बलात्कृत भएको महिलाको उजुरीले बर्दिया प्रहरी झस्कियो

बर्दिया । बलात्कारका नयाँ नयाँ शैलीले प्रहरी नै झस्किएको छ । बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेको उजुरी प्रहरीमा आएपछि बर्दिया प्रहरी झस्किएको छ । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो। पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । गुरुवाले झारफुक गरेर निको भइहाल्छ की भनेर शुरुवातमा भएको यौन दुव्र्यवहारपछि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ ।

उहाँले भन्नुभयो, “रोग निको भइहाल्छ की भनेर गुरुवनुराले आफूमाथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेको थिइन । तर मनमा अति पीडा भएपछि कानूनी न्यायको लागि प्रहरीमा गएको हुँ ।” पीडितले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा आफूलाई बलात्कार गर्ने सुब्बा थारुविरुद्ध बलात्कार गरेको आरोपमा जाहेरी दिनुभएको छ । पीडितले जाहेरी दिएको स्वीकार गर्दै थप अनुसन्धान गरी जाहेरी दर्ता गरी कानूनी कारवाही अगाडि बढाउने इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताउनुभयो । निरीक्षक गौतमका अनुसार घटनाका आरोपित सुब्बा थारुलाई कात्तिक १६ गते नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

रोग ठीक हुनुभन्दा दिनानुदिन बढ्दै गएर थला पार्न थालेपछि भने चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा डाक्टरले क्यान्सर भएको भनेपछि सोही अनुसार उपचार गराइरहेकी छिन् । पीडित महिलाको श्रीमान् वैदेशिक रोजगारमा गएका छन् भने दुई छोरा पनि घर बाहिर कमाउन जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!