धेरैजसो मानिसलाई दादले सताएको देखिन्छ, यसबाट कसरी जोगिने ?

धेरैले आफ्नो छालामा चिलाउने ‘दाद’ आएको भन्छन् । त्यसलाई दाद भनिए पनि त्यो ‘फंगल इन्फेक्सन’ अर्थात् छालामा ढुसी पर्नु हो । गर्मी मौसममा फंगल इन्फेक्सन बढी हुन्छ ।

ढुसी कस्तो ठाउँमा पर्छ र कसरी पर्छ? धेरैलाई थाहा भएकै कुरा हो । बासी खानामा, ओसिलो ठाउँमा ढुसी पर्ने हो। प्रायः घर वा कोठाको कुनातिर ढुसी परेको देखिन्छ । मान्छेमा पनि यही नियम लागू हुने हो ।

यसलाई मेडिकल भाषामा ‘डम्र्याटोफाइसिस’ भनिन्छ । खासगरी, छालाको सतहमा रहेका मृत कोषमा ढुसी पलाउँछ । त्यसैले यसलाई ‘सुपरफिसियल फंगस’ पनि भनिन्छ ।

आफू सफासुग्घर रहँदारहँदै पनि कहिलेकाहीँ यस्ता समस्याबाट पीडित भएको गुनासो सुन्ने गरिन्छ । यो अरुबाट सरेर आएको हुन सक्छ । यस्तो चिलाउने ढुसी माटो जनावर र अरु व्यक्तिबाट सर्ने गरेको पाइन्छ।

गाउँघरमा धेरै मानिस जनावरबाट सरेको दादले पीडित हुन्छन् । त्यसैले कतिपयले यस्ता दादलाई ‘भैँसे दाद’ पनि भनेको सुनिएको छ । साथीहरुसँग लुगा साटेर लगाउँदा, एउटै तौलियाको प्रयोग गर्दा वा परिवारका अन्य सदस्यबाट पनि दाद सर्न सक्छ।

कुन–कुन ठाउँमा हुन्छ दाद ?

दाद शरीरको जुनसुकै भागमा आउन सक्छ, टाउकोदेखि पैतालासम्मै । तर, टाउकोमा २ देखि १२ वर्षको उमेरसम्म मात्रै आउँछ । त्यसपछि किशोरावस्थामा मान्छेको शरीरमा उत्पन्न हुने ‘लिनेनिक एसिड’ले टाउकोमा यस्ता दाद आउन दिँदैन ।

कतिपयको घाँटीमा, कतिको जिउतिर, कतिको नङमा र कतिको शरीरका जुनसुकै भागमा दाद देखिन्छ। दादको आकार ‘रिङ’ जस्तो हुन्छ ।

पैसा जस्तो बीचमा खाली र किनारमा खस्रोफुस्रो हुन्छ । यस्तो समस्या महिलामा भन्दा पुरुषमा बढी देखापर्छ । किनभने महिलाहरु सरसफाइमा बढी ध्यान स्वभावका हुन्छन् । बाहिरतिर बढी निस्किरहने तर सरसफाइमा कम ध्यान दिने स्वभावका पुरुषलाई दादले सताउँछ ।

भ्रम र उपचार

दाद आएपछि यसको औषधि जथाभावी प्रयोग गरिन्छ । जसका कारण समस्या निर्मूल हुनेभन्दा पनि बल्झिने गरेको भेटिन्छ । धेरैले दाद त हो, ठीक भइहाल्छ भनेर वास्ता गर्दैनन् ।

कतिपयले चाहिँ चिकित्सकको सल्लाहबिना आफैँ औषधि किनेर प्रयोग गर्छन् । यी दुवै कुरा ठीक होइनन् । औषधि प्रयोग गर्ने धेरैलाई थाहा होला, मेडिकलवालाले ‘क्लोबिन जी’ नामक औषधि दिइरहेका हुन्छन् ।

यसमा चारवटा औषधि मिसिएको हुन्छ । एउटाले काम नगरे अर्कोले त गर्ला भनेर यस्तो गरिएको हो । जसलाई अँध्यारोमा ढुंगा हानेजस्तो मान्न सकिन्छ ।

यसमा चिलाउन रोक्ने तत्व हुने भएकाले चिलाउने समस्या कम हुन्छ तर पछि फेरि बल्झिन्छ । यसैगरी, दाद आएपछि धेरैले साबुन चलाउनु हुँदैन भन्ने सल्लाह दिएको पाइन्छ । यो सरासर गलत हो ।

सामान्य हिसाबले हेर्दा पनि साबुनले धोएर राखेको लुगामा ढुसी पर्ने सम्भावना कम हुन्छ । त्यसैगरी मान्छेको ज्यानमा पनि साबुनले सफा गर्दा ढुसी पर्ने सम्भावना कम हुने हो ।

जोगिने कसरी ?

दाद के कारण आएको हो भन्ने थाहा पाएपछि जोगिने उपाय लगभग थाहा भइसक्छ । दादलाई नियमित सरसफाइ गर्ने र सुख्खा राख्ने गर्नुपर्छ । नाइलन मिसिएका कपडाको प्रयोग कम गर्नुपर्छ ।

जसले पसिना धेरै निकाल्ने गर्छ र शरीर ओसिलो बनाइराख्छ । यसैगरी, धेरैजसोको बाथरुम वा कोठाभित्र भित्री लुगा सुकाउने बानी हुन्छ । यसले गर्दा पनि फंगल इन्फेक्सन हुने गर्छ । त्यसैले लुगा घाम लाग्ने वा प्रसस्त हावा चल्ने ठाउँमा सुकाउँदा राम्रो ।

चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने । जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ । बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने ।

आफूखुसी उपचार कहिल्यै पनि नगर्ने । दाद भएको ठाँउमा खराब औषधि परयो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहरयाउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ । कपालको दाद विद्यालय जाने बालबालिकामा बढी हुन्छ ।

दाद हुँदा औषधि नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ । नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने । चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!