सशस्त्र प्रहरी बलले सर्वसाधारणमाथि निर्घात कुटपिट, कारबाहीको तयारी

१७ चैत, सप्तरी । लकडाउन उल्लंघन गरेको आरोपमा सशस्त्र प्रहरी बलले सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा कुटपिट गरेका हुन् ।

घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा कुटपिटमा भएको पीडित युवाले बताए । दुबैलाई भुइँमा घोप्टो पारेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कुटपिट गर्ने कर्मचारी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका थिए । घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले बताए ।

सशस्त्र प्रहरीले छानविन थाल्यो

घटनाबारे प्रश्न उठेपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानविन थालेको छ । सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले अनुसन्धान थालिएको अनलाइनखबरलाई बताए ।

उनले भने, ‘छानविन सुरु भएको छ, घटनामा संलग्न कर्मचारीमाथि विभागीय कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!