५० वर्षे इतिहासमा ‘मालिका’ जस्तो फिल्म बनेकै छैन -रेखा थापा

काठमाडौं – रेखा थापाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मालिका’ कात्तिक १६ गते अर्थात आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

वालविवाह तथा दाइजोप्रथा विरुद्धको कथावस्तु समेटिएको चलचित्र प्रदर्शन मिति नजिकिँदै जाँदा रेखाको व्यस्तता निकै बढेको छ ।

रेखाका यसअघिका चलचित्रमा हिरो हुन्थे । तर आफ्ना चलचित्रमा आफै मुख्य कलाकार बनेर प्रस्तुत हुने रेखाको अगाडि हिरो ʻगौणʼ रहन्थे । त्यसैले भन्नेहरू ‘रेखाको सिनेमामा हिरो नै चाहिँदैनʼ पनि भन्छन् । ‘मालिका’मा भने कुनै हिरो छैनन् । उनले जाजरकोटकी १५ वर्षीया कमला वलीलाई ʻनायकत्वʼको स्थान दिएकी छिन् । साथमा रेखाले पनि अभिनेत्रीको बागडोर सम्हालेकी छिन् । चलचित्रको कथा, परिकल्पना नरबहादुर कार्कीको हो । चलचित्र

प्रदर्शनको मुखैमा अभिनेत्री, निर्मात्री, निर्देशक रेखाले लोकान्तरसँग चलचित्रसंग केन्द्रित रहेर छोटो कुराकानी गरेकी छिन् । जुन उनकै शब्दमा प्रस्तुत गरिएको छ ।

५० वर्षको इतिहासकै फरक चलचित्र

आजसम्म दर्शकले मेरो जुन खालका चलचित्र हेर्दै आउभएको थियो त्यो भन्दा ʻमालिकाʼ नितान्त फरक चलचित्र हो । ʻमालिकाʼ बालविवाह, बलात्कार तथा दाइजोप्रथा विरुद्धको अभियान हो ।

म के ग्यारेन्टी दिन्छु भने यो चलचित्र ५० वर्षको इतिहासकै फरक चलचित्र हो । आजसम्म दर्शकहरूले जति चलचित्र हेर्नुभयो प्रायः माया, प्रेम, मिलन, बिछोड, त्याग लगायतका विषयमा केन्द्रित थिए ।

यो चलचित्र हेरिसकेपछि दर्शकहरू भन्नुहुन्छ, ʻनेपालमा पनि यस्तो प्रकारको कन्टेन्टबाट चलचित्र बन्दोरहेछ ।ʼ

चलचित्र हेरिसकेपछि हामी आनन्दित पनि हुन्छौं । रोमाञ्चित पनि हुन्छौं । ʻमालिकाʼ हेरिसकेपछि हरेक दाजुभाई दिदीबहिनी, आमाहरू, किशोरीहरूलाई सहज गर्व महशुस हुनेछ । डर के हो ?, छोरी मानिस कसरी बाँच्नुपर्छ ?,

हिंसा अन्त्यका लागि कसरी आवाज उठाउनुपर्छ भन्ने कुरा मालिकाले प्रस्तुत गरेको छ । मत चाहान्छु वर्षमा यदी चार/पाँच वटा ʻमालिकाʼजस्ता चलचित्र बन्ने हो भने हाम्रो देशमा छोरीहरूलाई एक प्रकारको हिम्मत जाग्नेछ । एउटा निर्माता, कलाकार, निर्देशकको आँखाबाट भन्दापनि रेखा थापाको आँखाबाट हेर्दा ʻमालिकाʼ निकै उत्कृष्ट बनेको छ ।

राष्ट्रलाई माया गर्न सिकाउँछ

ʻमालिकाʼ राष्ट्रिय विषय बोकेको चलचित्र हो । यो मेरो मात्र चलचित्र होइन् । तपाईको पनि त्यतिकै अधिकार र साथ चाहिन्छ । एउटा गम्भीर विषय बोकेको चलचित्रमा सारा नेपालीहरू एक ठाउँमा उभिनुपर्छ जस्तो मलाई लाग्छ ।

अहिले जुन प्रकारले छोरी मानिसलाई आफ्नै घर आँगन पनि सुरक्षित छैनन् । वालविवाह, दाइजोप्रथा, बलात्कार जस्ता घटनाहरू घटिरहेकै छन् । यो अवस्थामा एउटी छोरी मान्छे डरलाई त्यागेर कसरी अगाडि बढ्नुपर्छ र आफूलाई परिमार्जित, आफ्नो जीवनलाई परिमार्जित कसरी गर्नुपर्छ त्यो चलचित्रको विषय हो ।

छोरी मानिसहरूलाई बहादुर बनाउन सिकाएको छ, फिल्म मालिकाले । यो चलचित्रले भविष्य देखाउँछ । यो चलचित्रले सपना देख्न सिकाउँछ । सपना देख्ने मानिसहरूले नै सफलता हात पार्छन् । चलचित्रले हसाउँछ, रुवाउँछ पनि ।

आफ्नो राष्ट्रलाई माया गर्ने तरीका सिकाउँछ पनि । रिलिजपछि चलचित्र हेर्ने दूरदराजका छोरीहरूलाई हिम्मत र साहस प्रदा हुनेछ भन्ने ठानेकी छु ।

चलचित्रप्रतिको डर र उत्साह

ट्रेलरमा हेर्नुभाʼछनी डरको आँखामा आँखा जुधाएर हेर… मलाई डर त फिटिक्कै लाग्दैन् । उत्साहको कुरामा म कहाँनेर बढी सचेत छु भने के हामी साँच्चै हाम्रो देशलाई माया गछौं त ? के साँच्चै हामी हाम्रो देशका छोरीहरूलाई माथि उठेको हेर्न चाहान्छौं त ? यदी चाहान्छौं भने हरेक नेपालीले एक पटक मालिका हेरेर यो देशका छोरीका निम्ति सम्मान दिनुहुन्छ भन्ने कुरामा विश्वस्त छु । नेपालीले यो कुरालाई कसरी स्वागत गछौं भन्ने कुराको मात्र डर हो । किनकी हामी राष्ट्रियताको कुरा गछौं ।

छोरीहरू सक्षम हुनुपर्छ भन्ने कुरा गछौं, छोरीहरूको समानन्तरको कुरा गछौं । अब यो खाली भाषणमा सिमित हो की साँच्चिकै देशप्रति चिन्तित छौं । चलचित्र प्रदर्शनपछि थाहा हुनेछ । मैले एउटा आँट गरेर यस प्रकारको चलचित्र बनाएको छु । छोरी मान्छेले पनि यो गर्न सक्छ, छोरीहरू आफ्नो परिचयमा बाँच्नुपर्छ भन्ने प्रकारको एउटा आन्दोलन पनि त हो ʻमालिकाʼ ।

हरेक छोरीहरूको अभियान पनि हो । यो अभियानमा नेपालीहरू हिस्सा बन्नुहुन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ ।

सुशील नेपाल/ लोकान्तर

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!