चचहुई भन्दै दसैं तिहारसम्मै रौनक बढाउने लिङ्गेपिङ विस्तारै हराउँदै

कपिलवस्तु — चचहुई भन्दै दसैं तिहारसम्मै रौनक बढाउने लिङ्गेपिङ विस्तारै हराउँदै गएको छ । ८/१० वर्षअघिसम्म दसैंको घटस्थापनादेखि नै गाउँ टोलमा रोटे, जाते र लिङ्गे पिङ्ग हालेर गाउँले रमाउने गर्थे । तर आजभोलि निक्कै कम भएको छ । रोटे र जातेपिङ त देख्नै छाडिएको छ । कहींकहीं लिङ्गेपिङमात्रै देखिन्छ । दसैंसँग धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बोकेको लिङ्गेपिङ जिल्लाका थोरै ठाउँमा मात्र देख्न सकिन्छ । यसवर्ष जिल्लाभरि ६/७ ठाउँमा मात्र लिङ्गेपिङ राखिएको छ । तर पनि पिङ खेलेर गाउँघरमा बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्मलाई रमाइरहेका छन् । दसैंदेखि तिहारसम्म पिङमा रमाउने गर्छन् । विस्तारै पिङ खेल्ने परम्परा कम हुँदै गए पनि मधेसदेखि पहाडसम्म पिङमा मच्चिनेहरु उत्तिकै छन् । तौलिहवाको बर्मेली टोल, सागरटोल, चन्द्रौटा, पिपरा र गोरुसिंगेमा लिंगेपिङ बनाइएको छ ।

पिङ राख्न थालेपछि दसैं-तिहार आएको संकेत हुन्छ । मानिसहरु दसैं-तिहारका सरसमान जोहो गर्न लाग्छन् । यो पिङ संस्कृतिको सुन्दर पक्ष हो । पिङ राखेको ठाउँ जमघट हुने स्थल हो । यस्ले सहरबजार विदेश गएकाहरु कोको फर्के थाहा हुन्छ । शुभकामना साटासाट गर्ने स्थल पनि हुन्छ । अप्रत्यक्ष रुपमा सञ्चारमाध्यमको काम र भेटघाट भलाकुसारी गर्ने मञ्च बन्छ । पिङ खेल्दा हुने आनन्द अविस्मरणीष हुन्छ । ‘दु:खकष्ट र पीडा एकछिन भए पनि भुलिन्छ’ शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले भनिन्, ‘त्यसैले यस्तो गुण बोकेको खेलको छुट्टै महत्व छ ।’ पिङले सहास पनि बढाउँछ उनले भनिन् । यस्तो ठाउँले महिलाहरु आफ्नो दु:ख पीडा र समस्या साटासाट गर्ने माध्यम बन्छ । ‘विशेषगरी मधेसी महिलाहरु घरबाट निस्कने अवस्था हुँदैनन्’ उनले भनिन्, ‘तर पिङ खेल्न आउने बेला धक फुकाएर कुरा राख्छन् । मधेसतिर भने साउनदेखि नै तिहारसम्म पिङ खेलिन्छ । घर, टोल र बगैंचामा डोरी बाँधेर पिङ राखिन्छ । ‘भगवान शिवको अराधना गर्ने साउन पवित्र महिना हो’ अवधि लोकसाहित्य विषेशज्ञ विक्रम त्रिपाठीले भने, ‘त्यसैले त्यही समयबाट मधेसमा पिङ खेलिन्छ ।’

मधेसमा पिङलाई झलुवा भनिन्छ । ‘भाद्रमा रोपाइँ सकिन्छ, त्यसपछि नागपञ्चमी र रक्षाबन्धन पर्व आउन लाग्दा बुहारीहरु माइत फर्कन्छ’ उनले भने त्यसपछि छोरीबुहारी गीत गाउँदै मधेसमा पिङ खेलिन्छ । पिङ खेल्न थाल्दा भजनबाट सुरु गरेर कजरी तीज गीत पनि गाउँछन् । जुन तिहारसम्म चल्छ । ‘चचहुई गर्दै पिङमा मच्चिनुको छुट्टै आनन्द आउँछ’ कपिलवस्तु नगरपालिका ६ वर्मेली टोलका अनिल क्षेत्रीले भने, ‘आजभोलि यी कुरा इतिहास बन्न थालेकोछ ।’ ‘हाम्रो संस्कृति बिर्सदै छौं’ उनले भने, ‘भावी पुस्ताका लागि यो पुस्तकमा सीमित हुँदैछ ।’

घटस्थापनासँगै लिंगेपिङ बनाउने प्रतिस्प्रर्धा नै हुन्थ्यो । मनोरञ्जनका लागि आधुनिक प्रविधि आएसँगै युवा पुस्ता उता मोडिँदा समस्या भएको पाकाहरु बताउँछन् । आफ्नो कला, संस्कृति र परम्पराप्रति युवा पुस्ता संवेदनशील नहुँदा समस्या निम्तिएको नागरिक अगुवा आरडी ठाकुरले बताए । ‘अधिकारसंपन्न स्थानीय तह पुरानो संस्कृति संरक्षणमा कार्ययोजना बनाएर लाग्नु पर्छ’ उनले भने, ‘अन्यथा हाम्रो संपत्ति अन्यत्र खोज्न जानु पर्छ ।’ पहिलो पहिला चंगा उडाएको, मौलिक बाजा गीत घन्किएको र लिंगेपिङ मच्चिएको देख्नासाथ दसैं आएको रौनक हुन्थ्यो । २ वर्षको जापान बसेर दसैं मनाउन फर्किएका ईन्द्र गिरिले भने अहिले आफ्नो गाउँ राजपुर सुनसान देख्दा चिन्तित छु । ‘कुनै रौनकै छैन्’ उनले भने, ‘विस्तारै कला संस्कृति भुल्दा दसैं खल्लो लाग्न थालेको छ ।’

प्रतिक्रिया दिनुहोस्