सरकारको तलबले जुत्तासमेत किन्‍न पुग्दैन, विभेदको चपेटामा राष्ट्रिय महिला खेलाडी

काडमाडौं- खेलाडी बन्छु भन्ने जो-कोहीको सपना हुन्छ, छातीमा चन्द्रसूर्य र सगरमाथा अंकित जर्सी लगाएर एक न एकदिन राष्ट्रिय टिमका लागि फुटबल खेल्ने। चाहे ऊ महिला होस् या पुरुष, उसले देशको लागि उपाधि जित्ने सपना देख्न कहिल्यै छाड्दैन। उसले आफ्नो व्यक्तिगत इच्छा आकंक्षालाई तिलाञ्जली दिँदै मैदानमा रगत पसिना बगाँउदै त्यो उपाधिको लागि सधैं लडिरहन्छ। देशका लागि फुटबल खेल्छु भन्ने सपना बोकेकाहरु यहाँ कति छ्न कति? देशका लागि खेलिसकेकाहरु पनि धेरै छन् र देशका लागि खेलिरहेकाहरु पनि।

देशको नाममा उपाधि जित्नुलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सपना बनाएर खेल्ने खेलाडीलाई आखिर देशले चाहिँ के दिन्छ भन्ने प्रश्न गम्भीर भएर आउँछ। पछिल्लो समय नेपाली खेल क्षेत्रमा धेरै खेलाडी पलायन हुनुको सबैभन्दा ठूलो कारण राज्यले खेलाडीलाई गर्ने व्यवहार र सम्मान उचित नहुनु भन्ने हो। आफूहरुले गरेको मेहनतको उचित कदर नभएको उनीहरुको भनाइ छ।

केहि दिनअघि राष्ट्रिय टिमका लागि खेलिसकेका चर्चित खेलाडी हेमन गुरुङले राज्यले खेलाडीलाई कहिल्यै पनि खेलाडीको रुपमा व्यवहार नगरेको आरोप लगाएका थिए। उनले फुटबल खेलाडीले फुटबल खेल्नुभन्दा बाहेक फुटबल क्षेत्रमा भएको बेथिति र विसंगतिविरुद्ध बोल्न थालियो भने राष्ट्रिय टिममा नपारिने सम्मको हर्कत राज्यस्तरबाटै हुने गरेको बताए। उनका अनुसार नेपाली फुटबलमा नातावाद, कृपावाद र हजुरियावाद हाबी भइरहेको छ।

नेपाली महिला राष्ट्रिय टिमका खेलाडीका कुरा सुन्ने हो भने यस्तो लाग्छ कि भर्खर-भर्खर बिजारोपन भइरहेको महिला फुटबल गर्भमै मर्ने अवस्थामा छ। किनभने महिला फुटबलका लागि न कुनै प्रोत्साहनका कार्यक्रम छ, न कुनै संरक्षण नै। न खलाडीलाई उचित सेवा सुविधा नै दिइएको छ। महिला राष्ट्रिय टिमका खेलाडीका तलबको कुरा सुन्ने हो भने फुटबललाई पेसा बनाएर देशको लागि खेल्छु भन्ने महिला खेलाडीहरुलाई जोडको झट्का लाग्न सक्छ। नेपाली महिला फुटबलका गोल मेसिनका रुपमा परिचित साबित्रा भण्डारी ‘साम्बा’का अनुसार खेलाडीको तलबमात्रै ७ हजार रुपैयाँ रहेको छ।

उनलाई ७ हजारको तलबमा पनि चित्त दुखाइ छैन। किनभने उनी राष्ट्रिय टिमको जर्सी लगाएर राष्ट्रका लागि फुटबल खेल्ने आफ्नो सपना पूरा गर्न पाउनुमै खुसी छिन्। साम्बा भन्छिन, ‘सरकारले दिने तलबले केही गर्न पुग्दैन। म विभागीय टिममा भएकाले पनि मलाई त्यति गाह्रो छैन। तर जिल्ला र प्रदेशबाट राष्ट्रिय टिममा परेकाहरुलाई एकदम गाह्रो हुन्छ। यति पैसाले उनीहरुलाई केही गर्न पुग्दैन।’ हुन पनि १० हजारभन्दा कम भाडाको कोठा पाउन छाडेको काठ्माडौंमा ७ हजारले के पुग्छ के पुग्दैन सजिलै अनुमान लगाउन सकिन्छ।

