प्रदेश १ का एक पटक घुम्नैपर्ने पर्यटकीय स्थलहरू

विराटनगर । प्रदेश नम्बर १ का धार्मिक तथा पर्यटकीय स्थलबारे धेरैलाई थाहा नहुन सक्छ । वास्तवमा प्रदेश १ मा पर्यटन प्रवद्र्धनको अथाह सम्भावना छ । विराटनगरबाट पूर्वका पर्यटकीय स्थल पुग्न पछिल्लो समय खासै गाह्रो छैन । यस क्षेत्रका व्यवसायी, प्रदेश सरकार र स्थानीय तहले पर्यटन विकासका लागि प्याकेज बनाएर जान सके प्रदेशले मुलुकमै सबैभन्दा बढी पर्यटक भित्र्याउन सक्छ । इलाम, धनकुटा लगायत पहाडी जिल्ला कृषि पर्यटनमा अगाडि छन् भने ताप्लेजङ, सुनसरी, खोटाङ लगायत जिल्ला धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । तेह्रथुम, संखुवासभा, मोरङ लगायत जिल्ला जैविक विविधतामा धनी छन् ।

कोशीटप्पु
कोशीटप्पु विराटनगरबाट ५० किलोमिटर पश्चिममा पर्छ । कोशीटप्पुलाई चराको स्वर्ग पनि भनिन्छ । कोशीटप्पुमा ५२७ प्रजातिका चरा पाइन्छन् । विश्वमै दुर्लभ मानिने चराहरूको वासस्थान पनि कोशीटप्पु हो । कोशीटप्पुलाई अर्नाको राजधानी पनि भनिन्छ । कोशीटप्पुमा विश्वमै दुर्लभ मानिने बबुलिस जातको अर्ना पाइन्छ । अहिले कोशीटप्पुमा ४४१ ओटा अर्ना छन् । कोशीटप्पुमा होमस्टे, रिसोर्ट र होटलहरू छन् ।

वराह क्षेत्र
कोका नदी र कोशी नदीको संगमस्थल सुनसरीको वराहक्षेत्र नगरपालिकामा पर्ने यो धार्मिक स्थल पूर्वकै सबैभन्दा पुरानो मानिन्छ । यहा“ इन्द्र, वराह, कोकाह, सूर्य, बद्री, मुक्तेश्वर लगायतका १० ओटा मन्दिर छन् ।

विजयपुर
धरान नगरपालिकामा पर्ने विजयपुर क्षेत्र धार्मिक दृष्टिकोणले महŒवपूर्ण मानिन्छ । यहाँ रहेका बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या लगायत मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्छ । यातायातको राम्रो पहँुच भएको र बजार क्षेत्र आसपासमा भएकाले यस क्षेत्रको यात्रा सुलभ मानिन्छ ।

भेडेटार
भेडेटार पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार मानिन्छ । सुमद्री सतहबाट १ हजार ४२० मिटर उचाइमा रहेको भेडेटार बजार धरानबाट १६ किलोमिटर उत्तरमा अवस्थित छ । छिनमै कुहिरो लाग्ने छिनमै घाम लाग्ने भेडेटार पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

गुफापोखरी
धनकुटाबाट करीब ५० किलोमिटर कालोपत्र सडक छिचोलेपछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । त्यहा“बाट उत्तर देउरालीसम्मको ५ किमी कच्ची सडकको यात्रापछि करीब ५ घण्टा गुराँसे वनको अवलोकन गर्दै पैदल यात्रा गरेपछि गुफापोखरी पुगिन्छ । मूलतः यहा“ विभिन्न प्रजातिका गुराँस तथा अन्य जैविक विविधता अवलोकन गर्न जानेहरू हुन्छन् । संखुवासभाको नुनढाकी–९ मा गरेको गुफापोखरी समुद्री सतहबाट २ हजार ८९० मिटर उचाइमा पर्छ ।

तिनजुरे मिल्के जलजले
विराटनगरबाट उत्तरतर्फ धरान हुँदै १३० किलोमिटर यात्रापछि तेह्रथुमको वसन्तपुर बजार पुगीन्छ । यो बजारको शिरमा अवस्थित यो क्षेत्रको भ्रमणका लागि पैदल यात्रा तय गर्नुपर्छ ।

तिनजुरे, पाँचपोखरी, चौकी, मंगलवारे, गुफाबजार, मिल्के डा“डासम्मको पैदलयात्रा गर्नु रमाइलो मानिन्छ । यहा“ आएका पर्यटकका लागि वसन्तपुर, टुटेदेउराली, पाँचपोखरी, चौकी, मंगलवारे र गुफाबजारमा वास बस्न र खानाका लागि होटलको व्यवस्था छ । वसन्तपुर, चौकी र गुफा बजारमा प्रहरी चौकी रहेकाले सुरक्षाको समेत राम्रो प्रबन्ध छ ।

ह्यातुङ झरना
साविक सम्दु र ईसिवु गाविसबीचमा रहेको यो झरना नेपालकै सबैभन्दा लामो मानिन्छ । यो झरनासम्म पुग्न धरानबाट वसन्तपुर हँुदै तेह्रथुमको सदरमुकाम म्याङलुङबाट १ दिनको पैदल हिँड्नुपर्छ । सदरमुकामबाट त्यहा“सम्म पुग्न हाल धुले सडक बनेको भए पनि सवारीसाधन चलिनसकेकाले पैदल यात्रा नै गर्नुपर्छ । यो झरनाको माथिबाट पानी खस्दा सप्तरंगी इन्दे्रणीको रमणीय दृश्य देखिन्छ ।

