साहसी नैपाली महिलाको जीवनकथा :गुर्जा हिमालमाथिदेखि हाइटीसम्म

हात्मा गान्धीले भनेका छन्, ‘तपाईँको ज्ञान र हृदयलाई जे सत्य लाग्छ, त्यसको पालना नै तपाईँको कर्तव्य हो।’ क्याम्पस पढ्दाताका ललितपुरकी बशुन्धरा खड्कालाई लाग्यो–राष्ट्रप्रति समर्पित हुनु नै मेरो कर्तव्य हो। वास्तवमा उनलाई लागेको सत्य यथार्थमा परिणात भयो। वि.सं. २०६१ सालमा नेपाल प्रहरीमा भर्ना भएकी खड्का अहिले आफ्नो हृदयको आवाजलाई कार्यान्वयनतर्फ डोहोर्याइरहेकी छिन्। उनी भन्छिन्, ‘नेपाल प्रहरीमा प्रवेश गरेर राष्ट्रको सेवा गर्न पाउनुमा मलाई शान छ, गर्व छ।’

असोज १९ शुक्रबार प्रहरी प्रधान कार्यालयमा अन्तरवार्ताका लागि पुग्दा डिएसपी खड्का द्वन्द्वग्रस्त मुलुक हाइटी जाने तयारी गर्दै थिइन्। ‘ऊ झोला तयार भइसक्यो, पर्सी उड्नुछ,’ खड्काले मुस्काराउँदै भनिन्। उनी अहिले हाइटी पुगिसकेकी छन् । दसैँको रंग नेपालीका घरआँगनमा पोखिइसकेका बेला डिएसपी खड्का चाहिँ ‘ड्यूटी इज ड्यूटी’ भनेझैँ अर्कै महादेशतर्फ जाँदैथिइन्। उनको मुहारमा आत्मविश्वास झल्किन्थ्यो। आशा, भरोशा र उत्साह बोकेर डिएसपी खड्का आफ्नो निर्धारित लक्ष्य पूरा गर्न हाइटीतर्फ लाग्दै थिइन्।

हो, नेपालमा अहिलेसम्म आफूले सम्हालेका अधिकांश ‘मोर्चा’ मा सफल र कुशल ठहरिएकी डिएसपी खड्का एक वर्षपछि स्वदेश फर्किनेछिन् आफूले पाएको जिम्मेवारी पूरा गरेर। हाइटीमा शान्ती स्थापनाको प्रयासमा उनको टिम जुट्ने छ। विशिष्ट परिवेशसँग साक्षात्कार गर्दै आफ्नो मिसन पूरा गर्नेछिन् उनले। नेपाल सरकारले संविधान दिवसका दिन उनलाई जनसेवाश्री प्रवलबाट सम्मान गरेको थियो।

बाल्यकालदेखि नै निडर
वि.सं. २०३६ सालको असार महिनामा ललितपुरको इमाडोलका राजेश खड्का र शारदा खड्काकी पहिलो सन्तानका रुपमा बशुन्धरा खड्काको जन्म भएको हो। नेपाल प्रहरीकै डिएसपी दीलिप घिमिरेसँग विवाह बन्धनमा बाँधिएकी खड्काका एक छोरा दिव्यांश छन्।

ललितपुर माविबाट एसएलसी पास गरेकी हुन् बशुन्धराले। उनी भन्छिन्, ‘घरमा पनि बुवाआमाकी ज्ञानी छोरी, भनेको मान्ने सुझबुझले काम गर्ने नै थिएँ, जेठो सन्तान भएकाले मेरो जिम्मेवारी त्यहीअनुरुप थियो।’

