तीन म्यानपावरमा छापा, मन्सुरका संचालकलाई २४ घन्टे पुर्जी

मनोज पराजुली | वैशाख १९, काठमाडौं । बैदेशिक रोजगार विभागले एकै दिन तीन म्यानपावर कम्पनीमा छापा हानेको छ । विहिबार एएरपोर्ट स्थित म्यानपावर बजारमा रहेको मन्सुर म्यानपावर प्रा. लि , सामाखुसीमा रहेका बि.एस ओभरसिज प्रा. लि र स्किलजोन कन्सल्टेन्सी नेपाल प्रा. लि मा विभागले छापा हानेको हो ।

विभागमा डा. भीष्म कुमार भुसाल महानिर्देशकमा हाजिर भएपछि एकै दिन तीन म्यानपावरमा पहिलो पटक छापा हानिएको हो । मन्सुर म्यानपावरले सेसेल्समा पठाउने भन्दै प्रतिव्यक्ति ४० हजार देखि १ लाखसम्म अग्रिम रकम लिएर कामदारलाई ठगि गरिरहेको उजुरी परेपछि विभागले विहिबार म्यानपावरमा छापा हानेको हो । मन्सुर म्यानपावरले श्रम कार्यालय ताहाचलबाट युरोपको सेसेल्स डिमाण्डको पुर्व स्वीकृति नलिई विज्ञापन प्रकाशन गर्ने गरेको समेत पाइएको छ ।

मंगलबार सो म्यानपावरले ठगि गरिरहेको विषयमा साझा सबाल मिडियाले ‘मन्सुर म्यानपावरद्वारा ठगि, कारवाही गर्न विभागको आनाकानी’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो। सो पश्च्यात पीडितलाई न्याय दिलाउनै पर्ने दवाबमा परेको विभागले आज म्यानपावरमा छापा मारेर आवश्यक अनुसन्धान गरेको हो ।

विभाग टोली म्यानपावर कम्पनीमा पुग्दा कर्मचारी मात्र भेटिएका थिए । विहान कार्यालय गएका सो कम्पनीका संचालक सईम मन्सुर पीडितहरु तिरेको पैसा फिर्ता लिन कम्पनीमा आउन थालेपछि आवश्यक कागजात राख्ने आफ्नो कोठा बन्द गरि साँचो लिएर हिंडेको कर्मचारीले बताएका छन् । विभाग टोलीले पुर्व र अन्तिम स्वीकृतिका फाइल तथा पासपोर्टहरुको अध्ययन गरेको थियो । अनुसन्धानकै क्रममा ३० वटा पासपोर्ट लिएर एक जना एजेन्ट म्यानपावरका संचालक कुर्दै थिए । उनले प्रति पासपोर्ट २/३ हजार पाउने भएकोले आफूले म्यानपावरमा पासपोर्ट बुझाउन ल्याएको खुलाशा गरे ।

Source:sajhasabal

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!