३० वर्ष भो कुरेको, जग्गा कहिले दिन्छौ ?

अक्षर काका / शिवनारायण गिरी

विराटनगर । सोमबार कांग्रेस नेता शेखर कोइराला विराटनगर–११ का डोमहरूको घेरामा परे ।

दसकौँदेखि ऐलानी जग्गामा बसेर बनिबुतो गर्दै आएका डोम समुदाय निकै चिन्तित भावुक पनि देखिन्थे । र, उनीहरूको एउटै सवाल थियो, भोट त दिँदै आएका छौँ तर जग्गा कहिल्यै पाएनौँ । जग्गा दिँदैनौ भने यहाँको लालपूर्जा त देऊ ।

प्रतिउत्तरमा शेखर कोइरालाले “प्रक्रिया हुँदैछ, दिन्छौँ” मात्र भन्न सके ।

विराटनगर–११ का करिब ३५ घर डोम परिवारको आफ्नो नाममा एक धुर जग्गा छैन । उनीहरू ऐलानी जग्गामा बसेका छन् । पछिल्लो समय महानगरले बस्ती उठाउने हल्ला सुनेपछि उनीहरू अताल्लिएका रहेछन् ।

२०३९ सालदेखि कनौलिया रोडमा बस्दै आएका डोम समुदायका अगुवा माधव लाल मल्लिकले विगतमा जितेका जनप्रतिनिधिले आफूहरूलाई पटकपटक धोका दिएको भन्दै आक्रोश पोखे ।

“चुनावका बेलामा नाक थुन्दै आउनुहुन्छ, जग्गा पाउँछौ भन्नुहुन्छ, फेरि मुख देख्न चुनावै पर्खनुपर्छ,” उनको आक्रोश थियो ।

जवाफमा कोइरालाले नगरपालिकाले जग्गा खोजी गरिरहेको बताउँदै छिट्टै जग्गा दिने र बस्ती सार्ने आश्वासन दिए । तर, उनीहरू मान्न तयार भएनन् । सबैले एकै मुखमा भने, “हाम्रा पीता पुर्खाले यही सास फ्याले, हामी यहाँबाट अन्त जाँदैनौँ । कि हिजै दिन्न भन्नुपथ्र्यो !”

त्यस्तै उनीहरूले बंगुर पाल्दा नगरपालिकाले दुःख दिएको र बजारमा फुकेर गएका बंगुर धमाधम मारिदिएको भन्दै गुनासो गरे, “हामीले भीम पराजुलीलाई भोट दिएर जिताएको त बंगुर मार्न पो रहेछ । बंगुर पाल्ने हाम्रो कर्म हो । कहिलेकाहीँ फुकेर बजारमा जान्छ तर, किन मार्नुपर्यो ?” जवाफमा कोइरालाले छिट्टै समस्या समाधान गर्ने बताए ।

स्थानीय देवनारायण मल्लिकले पनि रामकृष्ण भट्टराई विराटनगरको प्रधानपञ्च हुँदादेखि आश्वासन पाएको तर काम नभएको भन्दै कति वर्ष पर्खनुपर्ने हो भन्दै संशय व्यक्त गरे ।

मुख्य सडकबाट ५०० मिटर भित्र रहेको बस्ती चरम गरिबीको चपेटामा छ । बस्तीका बालबालिका विद्यालय जाँदैनन् भने महिला नयाँ मानिस आएको देख्नेबित्तिकै लुक्छन् । नाला, फोहोर र दुर्गन्धको साम्राज्य लाग्ने बस्तीको विकासका आफू कटिवद्ध रहेको कोइरालाले बताए ।   बाह्रखरी

प्रतिक्रिया दिनुहोस्