चिनियाँ प्रविधिमा बन्दै नेपालकै लामो पुल ! सजिलै जोडिदै दुई जिल्ला !

पर्वत । अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो झोलुंगे पुल बन्ने भएको छ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया सुरु भएको हो।
बागलुङ नगरपालिका–१, रामरेखास्थित शहीद पार्कदेखि पर्वतको पाङको अदुवाबारी जोड्ने गरी ५ सय ६७ मिटर लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए।

पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको प्राविधिक टोलीले शुक्रबार गरेको नापजाँचका क्रममा पुल निर्माण प्राविधिक दृष्टिले सम्पन्न गर्न सकिने इन्जिनियर हुमानाथ मिश्रले जानकारी दिए।

२०५९ देखि पुल निर्माणका लागि विभिन्न चरणमा छलफल, बहस र नापजाँच भए पनि लट्ठा तान्ने प्रविधि नेपालमा नभएका कारण काम अघि बढ्न सकेको थिएन। कुश्मा र बागलुङ नगरपालिकामा जनप्रतिनिधि निर्वा्चित भएपछि पुल निर्माणका लागि केन्द्रीय तहमा पहल भएको थियो। पुल निर्माणका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सांसद पदम गिरीको पनि विशेष पहलमा प्राविधिक टोलीले पुल निर्माणको सम्भाव्यता अध्ययन गरेको हो।
चिनियाँ प्रविधिको लट्ठा तान्ने मेसिन भित्रिएपछि शहीद पार्कदेखि आदुवाबारीसम्म पुल निर्माण गर्न सकिने इञ्जिनियर मिश्रले बताए।

विस्तृत सर्वेक्षणबाट पुलको लम्बाइ करीब ५ सय ६७ मिटर हुने र उचाइ १ सय ६० मिटर हुने तय भएको छ। यो अहिलेसम्म पर्वतमा निर्माण भएका ४ वटै पुलभन्दा पनि अग्लो हुने भएको छ। कालीगण्डकी नदीमाथि निर्माण हुने उक्त पुललाई बागलुङ बजारको व्यावसायिक भविष्यसँग जोडेर हेर्ने गरिएको छ।

पुल निर्माण भएपछि कुश्मा नगरपालिका–१ पाङ, २ खुर्कोट, जलजला गाउँपालिका–९ बनौ र ८ नाङलिवाङका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्। यी क्षेत्रका बासिन्दाको आर्थिक तथा व्यावसायिक कारोबार बढी मात्रामा बागलुङ बजारमै हुँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!