? यही पिरलो यतिबेला छाएको छ ।

चितवनका स्थानीय सरकारले लिएको कक्षा आठको नतिजा सार्वजनिक गरिरहेका छन् । कक्षा आठको नतिजा दुर्बल देखिएको छ । अधिकांश विद्यार्थी गणितमा कमजोर देखिएका छन् ।

भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार कक्षा आठको नतिजा सार्वजनिक गरेको छ । खैरहनी नगरपालिकाले पनि नतिजा सार्वजनिक गरिसकेको छ ।

माडी नगरपालिका र राप्ती नगरपालिकाले पनि नतिजा सार्वजनिक गरिसकेका छन् । नतिजाअनुसार अधिकांश विद्यार्थी गणितमा कमजोर देखिएका छन् । औसतमा विद्यार्थीको एसईई जग नै दुर्बल देखिएको छ ।

भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले स्मार्ट सिटी भनिरहँदा शिक्षा पनि स्मार्ट हुनुपर्ने बताइन् । उनले भनिन्, ‘कमजोर नतिजालाई सुधार्दै लानुपर्ने अवस्था सिर्जना भएको देखिन्छ ।’

कक्षा ८ को भरतपुर महानगरको नतिजा सन्तोषजनक नभएको र धेरै सुधार गर्न आवश्यक भएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीले बताए । प्रवक्ता भण्डारीले भने, ‘जुन गणित विषय छ त्यसमा विद्यार्थी झन् चलाख हुनुपर्छ, तर धेरै यसैमा कमजोर देखिए ।’

भरतपुर महानगरमा कक्षा आठको नतिजाअनुसार औसत जीपीए २.८४ छ । सामुदायिक विद्यालयको औसत जीपीए २.४१ र संस्थागतको ३.१८ रहेको छ । यहाँका सामुदायिक ७० र संस्थागत ८१ गरी १५१ विद्यालयका ६ हजार ६६४ विद्यार्थी सहभागी थिए, जसमा पाँच हजार २६७ विद्यार्थीले मात्र कक्षा नौमा पढ्ने अवसर पाएका छन् ।

डी प्लसभन्दा कम ग्रेड ल्याएका एक हजार ३९७ विद्यार्थीहरुले ग्रेड वृद्धिको परीक्षा दिनुपर्ने भएको छ, जसमा एक हजार ३०८ विद्यार्थीले गणितको मात्र ग्रेड वृद्धिको परीक्षा दिनेछन् । ए प्लस ल्याउने विद्यार्थी महानगरमा जम्मा ६८७ जना छन् ।

आधारभूत तहको परीक्षा समितिका संयोजक तथा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले विद्यार्थीहरुमा पढ्ने बानी हराउँदै गएकाले नतिजा सोचेजस्तो नआएको बताए । उनले भने, ‘महानगरले शिक्षा क्षेत्रमा धेरै बजेट छुट्टयाउन पनि सकेको छैन, शिक्षक र विद्यार्थी दुवैले मेहनत गर्नुपर्ने अवस्था छ, सिकाइ वातावरण सुधार्न पर्नेछ ।’

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले आशलाग्दो नतिजा नआएको बताए । उनले भने, ‘एसईईको जग मानिने कक्षा ८ को नतिजा कमजोर देखियो ।’

उनका अनुसार सबैभन्दा कमजोर विद्यार्थी गणितमा छन् । उनले भने, ‘गणितपछि विज्ञानमा विद्यार्थी कमजोर देखिएका छन् ।’ ग्रेड वृद्धिको परीक्षा महानगरले वैशाख ६ गतेदेखि १४ गतेसम्म राखेको छ ।

को–को भए सर्वोत्कृष्ट ?

यसवर्षको कक्षा आठको महानगरस्तरीय परीक्षामा संस्थागततर्फ छात्राबाट पोलर स्टार आमाविकी परीक्षा पौडेल सर्वोत्कृष्ट भएकी छन् । उनले चार जीपीए ल्याउन सफल भएको शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत रूद्र शर्माले बताए ।

यस्तै, संस्थागततर्फ छात्रबाट वाल्मीकि शिक्षा सदनका सुविन अधिकारी सर्वोत्कृष्ट भएका छन् । उनले पनि ४ जीपीए ल्याएर महानगरमै सर्वोत्कृष्ट भएका परीक्षा समिति सदस्य सचिवसमेत रहेका शर्माले बताए ।

सामुदायिकतर्फ छात्रबाट नारायणी नमुना माविका रोशन भण्डारी र छात्रातर्फ नारायणीकै झरना लामिछाने महानगरमै सर्वोत्कृष्ट भएका छन् । रोशनले ३.९५ र झरनाले ३.९० जीपीए ल्याएका थिए । २४२ जना विद्यार्थी (जिल्लामा सबैभन्दा बढी) नारायणी नमुना माविबाट सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!