खेलकुदको एथ्लेटिक्स विधामा खड्का अब्बल थिइन्। स्कूलको पढाईपछि खड्का क्याम्पस क्याप्टेनकै रुपमा मानिन पुगिन्। साथीहरु र आफूभन्दा जुनियर विद्यार्थीका लागि पनि उनी आदर्श थिइन्। ‘खेल्ने, नाँच्ने, पिकनिक र प्रोग्रामहरु अर्गनाइज्डगर्नेदेखि टिम वर्कमा लिड गर्दै आएँ, स्कूल–कलेजमा पनि म टिचर्सहरुकी गुड स्टुडेन्ट थिएँ’, उनले भनिन्।

आफ्नो व्याचकी एक्ली महिला
क्याम्पस पढ्दाताका नै बशुन्धरा खड्काले आफूमा अन्तरनिहीत नेतृत्व क्षमताको स्पष्ट पहिचान पाइसकेकी थिइन्। स्नातकोत्तर तहमा सुरु गर्नै लाग्दा उनले व्यावसायिक जीवन प्रारम्भ गरिन्। दिन थियो, वि.सं. २०५८ पुस १३ गते।

उनले नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदका लागि आवेदन दिइन्। रिजल्ट हुन अढाईवर्ष लाग्यो। त्यो बिचको समयमा उनले स्नातकोत्तर तह पनि पूरा गरिन्। २०६१ साल जेठ १५ गते नेपाल प्रहरीमा नियुक्त भएपछि १६–१७ महिना तालिममै बित्यो।

‘तालिममा ३६ जना सहभागीमध्ये म एक्ली छोरी मान्छे थिएँ, सुरुमा त एलियन जस्तै, अर्कै ग्रहबाट आएको जस्तो महसुस हुने’, बशुन्धराले देश सञ्चारसँग भनिन्, ‘तर, एकाध महिनापछि मैले चुज गरेको प्रोफेसन हो, एडजस गर्नुपर्छ, सिस्टम चेन्ज गर्न सक्दिनँ, आफूलाई चेन्ज गर्नुपर्छ, किनभने म पुलिस हुन आएकी हुँ भन्ने सेल्फ रियालइजेसन भयो।’

आफ्नो व्याचका सहकर्मीहरुबाट पनि प्रशस्तै उत्साह र सहयोग पाएको बशुन्धराले बताइन्। त्यसमाथि माओवादीको सशस्त्र युद्धका कारण केही पुरुष सुरक्षाकर्मीले नै जागिर छोड्दै गरेको अवस्थामा उनले स्वइच्छा र प्रतिवद्धतामा कारण यो पेशामा रोजेकी थिइन्। आफूलाई प्रमाणित गर्ने अवसर र चुनौती दुवै थियो उनका लागि।

‘त्यसै म आत्मविश्वास र आन्तरिक रुपमा सशक्त हुन जरुरी थियो, फिजिक स्ट्रेन्थ भन्ने कुरा त स्टामिना बढ्दै जाँदा आउँछ, तर स्ट्रेन्थलाई इन्टर्नलाइज्ड गर्न चाहिँ पुलिस एकाडेमीबाट प्रेरणा पाएँ, हरेक दिनले नयाँ कुरा सिकाउथ्यो । उनले भनिन्,’ ‘सिक्दै जाँदा एउटा परिपक्क प्रहरी बनाउन दिइने ट्रेनिङले मलाई पनि त्यो स्ट्रेन्थ प्राप्त गरेँ।’

चुनौती पन्छाउँदै, अघि बढ्दै
प्रहरी निरीक्षक (इन्स्पेक्टर)को तालिम पश्चात बशुन्धरा खड्काको पहिलो असाइन्मेन्ट नेपाल प्रहरीको केन्द्रीय महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा भयो। त्यहाँ उनले करिब २ वर्ष काम गरिन्।

‘वुमन सेलमा विशेषतः महिला तथा बालबालिकाको इस्यूमा काम गर्नुपर्यो, साथै प्रहरीको क्षमता विकासजस्ता कुराहरुमा पनि काम गर्ने अवसर मिल्यो’ उनले भनिन्।