पुरुषले खेल्ने मैदान १ सय २० मिटर लामो महिलाले खेल्ने मैदान ६० मिटरमात्रै लामो अनि पुरुषले खेल्ने फुटबल ९० मिनेट समयको तर महिलाले खेल्ने फुटबल ४५ मिनेट समयको मात्रै कतै देखिएको छैन र सुनिएको छैन। अनि यी विभेद्चाहिँ के का लागि?

थोरै तलब भए पनि साम्बाले फुटबलबाट टाढा हुने कहिल्यै सोचिनन्। सधैं देशको लागि खेल्छु, देशको नाम राख्न खेल्छु भन्ने संकल्प गरिरहिन्। बरु उनको चित्त दुखाइ यति थोरै तलबमा पनि विभेद भएको कुरामा छ। उनका अनुसार पुरुष राष्ट्रिय खेलाडीले मासिक १५ हजार तलब पाउँछन्। महिला खेलाडी र पुरुष खेलाडीमा यति धेरै विभेद उनलाइ पटक्कै मन परेको छैन। उनी भन्छिन्, ‘आखिर महिलाले पनि पुरुषले जस्तै देशकै लागि खेल्ने हो। महिलाले जित्दा पनि पुरुषले जित्दा पनि देशकै लागि जित्ने हो। तर, राज्यले दिने आधारभूत कुरामा विभेद हुँदा मन दुख्छ।’ पछिल्लो समय पुरुष फुटबलले भन्दा पनि महिला फुटबलले पोजिटिभ रिजल्ट दिइरहेको उनले बताइन्। यसको पनि मूल्यांकन हुनुपर्ने उनको भनाइ छ।

देशका लागि फुटबल खेल्छु भनेर सपना देखेर अघि बढ्ने नयाँ पुस्ताले यी कुरा थाहा पाउँदा पक्कै विचलित हुने उनी सुनाउँछिन्। तर राज्यले दिने तलबभन्दा देशको नाम र इज्जत सोचेर खेल क्षेत्रमा आउनुपर्ने उनको सुझाव छ। फुटबलका कुनै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिने क्रममा प्रशिक्षण क्याम्पदेखि प्रतियोगिताभरिको भत्ता करिब ३० देखि ३५ हजारसम्म आउने उनले बताइन्। ‘त्यसबेला केही राहत महसुस हुन्छ,’ उनले भनिन्।

राष्ट्रिय टोलीबाट सन् २०१८ मै सन्यास लिइसकेकी अनु लामाको पनि अनुभव उस्तै छ। उनले खेल्ने बेलामा त झन् मासिक तलब ५ हजारमात्रै थियो। त्यसबेला त्रैमासिक तलब आँउथ्यो। तीन महिनामा एकमुष्ट तलब लिँदा उनलाई अलि धेरै पैसा आएको अनुभव हुन्थ्यो। त्यसरी आएको पैसाले कहीँ कतै खर्च गर्न पुग्थ्यो। उनी भन्छिन्, ‘हामी खेलाडीले लगाउने फुटबल जुत्ता नै ७ हजारदेखि १२ हजारसम्म पर्छ। सरकारले दिएको तलबले एक जोर जुत्ता किन्न नि पुग्दैनथ्यो।’ प्रशिक्षणका दौरान एक जोर जुत्ता तीन महिना पनि नटिक्ने उनको भनाइ छ।

सन् २०१४ मा टिम क्याप्टेन भएपछि उनले महिला टिमको पारिश्रमिक बढाउन पटक-पटक आवाज उठाएको दाबी गरिन्। उनले महिला टिमको तलब पुरुष टिम बराबर हुनुपर्ने माग राख्दै आएकी थिइन्। उनको आवाज न कसैले सुने, न सुनुवाइ नै भयो। तर पछि एन्फाको नयाँ कार्यसमिति आएपछि महिला टिमको तलब ५ हजारबाट ७ हजार पुर्‍याइएको थियो। अनुका अनुसार पुरुष र महिला टिममा धेरै विभेद हुने गर्थ्यो।

