रिना बस्नेत मृत्यु प्रकरण : अन्तिम रिपोर्ट प्राप्त

मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित डेरा बसेको घर मुनी गत वैशाख ७ गते शनिबार विहान मृत फेला परेकी २९ वर्षीय रुपा भनिने रिना बस्नेतको हत्या नभएको अहिलेसम्मको अनुसन्धानले पुष्टि गरेको छ । घटनाको अन्तिम पोस्टमार्टम रिपोर्ट सोमबार प्राप्त भएको छ । फरेन्सीक (विधि विज्ञान) ल्याब रिपोर्टसँगै प्राप्त भएको पोस्टमार्टमको अन्तिम रिपोर्टले उनको हत्या नभएको पुष्टि गरेको छ । शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।

मृत्युको घटनालाई जोडेर तीन जनासँग गरिएको पोलिग्राफ जाँचको अन्तिम रिपोर्ट पनि सोमबार प्राप्त भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । प्रहरीले रिनासँगको कनेक्सनका आधारमा ५० जनासँग सोधपुछ र अनुसन्धान पनि गरेको थियो । रिनाका प्रेमी भनिएका मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का कमल नेपाल, कमलकी पत्नी मनिता र रिना डेरा बस्ने फ्ल्याटमै बस्दै आएका मदन गुरागाईको पोलिग्राफ टेस्ट गरिएको थियो ।

पोलिग्राफ जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो या होइन भनेर छुट्याउन सहज हुने प्रहरीको भनाइ छ । पोलिग्राफ परीक्षणबाट तीनै जनाले प्रहरीसँगको बयानमा झुटो नबोलेको पुष्टि भएको छ । डीएसपी श्रेष्ठका अनुसार घटनाका विषयमा फरेन्सीकसँगै प्राप्त भएको पोस्टमार्टम र पोलिग्राफ परीक्षणको अन्तिम रिपोर्टले रिनाको हत्या नभएको देखाएको छ । उनका प्रेमी भनिएका नेपाललाई भने प्रहरीले पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । नेपाल अहिले पनि प्रहरी हिरासत मै छन् ।

रिपोर्टमा कुनै यौनजन्य क्रियाकलाप नभएको, मादक पदार्थ सेवन गरेको, करङ भाँचिएको, हतियार प्रहार नगरिएको, विष वा बेहोस बनाउने औषधि जन्य पदार्थको प्रयोग भएको नभेटिएको र टाउको तथा छात्तीको भित्री भागमा लागेको गम्भीर चोटका कारण रिनाको मृत्यु भएको उल्लेख गरिएको श्रेष्ठको भनाइ छ ।

रिनाको शव निर्वास्त्र अवस्थामा फेला परेको थियो । श्रीमान सन्तोश बस्नेत वैदेशिक रोजगारीमा थिए । उनी १४ वर्षीय छोरासँगै वीरबहादुर बस्नेतको घरको तीन तलामाथि डेरा भाडामा लिएर बस्दै आएकी थिइन । रिनाको बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै पथरी उद्योगी वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर गरिएको आन्दोलनका कारण पथरी बजार वैशाख ९ र १० गते तनावग्रस्त बनेको थियो । प्रहरीले २९ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यस क्रममा भएको झडपमा परेर ५ स्थानीय र ३ प्रहरी पनि घाइते भए । हत्या भन्दै आन्दोलन सुरु भएपछि परिवारका सदस्य र आफन्तले पनि शवको अत्येष्टी गर्न मानेका थिएनन् ।

घटनालाई उत्तेजित बनाउने, माहोल भड्काएर हिंसात्मक बनाउने, प्रहरीसँगको पुरानो रिसिईवी साँध्ने र आफ्नो व्यक्तिगत स्वार्थसँग जोडेर आन्दोलन भएको कुरा बुझेपछि रिनाका आफन्त र परिवारका सदस्य आन्दोलन गर्न उक्साउनेसँग रुष्ट बनेका थिए । त्यसपछि आन्दोलनमा रहेकाको आग्रहको बेवास्ता गर्दै परिवारका सदस्यले शवको अन्त्येष्टी गरेका थिए । अन्त्येष्टी गर्न पनि आन्दोलनको नेत्रृत्व गर्नेहरुले अवरोधको प्रयास गरेका थिए । आन्दोलनकै कारण मृत्यु भएको ९ दिनपछि वैशाख १५ गते मात्रै रिनाको अन्त्येष्टी गरिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि डेरा बसेको घरको तीन तला माथिबाट खसेर रिनाको मृत्यु भएको देखाएको थियो । ‘अहिलेसम्मको अनुसन्धान र सबै खाले रिपोर्टलाई जोडेर हेर्दा हत्या भएको देखिंदैन । घटनामा कोही कसैको संलग्नता रहेको पनि पाइएको छैन,’ मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने, ‘तीन तला माथिबाट झरेकाले लागेको गम्भीर चोटका कारण मृत्यु भएको कुरा पोस्टमार्टम र पोलिग्राफको अन्तिम रिपोर्टबाट पनि पुष्टि भएको छ । उद्यपी प्रहरीले अनुसन्धानको कामलाई भने निरन्तरता दिइरहेको छ ।’ उनले विभिन्न कोणबाट अनुसन्धान गर्दा र वरपर रहेका सिसी टिभीको फुटेजबाट पनि घटना भएको रात रिना बसेको ठाउँमा कोही पुगेको नदेखिएको बताए ।

फेसबुक लगायतका सामाजिक सञ्जाल र रिनाले प्रयोग गर्ने मोबाइलका बारेमा पनि अनुसन्धान गर्दा घटनामा कोही कसैको संलग्नता नदेखिएको एसपी केसीको भनाइ छ । रिनासँगको कनेक्सन खोतलेर प्राविधिक हिसावको अनुसन्धानलाई जारी राखिएको जानकारी दिंदै उनले भने, ‘घर माथिबाट आफै खसेको हो वा आत्महत्या गरेको हो भन्ने बारेमा अनुसन्धान केन्द्रीत छ ।’ केसीका अनुसार अहिलेसम्मको अनुसन्धानले कोही कसैले घरमाथिबाट खसाएको पनि देखिंदैन । घटनासँग जोडेर गर्नु पर्ने अनुसन्धानमा प्रहरी गम्भीरु भएर लागिरहेको जानकारी उनले दिए ।

महिलाको मृत्यु जस्तो संवेदनशील विषयलाई हत्या भनेर अनर्गल प्रचार गर्ने यूट्युबर र दर्ता बिनाका अनलाइन सञ्चालकमाथि अनुसन्धान पनि प्रहरीले जारी राखिएको जनाएको छ । केसीले भने, ‘सबैतिरको प्रमाण जुटाइसकेपछि त्यस्ता ट्युबर र दर्ता बिनाका अनलाइनमाथि कारवाही अघि बढाइने छ ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!