देश डुब्न थालेको धेरै भइसक्यो, उदाहरण चाहियो भने विमानस्थमा गएर हेरे हुन्छ !

मुलुकको प्राथमिकता र प्रमुख नेताहरुको अभिव्यक्तिहरु सुन्दा हाँस्न पनि दिक्क लाग्ने भैसक्यो । जनताको भोट र अति भ्यालुबेल समय मजाकमा उडाएको देखर ३/४ कक्षामा पढ्ने गुच्चा खेल्ने उमेरका फुच्चाहरु पनि हाम्रा नेताहरुलाई बच्चा जस्ता लाग्न थालेका छन् ।

आफ्नै पार्टी भित्रका नेताहरुबीच चकलेट खान नपाएर जसरी रुनाधोना सुनाउनुले प्रष्ट पार्छ कि यहाँ चिन्ता मुलुकको छैन, आफ्नै छ । आन्तरिक कलहमा भएका कुनै पनि दल र नेताले मुलुकको प्राथमीकता छ्ट्याउन सक्दैनन् । राजनीतिक दल भित्रका गुट उपगुट र तिनको द्धन्दको सानो उदाहरण दिन ४ जनाको नाम लिन चाहान्छु ।

केपी ओली, माधन नेपाल, शेर बहादुर देउवा, रामचन्द्र पौडेल । यी नेताहरु लाई एकै ठाँउमा देख्नु भो भने कुम्भेश्वरको मेलामा छुट्टिएर १२ वर्षपछि मिलेका दाजुभाई जस्ता देखिन्छन् । ङिच्च हाँस्ने, हात मिलाउने गला मिलाउने । तर यिनको मनमा एक अर्काप्रतिको भाव जस्ताको जस्तै सबै सामु राखिदिने हो भने बिष बमन मात्र होइन, अचेलका सिनेमाको विच विचको टुइट् टुइटनै हाल्नु पर्ने गरी कटाक्ष चल्दै छ ।

माधन नेपाल र केपी ओलीका विचको कटाक्ष र वाकयुद्ध कुन विकास आयोजनाको लागि भनेर नखोज्नुहोला । उनिहरु विचको मनमुटाव कहाँ कहाँ कति वटा उद्योग कल कारखाना, खोल्ने कति हजार लाई रोजगारी दिने भन्ने बिषयमा हुँदै होइन । कोही भ्रममा नपरे हुन्छ ।

२ तिहाई बहुमतको सरकारले चाह्यो भने गर्न नसकिने केही छैन तर कहाँ कसलाई कुन पदको भाग बण्डा मिलाएको छैन र देखाउनलाई देश डुब्न लाग्यो रे । आँफु पदमा नहुँदा सबैले देख्ने नै यहि हो । देश डुब्न थालेको धेरै बर्ष भैसक्यो । एउटा उदाहरण चाहिए देशको विमानस्थमा गएर हेरे हुन्छ ।

प्रत्यक दिन देशका होनाहार युवाहरु १००० भन्दा माथिको संख्यामा विदेश जान्छन् । देश डुबेको कति बर्ष भो, देख्नु भएको छैन ? मालपोतको हाकिमको मिलेमतोमा भरिसकेका मानिसको नक्कली ल्याप्चे लगाएर जग्गा हडपिन्छ, देश डुबेको होइन यो ?
एउटा गतिलो एयरर्पोट, हाइवे, फ्लाइ ओभर, सुरुङ मार्ग रेल वे, केही केही बनाउन नसक्दा देश डुबेको थाहा पाउनु भएन । देशका डाक्टर, इन्जिनियर, वकिल, प्रशासक, वैज्ञानिक, प्रोफेसर, कवि, कलाकार, सबका सब आफ्नो र आफ्नो सन्तानको भविष्य नदेखेर गच्छे अनुसारको देश तिर पर्मानेन्टली मुभ भैसके देश डुबेको आज देख्नुभो ?

नयाँ टे«न्डीङ बारे पनि सुँन्नुहोस् । आज भोली धेरै प्रतिष्ठित मानिसहरु आफ्नी गर्ववती श्रीमती बोकेर, युरोप अमेरिका तिर लागेका छन् । उतै जन्मेका सन्तान उतैका नागरिक हुन्छन् । देश चुर्लम्मै डुबेका अरु कति वटा कुन कुन बिषयका उदाहरण कति बेरसम्म दिउँ ?
पार्टी भित्रैको आन्तरिक झगडा, गुट उपगुट बाट माथि आउन नसक्नेहरु कसैले पनि देशको चिन्ता नगरे हुन्छ । त्यस्ता नक्कली चिन्ता आफ्नै गुटका भक्तहरुले पत्याउलान जनताले पत्याउँदेनन् । सेम हालतमा छन् शेरबहादुर देउवा र रामचन्द्र पौडेल ।

यिनका अनुहार पनि अटाई नअटाई देशका चिन्ता देख्न सक्नु हुन्छ । देश खत्तम भो, बर्बाद भो भनेर मात्रै सरहरुले अनुहारमा १७ वटा मुजा परिसक्यो । तर भन्ने बेलामा देशको चिन्ता भित्रै भित्र एक अर्काको कटाक्ष ।

मुलुकको सर्वोपरी हित चिताउने नेताले व्यक्तिको, घटनाको चियो चर्चा गर्दैन, केवल, आइडियामा हेल्दी डिस्कर्स गर्छ । देश र जनताको बास्तविक समस्यालाई फ्लाइङ किक हानेर आफ्नो पद र आफ्नो गुट चलाउन चाहने यो जेनेरेशनका सबका सब नेताहरुले यो देश डुवाएरै छाड्ने कसम खाइसकेको जस्तो देखिन्छ ।

नत्र आफ्नै चित्त बुझाउन नपाएर, गन गन गन गन गर्ने रुन्चे सिगाने वच्चा जस्ता नेताहरुले जनताको चित्त कहिले बुझाउलान् ? यि चारै जना नेताहरु वृद्ध भत्ता खाने उमेरका भैसके । दर्जनौ विकसित देश दशकौ अगाडि देखि आफ्नो खल्तीको एक सुका खर्च नगरी घुम्नु भएको छ ।

अर्काको देशको एयरर्पोट, बाटा, भवन, सुरुङ, रेल र समग्रमा सिस्टम देखेर आएका बाहरु, बच्चाहरुले झै लड्दैछन् । एउटै पार्टी भित्र बसेर, एउटै सिद्धान्त ओढेर, एउटै छत मुनी बसेर, एउटै झण्डा बोकेर । हो यस कारणले चाँही देश डुब्नै लाग्यो, लौन कोही बचाइदेउ ।  – News24 Nepal

प्रतिक्रिया दिनुहोस्