काठमाण्डु, ४ मंसिर–सुरक्षा निकायले प्रदेश नम्बर–३ को संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट सुरक्षा चुनौती हुने ठानेको छ ।
सोमबार गृह मन्त्रालयमा भएको मध्यमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीमा मध्यमाञ्चलका प्रमुख जिल्ला अधिकारीहरु सहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले विप्लव समूह निर्वाचनको सबैभन्दा ठूलो चुनौती रहेको बताए ।
गोष्ठीमा गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी थिए । नेकपाले पछिल्लो समय उम्मेदवार लक्षित बम विस्फोटका घटना घटाउँदै आएको छ ।
भाडाका गुण्डा र जँड्याहाहरुबाट चुनावका चुनौती
सुरक्षा अधिकारीहरुले मध्यमञ्चलका केही जिल्लामा जिल्लाभित्र तथा बाहिरबाट आयातित गुण्डाहरु समेत सुरक्षा चुनौतीका रुपमा रहेको रिपोर्टिङ गरेका छन् । दोलखामा राजधानी तथा अन्य जिल्लाबाट भाडामा आयातित गुण्डाहरु चुनावका लागि सुरक्षा चुनौती हुने आंकलन गरिएको छ । यस्तै काभ्रे र सिन्धुपाल्चोकमा जिल्लामै सक्रिय गुण्डाबाट सुरक्षामा चुनौती हुने अधिकारीहरुले बताएका छन् ।
उता हिमाली जिल्ला रसुवामा भने जँड्याहाहरुबाट निर्वाचनमा सुरक्षा चुनौती रहेको सुरक्षा निकायको निस्कर्ष छ । ललितपुर, भक्तपुर र चितवनमा दोश्रो चरणअन्तर्गत २१ मंसिरमा हुने निर्वाचनमा भने नेत्रविक्रम चन्द समूहबाट सुरक्षा थ्रेट रहेको बताइएको छ । प्रदेश तीनमा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाण्डु, ललितपुर र पर्छन् ।
गोष्ठीमा प्रधानमन्त्री देउवाका अलावा गृहसचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी लगायतको उपस्थिति थियो ।काठमाण्डु टुडे
प्रतिक्रिया दिनुहोस्