फेसबुकले जुराएको उदहारणीय जोडी : प्रभातको संसार हेर्ने आँखाको नानी बनिन् सभ्यता

लमजुङ, – लमजुङको दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङ्का प्रभात घिमिरे दृष्टिबिहीन हुनुहुन्छ । यद्यपी उहाँले नेपालीमा स्नातोकोत्तर गर्नुभएको छ । उहाँ स्थायी शिक्षक समेत हुनुहुन्छ । उहाँले बेसीशहर नगरपालिका–१ उदीपुरमा रहेको जनकल्याण माविमा पढाउनुहुन्छ । उहाँले स्नातोकोत्तर समेत पास गर्नुभयो, शिक्षक सेवा आयोग उतीर्ण गरी सरकारी जागिर पनि खानुभयो । तर उहाँलाई जीवनको रथ अगाडि बढाउन जीवनसाथीको खाँचो थियो । आफूलाई बुझ्ने, माया गर्ने र जीवनको पथमा डो¥याउने असल जीवनसाथीको खोजीमा हुनुहुन्थ्यो प्रभात । उहाँले खोजेजस्तै, रोजेस्तै जीवनसाथीको रुपमा पाउनुभएको छ, सभ्यता गौतमलाई । सभ्यताले असाध्यै माया गर्नुहुन्छ, हेरविचार गर्नुहुन्छ प्रभातलाई । प्रभातको हर सुखदुःखमा साथ दिनुहुन्छ उहाँले । आफूले मनले चाहेजस्तै असल श्रीमती पाएकोमा दंग हुनुहुन्छ प्रभात । आनन्दित हुनुहुन्छ, २९ वर्षे प्रभात । फेसबुकले गाँसिदिएको नाता आँखा नदेखे पनि प्रभात विद्यालयमा पुगी विद्यार्थीहरुलाई पढाउनुुहुन्छ । उहाँ फेसबुक समेत सजिलै चलाउनुहुन्छ । उहाँले ‘स्क्रिन रिडर सफ्टवेयर’ को माध्यमबाट एन्ड्रोइड मोवाइलमा फेसबुक चलाउनुहुन्छ ।

‘मोवाइलमा स्क्रिन रिडर सफ्टवेयर छ, यसले लेखेका सबै कुरा पढेर सुनाइदिन्छ, यसैको आधारमा म फेसबुक चलाउँछु, समाचारहरु पढ्छु’ प्रभातले भन्नुभयो । प्रभातले सबैभन्दा पहिले मकवानपुर, हेटौंडा–११, नवलपुरकी सभ्यतालाई फेसबुकमा ‘फ्रेण्ड रिक्वेष्ट’ पठाउनुभएको हो । धेरै ‘म्युचुअल फ्रेण्ड’ भेटेपछि सभ्यताले प्रभातको ‘रिक्वेष्ट एसेप्ट’ गर्नुभयो । सभ्यता पनि शारीरिक अपांगता भएको व्यक्ति हुनुहुन्छ । ‘उहाँको फेसबुकमा रिक्वेष्ट आयो, मैले उहाँको रिक्वेष्ट स्वीकारे, फेसबुकमा हाम्रो कुराकानी हुन थाल्यो, हामीले आ–आफ्ना सबै कुरा स्पष्ट राख्यौँ, हाम्रो विचार मिल्यो, नम्बर पनि साटासाट ग¥यौं, कुराकानी चलिरह्यो’ भोटेओडारमा भेटिनुभएकी सभ्यताले मुस्कुराउँदै भन्नुभयो । उहाँहरु बिचमा प्रेम सम्बन्ध सुरु भयो । उहाँहरुले आफ्नो प्रेमसम्बन्धबारे परिवारलाई जानकारी पनि गराउनुभयो ।

‘तिमीहरु आपसमा मञ्जुर छौँ भने बिहे गर’ परिवारबाट प्रतिक्रिया आयो । त्यसपछि उहाँहरुले २०७२ साल मंसिर २७ गते जिल्ला प्रशासन कार्यालयमा ‘कोर्ट म्यारिज’ गर्नुभयो । सभ्यताले पनि समाजशास्त्रमा स्नातोकोत्तर पास गर्नुभएको छ । उहाँ पनि सरकारी जागिरे हुनुहुन्छ । उहाँले लोक सेवा आयोग पास गरी सहायक महिला विकास निरीक्षकमा नाम निकाल्नुभएको हो । सभ्यताको पढाई, राम्रो जागिर देखेर बिहे गर्नेहरुको थुप्रै प्रस्ताव आउने गर्दथ्यो । तर उहाँलाई अपांगता भएकै व्यक्तिसँग बिहे गर्ने सोच थियो ।

बिहे अघिको कुरा सम्झँदै सभ्यता भन्नुहुन्छ, ‘शारीरिक, मानसिक रुपम सवल केटाहरुबाट पनि मलाई बिहेको प्रस्ताव नआएको होइन, तर मलाई अपांगता भएकै व्यक्तिसँग बिहे गर्ने मन थियो, उनीहरुको स्वार्थ हुन सक्थ्यो, त्यसैले पनि मैले आफूजस्तै अपांगता भएको व्यक्तिसँग विवाह गरे, म खुशी छु ।’ टुट्ने छैन साथ कहिले सभ्यताले प्रभातलाई सघाउन मन्त्रालयबाट स्वीकृति लिएर नतोकिएको काजमा लमजुङ आउनुभएको छ । सभ्यता प्रभातको जीवनमा आएपछि उहाँको जीवनले नयाँ मोड लिएको छ ।

‘म एक्लै हुँदा सबै काम आफै गर्नुपथ्र्यो, आँखा नदेख्दा झनै समस्या, म शिक्षण पेशामा छु, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका चेकजाँचमा पनि उनले सघाउँछिन्, पेशागत जीवनमा पनि उनको साथ सहयोग छ, उनी मेरो संसार हेर्ने आँखाको नानी बनेर आएकी छिन्’ प्रभातले खुशी हुँदै भन्नुभयो । आफूहरुको सम्बन्ध कैल्यै नटुट्ने पनि उहाँहरुको भनाई छ । ‘हामीहरु बिचमा बुझाई छ, एकअर्कामा माया छ, त्यसैले हाम्रो यो माया, सम्बन्ध कैल्यै टुट्ने छैन’ एक स्वरमा भन्नुभयो । सभ्यतालाई अधिकृत बन्ने धोको छ । प्रभातलाई क्याम्पस पढाउने प्राध्यापक । ‘हामीहरु दुवैले स्नातोकोत्तर उत्तीर्ण गरेका छौँ, मलाई अफिसर बन्ने मन छ, उहाँलाई प्राध्यापक बन्ने मन छ, हामीहरुले त्यसका लागि मेहेनतका साथ अघि पनि बढेका छौँ’ उहाँहरुले आफ्नो लक्ष्य सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!