धेरै पटक डिभोर्स माग्दै आएका श्रीमानले लिए श्रीमतीको ज्यान

उत्तम पाैडेल
पोखरा । धर्तीको स्वर्ग मानिने पोखरा लामो समयदेखि अपराधको स्वर्गमा परिणत हुन थालेको छ । एक पछि गर्दै घटेको आपराधिक घटनाले पोखरा असुरक्षित शहर बन्नेतर्फ उन्मुख छ । श्रीमान र श्रीमतीबीचको एउटा घटनाले पनि यस्तै संकेत देखाएको छ । कास्कीको पोखरा एयरपोर्टमा गत असोज ३० गते करेन्ट लागेर मृत्यु भएको भनिएको सावित्रा लामिछानेको परिवारले श्रीमानले करेन्ट लगाएर मारेको भन्दै प्रहरीमा जाहेरी दिएपछि यो घटना सतहमा आएको हो ।

घटना घटेको आठौ दिनसम्म किटानी जाहेरी लिन नमानेको प्रहरीले घटना घटेको नबौ दिनमा पीडित परिवारको जाहेरी बुझेको हो । स्याङजा आँधिखोला नगरपालिका ७ स्थायी घर भइ पोखरा एयरपोर्ट नजिकै स्याङजा फुलबारी होटल एण्ड लज संचालन गर्दै आएका ४० बर्षीय गुरुदत्त लामिछानेलाई आफ्नै श्रीमतिको हत्या गरेको आरोप लागेको छ । श्रीमान श्रीमतीबीच पटक पटक घर झगडा हुने गरेको र श्रीमतीलाई कुटपिट गरेर धेरै चोटी दुःख दिने गरेको आरोप पीडित पक्षले लगाएका छन ।

मृतकका श्रीमानले धेरै पटक सम्म डिभोर्स माग्दै आएका माइती पक्षले बताएका छन । केही महिना अगाडि मृतक लामिछानेले आफ्ना श्रीमानले आफुसँग डिभोर्स मागेको र डिभोर्स नदिए दुई तिन महिनामा जे पनि हुन सक्ने भन्दै धम्क्याउने गरेको परिवारले जनाएका छन । तिजमा माइत जाँदा श्रीमानले दुःख दिदै आएको र आफु बच्न नसक्ने स्थितिमा पुगेको गुनासो गरेकी लामिछानेको २ महिना नबित्दै शंकास्पद मृत्यु भएकाले यो सामान्य मृत्यु नभई हत्या भएको मृतकका दाई लोकनारायण तिवारी बताउछन ।

बिगत २ महिना देखि सोही होटलमा काम गर्दै आएका कामदार ठाकुर तिवारीका अनुसार मृतकका श्रीमानले धेरै अगाडिबाट दुःख दिँदै आएको बताए । बिहान ५ बजे उठेर बत्ति बाल्न गएको समयमा उनका श्रीमानले धकेल्दा करेन्ट लागेर मृत्यु भएको तिवारी बताउँछन ।घटना घटे लगत्तै नजिकैको अस्पताल नपु¥याइ टाढा रहेको मनिपाल शिक्षण अस्पताल पु¥याएको र जस्को कारण उनको बाटोमा नै मृत्यु भैसकेको माइती पक्षको आरोप छ ।

मृत्यु भैसकेकी लामिछानेको शव आफुहरुले बुझ्न नमान्दा प्रहरीले जबरजस्ती शव बुझिदिन आग्रह गर्दै आवश्यक अनुसन्धान गरिदिने भनेको तर पछि वास्ता नगरेको मृतकका दाई लोकनारायण तिवारी बताउँछन । उनका श्रीमानले भने हृदयघातका कारण श्रीमतीको मृत्यु भएको बताएका छन । मृतकका २ छोरा सागर र सन्दीप लामिछाने छन । घटनाको बारेमा छिट्टो अनुसन्धान गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने पीडितको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!