वि.सं. २०६४ साल पुसमा महिला सेलबाट प्रहरी निरीक्षक बशुन्धरा खड्काको पोस्टिङ काठमाडौँको मनोञ्जन नगरी ठमेलमा भयो।ठमेल जानु भनेको चुनौतीलाई निम्तो दिनुजस्तै मानिन्थ्यो। खड्काका अनुसार त्यतिबेला उनले लैंगिक र वर्गीय हिसाबले सोचिन्। र, त्यहाँ इञ्चार्जको जिम्मेवारीमा जाने निश्चय गरिन्। संगठनले विश्वास गरेर मलाई ठमेल पठाएको थियो, चुनौतीपूर्ण हुन्छ भनेर त्यहाँ नजानु भनेको अब आउने महिला प्रहरी अफिसरहरुलाई निरुत्साहित गर्नु सरह हुने छ,’ उनले भनिन्, ‘त्यहाँ इञ्चार्जको जिम्मेवारीमा गएर मैले आफुलाई प्रमाणित गर्नुथियो, त्यसमा म सफल भएँ।’

तर, सुरुवाति एक महिना बशुन्धराका लागि त्यति सहज भएन। त्यहाँका परिवेश, पुलिसिङसिस्टमदेखि पारिवारिक दायित्वसम्म पूरा गर्नुपर्ने थियो। तत्कालिन समयमा पनि वर्तमान आइजी सवेन्द्र खनालदेखि अन्य प्रहरी अधिकृतहरुबाट मार्गदर्शन पाएको उनी बताउँछिन्। ‘संगठनको ब्रिफिङमा पनि उनले जस्तो गर्नु भनेर मेरो उदाहरण दिनुहुन्थ्यो,’ उनी सझिन्छिन्, ‘त्यसले अझै हौसला प्रदान गर्यो।’

बशुन्धरा ठमेलको इञ्चार्ज भएकै बेला संविधानसभा निर्वाचन भएको थियो। विद्यार्थीको प्रदर्शन दिनहुँजसो नै हुने गर्थ्यो। पूर्वराजा ज्ञानेन्द्रको बहिर्गमनको बेला पनि थियो। तर, बशुन्धराका लागि ठमेल अवसर थियो, संगठनभित्र आफ्नो सशक्त छवी निर्माणका लागि।

‘त्यहाँ बसोबासको एरिया पनि छ, त्यहाँबाट महिला दिदीबहिनीहरु आउनु भयो, टाढा–टाढाबाट पनि आउनु हुन्थ्यो, उहाँहरुले गर्नुभएको समंवयले, स्वागतले नै कामप्रति अझै दृढ बनायो,’उनले भनिन्, ‘बर्दी लगाइसकेपछि मर्यादामा बसेर ड्यूटी पर्फम गर्नुपनि प्रहरी अफिसरको जिम्मेवारी हो भन्ने फिल भयो।’ठमेलमा १३ महिनाको बसाईपछि बशुन्धरा तत्कालिन आइजिपी रमेशचन्द्र ठकुरीको सचिवालयमा २ वर्ष काम गरिन्।

सुडान मिसनमा
बशुन्धरा सन् २०१० को जनवरीमा खटिने राष्ट्र संघीय शान्ति स्थापक मिसनका लागिसुडान गइन्। नेपालमा पनि द्वन्द्व र संक्रमणको चरण देखेकी उनी सुडान र दक्षिणी सुडानको विभाजनका बेला त्यही थिइन्। दक्षिणी सुडानको जन्म र स्वतन्त्रताको दिन उनी त्यही थिइन्।

‘मिसनको विश्लेषक पुलिस अफिसरको काम गर्थे, हतियारको सहज उपलब्धताले पनि स्थिति अत्यन्तै जटिल थियो, तर दक्षिणी सुडान स्वतन्त्र भएपछि चाहिँ स्थिति सामान्य बन्यो,’ उनी सम्झिन्छिन्। पृथक धार्मिक र संस्कृतिलाई अनुभूत गर्ने अवसर पाएको उनी बताउँछिन्।