उनी सम्झिन्छन्,’महिलाहरुले लगाउने ट्र्याकसुट, मोजा र जर्सीहरु साधारण खालको हुन्थ्यो। पुरुषहरुको चाहिँ ब्रान्डेड हुन्थ्यो।´ आफू कप्तानी हुँदा यसको धेरै विरोध गरेपछि महिला खेलाडीलाई पनि ब्रान्डेड ट्याग झुन्ड्याइएको ट्र्याक र जर्सी आउन थालेको उनले बताइन्। तर, उनलाई थाहा थिएन त्यो ‘ओरिजिनल ब्रान्डेड’ थियो कि थिएन भनेर।

अनुका अनुसार राज्यका तर्फबाट हुने प्रतियोगिताहरुमा पनि ठूलो विभेद छ। उनी भन्छिन्` पुरुषको ए डिभिजन लिगको पुरस्कार राशि ७५ लाखदेखि करोडौंसम्मको हुन्छ। महिला लिगको पुरस्कार १२/१५ लाखमात्रै हुन्छ।’ महिला फुटबल लिगमात्रै औपचारिकता निभाउनका लागि हुने उनको बुझाइ छ। पुरुष लिगमा विभिन्न उत्कृष्ट विधामा मोटरसाइकल पुरस्कार दिने तर महिला लिगमा उत्कृष्ट विधामा ८/१० हजार नगद दिएर टार्ने प्रवृत्तिप्रति उनको चित्त दुखाइ छ। मैदानमा सकरात्मक नतिजा आउनका लागि खेलाडीलाई आवश्यक पर्ने आधारभूत आवश्यकता राज्यले पूरा गर्नुपर्ने आवाज उठाउँदा उठाउँदा आफूहरु वाक्क भइसकेको उनी बताउँछिन्।

महिला फुटबल खेलाडीका लागि पुरुषसरह तलब भत्ता र सुविधाको माग गर्दै गतवर्ष संयुक्त राज्य अमेरिकामा आन्दोलन नै भएको थियो। यो आन्दोलनले संसारभरि मुर्त रुप लिरहेको छ। आफूहरुले चारपटक विश्वकप जितिसकेको तर पुरुष टिमले हालसम्म विश्वकपमा गतिलो उपस्थिति पनि जनाउन नसकेको र पुरुष खेलाडीकै तलब बढी भएको भन्दै अमेरिकी महिला खेलाडीहरुले आन्दोलन थालेका थिए। यस आन्दोलनलाई धेरै देशका महिला फुटबल खेलाडीहरुले अनुशरण गरिरहेका छन्। आफ्नो देशमा आन्दोलन सुरु हुनुभन्दा पहिले नै ब्राजिल, इङ्ल्यान्ड, स्विडेनलगायताका देशहरुले राष्ट्रिय टिमका महिला र पुरुष खेलाडीको तलब बराबरी गर्ने घोषणा गरिसकेका छन्।

एक त थोरै तलब त्यसमाथि महिला खेलाडीलाई पुरुषको तुलनामा दोब्बरभन्दा पनि कम तलब रहेको हाम्रो देशमा राज्यस्तरबाटै भइरहेको यस्तो विभेद्ले सरकारको समानता र समावेशीको नारा कति सफल भइरहेको छ भनेर अनुमान लगाउन सकिन्छ।

सरकारले यो विभेद्लाई वास्तवमै नदेखेको हो वा देखेर पनि बेवास्ता गरेको हो? पुरुषले कुनै उपाधिका लागि खेल्छन् भने महिलाले पनि उपाधिकै लागि खेल्छन्। पुरुषले खेल्ने मैदान १ सय २० मिटर लामो महिलाले खेल्ने मैदान ६० मिटरमात्रै लामो अनि पुरुषले खेल्ने फुटबल ९० मिनेट समयको तर महिलाले खेल्ने फुटबल ४५ मिनेट समयको मात्रै कतै देखिएको छैन र सुनिएको छैन। अनि यी विभेद्चाहिँ के का लागि?

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!