बाबुरामले भने- ‘गगन थापा उर्जा, नारायणकाजी कुखुरे!’

काठमाडौं, ४ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई उर्जाका प्रतिक मानेका छन् भने माओवादी नेता नारायणकाजी श्रेष्ठलाई कुखुरे मुटु भएका प्रतिस्पर्धीको संज्ञा दिएका छन् ।

गोरखा–२ को चुनावी सभापछि उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेख्दै गगन थापाको तारिफमा शव्द खर्च गरेका छन् । उनले लेखेका छन्,‘जब गगन थापा जस्ता युवा नेताहरूको उत्साह र देश प्रतिको दृढ संकल्प देख्छु, तव मेरो हृदयमा आशाको संचार भएको म पाउँछु ।’

तर, चुनावी सभाका क्रममा माओवादी नेता श्रेष्ठलाई उनले कुखुरे मुटु भएको प्रतिस्पर्धीमात्र भनेका छैनन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उचालेर आफ्नो विचारलाई पाखा लगाएकोसम्म आरोप लगाएका छन् ।

यता, गगनप्रति भट्टराईले शव्द खर्च गर्दै लेखेका छन्,‘जनविरोधी राज्य व्यवस्था फेर्न संघर्ष गरेको मेरो पुस्ता र अग्रजहरूको अवको मुख्य जिम्मेवारी भनेको यस्ता नेतृत्वदायी युवाहरूलाई राजनैतिक नेतृत्वको अग्रपंक्तिमा उभ्याउनु हो । र युवा नेतृत्वको जिम्मेवारी देशको अवस्था फेर्नु हो अर्थात देशलाई समृद्धितिर डोर्याउनु नै हो ।’

उता, श्रेष्ठप्रति निक्कै क्रोधपूर्ण शव्द प्रयोग गर्दै भट्टराईले सभामा भने,‘गोहीका आँसु झारी अरूलाई उक्साएर राजनीतिक मुनाफा लिने प्रवित्ति, सहरमा बस्ने अनि गाउँमा आएर ठूला कुरा गर्नेलाई तपाईहरू छान्नुहुन्छ ?’

कांग्रेससँग तालमेल गरी गोरखा–२ मा प्रतिनिधि सभामा उठेका भट्टराईको चुनावी सभालाई सम्बोधन गर्नका लागि थापा र कांग्रेस नेता बालकृष्ण खाँण पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्