‘सुडान अरेबिक भाषा बोल्ने मुस्लिम मुलुक हो, दक्षिण सुडान चाहिँ पश्चिमतर्फ ढल्केको अंग्रेजी बोल्ने, क्रिश्चियनहरु धेरै भएको देश हो,’ उनी भन्छिन्, ‘पूर्व क्षेत्रको भन्दा धेरै फरक परिवेशमा काम गर्नुपर्ने थियो।’

नेपाल फर्किएपछि…
सन् २०११ मा नेपाल फर्किएपछि बशुन्धरा खड्काले प्रहरी सचिवालयकै मानव अधिकार इकाईमा काम सुरु गरिन्। त्यहाँ नेपाल प्रहरीले मानव अधिकारको प्रवद्र्धन, सम्बर्द्धन र संरक्षण कसरी गर्न सक्छ भनेर कार्यक्रम बनाउनु पर्ने, विभिन्न जिल्लामा गएर काम गर्ने तथा प्रहरीलाई नै ट्रेनिङ दिनेजस्ता कार्यमा उनी संलग्न भइन्।

मानव अधिकार सेलको २ वर्षको जिम्मेवारीपछि वि.सं. २०७० साउनमा पर्यटक प्रहरी इञ्चार्जका रुपमा भृकुटीमण्डप पोस्टिङ भयो उनको । त्यहाँ गएपछि उनले पर्यटकहरुका समस्या समाधान गर्न पर्यटन मन्त्रालय र पर्यटनबोर्डसँग समन्वय गरिन्, साथै भक्तपुर र लुम्बिनीमा पर्यटक प्रहरी बिटको स्थापना पनि गरिन्।

इन्टरपोलको यात्रा
वि.सं. २०७१ फागुनमा खड्का प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भइन्। खड्का प्रहरी मुख्यालय अन्तरगत इन्टरपोल सेक्सन इञ्चार्जको जिम्मेवारीमा २ वर्ष कार्यरत रहिन बढुवा लगत्तै।

‘नेशनल पुलिसिङ गरेकी थिएँ, युएन मिसनमा गएर इन्टरनेशनल पुलिसिङ पनि हेरियो,’ डिएसपी खड्का भन्छिन्, ‘तर १ सय ९० वटा देश सदस्य राष्ट्र भएको इन्टरपोलले चाहिँ मलाई ठूलो ठाउँ दियो। सदस्य राष्ट्रका प्रहरीदेखि धेरै अन्तर्राष्ट्रिय फोरमहरुमा मैले भाग लिएँ, त्यहाँ गरिने कामको शैली सिक्न पाएँ,संगठनभित्र अझै सशक्त काम गर्ने हौसला बढायो त्यसले।

उनी रहेकै बेला २३ औँ एशियन रिजनल कन्फे्रन्स नेपालमा भयो, जुन २७ वर्षको अन्तमा। इन्टरपोलको जिम्मेवारी प्रहरी जीवनको उत्कृष्ट समय मान्छिन् बशुन्धरा। उक्त जिम्मेवारीमा रहँदा उनले नेपाल प्रहरीसँगै इन्टरपोलबाट पनि सम्मान प्राप्त गरेकी थिइन्।

म्याग्दीको पहिलो महिला प्रहरी प्रमुख
वि.सं. २०७३ को माघ महिनामा इन्टरपोलको दुई वर्षे सेवा पूरा भएपछि डिएसपी बशुन्धरा खड्का जिल्ला प्रहरी प्रमुख भएर म्याग्दी गइन्। म्याग्दी नै उनको काठमाडौँ उपत्यका बाहिरको पहिलो पोस्टिङ थिया त्यो उनको ।