हलेसी महादेव
पूर्वकै प्रसिद्ध धार्मिकस्थलको रूपमा चिनिएको हलेसी महादेवको मन्दिर खोटाङमा पर्छ । हिन्दू, बौद्ध तथा किरा“तहरूको आस्थाको केन्द्रको रूपमा रहेको छ यो मन्दिर । बालाचतुर्दशी, रामनवमी र शिवरात्रिमा यहाँ ठूलो मेला लाग्छ । जिल्ला सदरमुकाम दिक्तेलदेखि ४० किलोमिटर पश्चिममा रहेको यो मन्दिर पुग्न सवारीसाधनको सुविधा छ । उदयपुरको कटारीबाट घुर्मीसम्म बस चल्छन् । त्यहाँबाट सुनकोशी हुँदै पैदल यात्रा गरेर हलेसी महोदेव पुग्न सकिन्छ ।

केचनाकलन
केचनाकलन नेपालको सबैभन्दा होचो स्थल हो । झापाको साविक केचना गाविस–३ मा यो स्थान पर्छ । जिससको तथ्यांक अनुसार समुद्री सतहबाट केचना ५८ मिटरको उचाइमा रहेको छ । यहा“ पुग्न विराटनगरबाट १२३ किलोमिटर यात्रा गर्नुपर्छ ।

किचकवध
महाभारत कालमा भीमले किचक वध गरेको ठाउँ, पुरातत्त्वको उत्खननका लागि प्रमुख स्थलको रूपमा रहेको किचकवध झापाको पृथ्वीनगरमा पर्छ । किंवदन्ती अनुसार महारभारत कालमा पाण्डवहरू द्रौपदी सहित गुप्तवास बसेका बेला किचक भन्ने राक्षसले द्रौपदीलाई व्यभिचारी दृष्टि लगायो । यो कुरा भीमसेनले थाहा पाएपछि द्रौपदीको वेशमा किचकलाई पर्खिएर बसेका भीमसेनले त्यहीँ वध गरे ।

सन्दकपुर
उत्तरी सीमावर्ती सन्दकपुर क्षेत्र पर्यटकीय पूर्वाञ्चलकै प्रमुख गन्तव्यको सम्भावित ठाउँ हो । सदरमुकाम इलामबाट माईपोखरी माइमझुवा हुँदै गोरुआलेबाट सन्दकपुर पुग्न सकिन्छ । त्यस्तै माबुवाट कालपोखरी हुँदै सन्दकपुर नजिकको बिखे भञ्ज्याङसम्म मोटर चढेर पनि सन्दकपुर पुग्न सकिन्छ । सदरमुकामबाट सन्दकपुरको दूरी करीब ५० किलोमिटर छ । त्यहा“ नेपालतर्फ व्यवस्थित दुईअ‍ेटा होटल छन् भने भारततर्फ सरकारी आवास गृह पाइन्छ ।

माईपोखरी
इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरमा माइपोखरी अवस्थित छ । माइपोखरीमा रैथाने गलैंचे झ्याउ, रूख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छ । यस्तै ३०० भन्दा बढी प्रजातका चरा पाइने विज्ञहरू बताउँछन् । २ हजार १२१ मिटरको उचाइमा रहेको माईपोखरीमा दुई हेक्टर जलाशय सहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको छ । माईपोखरीमा होटलहरू खुलेका छन् । १ किलोमिटर टाढाको देउराली बजार पुगेर होटलमा बस्न सकिन्छ ।

कन्याम
चियाको पर्याय बनेको कन्याम भनभोज स्थलका लागि चर्चित छ । असोजदेखि वैशाखसम्म वनभोजका लागि मानिसहरू कन्याम आउने गर्छन् । कन्याममा सिजनमा शनिवार मात्र २०० भन्दा धेरै गाडीमा वनभोज टोली आउने गरेका छन् । मेची राजमार्गले चिरेको कन्याम चिया बगान फिक्कलभन्दा १० किलोमिटर नजीक पर्छ । खान–बस्नका लागि नजिकैको फिक्कल बजारमा होटल र लज पाइन्छ ।

सिद्धिथुम्का
पश्चिमी सिद्धिथुम्कावासी गत वर्षदेखि महोत्सव सञ्चालन गरेर पर्यटन विकासमा लागेका छन् । सदरमुकाम इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डा“डा सूर्याेदय र सूर्यास्त तथा हिमशृंखला तराईका फाँटलगायतको दृश्यावलोकन गर्न अब्बल छ ।

गजुरमुखी
पश्चिमी गजुरमुखी धार्मिक आस्थाका कारण महत्त्वपूर्ण मानिन्छ । सदरमुकामबाट २१ माइल दूरीमा यो स्थान रहेको छ । मेची राजमार्गको नेपालटारबाट मंगलवारे हुँदै कच्ची सडकबाट गजुरमुखी पुग्न सकिन्छ । स्थानीयको चासोअनुसार नै पर्यटन उपसमिति मार्फत पूर्वाधार विकास, होटल व्यवस्थापनजस्ता क्षेत्रमा ५० लाख रुपैयाँको प्याकेज कार्यान्वयन भएको छ ।

पाथीभरा
पूर्वाञ्चलकै प्रसिद्ध तीर्थस्थल पाथीभरा ३ हजार ३७४ मिटर उचाइमा छ । सुकेटार विमानस्थलबाट १९ दशमलव २ किलोमिटरको दूरीमा रहेको पाथीभरा सदरमुकाम फुङलिङ बाट २७ किलोमिटर टाढा पर्छ । विराटनगरबाट सुकेटारसम्म पुग्न २ दिनको यात्रा तय गर्नुपर्ने हुन्छ । विराटनगरबाट इटहरी–बिर्तामोड हुँदै ताप्लेजुङ पुग्न ३४३ किलोमिटर यात्रा गर्नुपर्छ ।-आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!