म्यानचेस्टर युनाइटेडको शानदार जित

मंसिर ३ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्शल, क्रिस स्मलिङ, पउल पोग्बा र रामेलु लुकाकुले गोल गरे । न्युक्यासल युनाइटेडका लागि ड्वाइट गेलले एक गोल गरे । १४ औं मिनेटमा गेलले न्युक्यासलका लागि गोल गरेपछि म्यानचेस्टर युनाइटेड १–० ले पछि परेको थियो । तर त्यसपछि भने मोरिन्होको टिमले गोल गर्न थाल्यो । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल भयो । ३७ औं मिनेटमा मार्शलले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा स्मोलिङले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा २–१ ले अघि रहेको म्यानचेस्टरका लागि ५४ औं मिनेटमा पोग्बाले गोल गरे । यस्तै ७० औं मिनेटमा लुकाकुले गोल गरेपछि युनाइटेडले ४–१ को जित निश्चित गरेको हो । यो खेलमा म्यानचेस्टर युनाइटेड जाल्टन इब्राहिमोविचसहित मैदानमा उत्रिएको थियो । जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १२ खेलबाट २६ अंक भएको छ । उ शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले पछि रहेको छ । Source: Ujyaalo Online

प्रतिक्रिया दिनुहोस्