‘म्याग्दी नक्सामा मात्रै देखेकी थिइन् उनले । बेनी बजार पनि भौगोलिक संरचनाका हिसाबले केही समय घुलमिल हुन गाह्रो पनि भयो,’कमाण्डरका रुपमा पहिलो पटक गएको स्मरण गर्दै डिएसपी खड्काले भनिन्, ‘तर, एउटा युनिफर्म पुलिस जानु र एउटी महिला जानुमा फरक हुँदोरहेछ, त्यो ठाउँमा मेरो भौतिक उपस्थितिले प्रहरी–प्रशासनलाई मान्नुपर्छ भन्ने जनभावनालाई थप सृदृढ गरायो।’

उनी म्याग्दी गएको २ महिनापछि स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भयो। २०७४ वैशाख ३१ गते निर्वाचनको मिति तोकियो। पुरुष प्रहरी अफिसर भएको बेला त त्यो स्थिति थियो अब महिलाले त गर्न सक्ने होला र भन्ने यस्तो गर्नुभयो,’ उनले भनिन्, ‘तर, स्थानीय तहको निर्वाचन कुनै किसिमको क्षति वा द्वन्द्वबिना सम्पन्न भयो।’

यद्यपि, चुनौतीहरुसँग साक्षात्कार नभएको चाहिँ पक्कै होइन। निर्वाचनको ४ दिन अघि एक उम्मेदवार विप्लव माओवादीको अपहरणमा परे। ‘घनाजंगल र पहाडको सिरानमा ३ वटा घर थियो, र ४ घण्टाको अपरेशनपछि उहाँलाई रेस्क्यू गरेर ल्यायौँ,’ उनले भनिन्, ‘गाउँ–गाउँमा उम्मेदवार भएको स्थानीय चुनाव सदमुकाम बेनीदेखि गुर्जा हिमालमुनिको सानो गाउँसम्म नै शान्तिपूर्ण भयो, प्रतिनिधिसभाको चुनाव त अझै शान्तिपूर्ण भयो।’

महिलाप्रतिको दृष्टिकोण बदल्दै
डिएसपी बशुन्धरा खड्काले आफ्नो म्याग्दी बसाईमा महिलालाई हेर्ने दृष्टिकोण नै बदल्न सफल भइन्।निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो। जसले उनीप्रतिको विश्वास अझ बृद्धि गर्यो। अर्को, महिलाको संख्या बढी भएको क्षेत्र भएकाले उनले ‘प्रहरीसँग आमा’ कार्यक्रम सञ्चालन गरिन्।

त्यसले सूचना प्राप्त गर्न मात्रै होइन, स्थानीयसँग प्रत्यक्ष जोडिएर काम गर्न सहज पनि भयो। जिल्ला प्रहरी कार्यालयमै स्थानीयको सहयोगमा महिलामैत्री भवन पनि निर्माण गरिएको उनले बताइन्।

‘एक रातको सुरक्षित बास भनेर कुनै किसिमको हिंसामा परेका महिलाहरुलाई राख्न सकियोस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको हो,’ उनले भनिन्।

बिमला थापाको जीवनकथा
अन्तरवार्ताका दौरान आफूले नेपाल प्रहरीमा प्रवेशका लागि पाएको प्रेरणाको विषयमा पनि उनले प्रष्ट पारिन्।‘तत्कालीन डिएसपी बिमला थापाको एक पन्नाको बायोग्राफी वेब म्यागेजिनमा छापिएको थियो, त्यो बायोग्रोफी पढेपछि यो पनि राम्रो जब हो, करियर हो भन्ने लाग्यो,’ उनले भनिन्, ‘तर, काम गर्दै गएपछि थाहा भयो –जागिर मात्रै होइन, नेपाल प्रहरीमा आएपछि देश–विदेश जान पाइन्छ, सेवा गर्न पाइन्छ, अन्तर्राष्ट्रिय ख्याती छ, जे पनि गर्न सहज छ, यस्तो अवसर अरु क्षेत्रमा सायदै पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!