यी जोडी जसलाई माया गर्न जातले छेकेन !

तुलसीपुर — तुलसीपुर उपमहानगरपालिका १ भमकेका २० वर्षीय सञ्जीव नेपाली र बाँके कोहलपुरकी २० वर्षीया यशोदा गुरुङबीच एक वर्षअघि विवाह भयो । उनीहरू अहिलेसम्म माइती गएका छैनन् । अन्तर्जातीय विवाह गरेको भन्दै यशोदाका बाआमाले घरमा प्रवेश दिएका छैनन् तैपनि उनीहरूको मायाको संसार खुला छ, रमाइलो छ ।

आईएस्सी अध्ययनरत यशोदा र ल्याब पढ्दै गरेका सञ्जीवबीच मायाप्रेम बस्यो । त्यसलाई विवाहको रूप दिए तर समाजमा सहजै स्वीकार्य हुन सकेनन् । ‘समय कहाँ पुगिसक्यो तर समाजको सोच अझै फेरिएको छैन,’ यशोदाले भनिन्, ‘जीवन बिताउने हामीले हो । हामी तयार भइसकेपछि अरूले अवरोध नगरिदिए हुन्थ्यो ।’ जातीय छुवाछूतको भावना हट्न नसकेकामा सञ्जीव पनि दु:खी छन् । ‘कानुनले समेत छुवाछूत गर्न पाइँदैन भन्दा पनि मानिसहरू पुरानो मानसिकताबाट उठ्न सकेका छैनन्,’ उनले भने, ‘समाजले कुरा नबुझे पनि हाम्रो मायाप्रेममा कुनै बन्धन छैन । हामी जातीय घेराभन्दा टाढाको संसारमा छौं जुन छुवाछूतभन्दा निकै खुला अनि फराकिलो छ ।’

‘कानुनले समेत छुवाछूत गर्न पाइँदैन भन्दा पनि मानिसहरु पुरानो मानसिकताबाट उठ्न सकेका छैनन् । समाजले कुरा नबुझे पनि मायाप्रेममा कुनै बन्धन छैन ।’

तुलसीपुर ९ नयाँ बस्तीका २१ वर्षीय योएल सुनार र १९ वर्षीया पवित्रा केसी पनि जातभातभन्दा टाढाको संसारमा छन् । चार वर्षअघि प्रेम विवाह गरेको यो जोडीले पनि अझै माइतीसँग बोलचाल पनि गर्न पाएको छैन । छुवाछूतको पर्खालले पवित्रालाई आफ्नै जन्मघर जान पनि रोकेको छ । जन्म दिने, हुर्काउने बाआमा पनि पराई भएका छन् । ‘विवाह नगर्दासम्म म सबैकी प्यारी थिएँ, अहिले अछूत भएकी छु,’ उनले भनिन्, ‘माइतीसँग बोलचालसमेत हुन पाएको छैन । हामी आफ्नै छुट्टै संसारमा छौं ।’ उनीहरू मायाको चिनोका रूपमा एक छोरी हुर्काउँदै सुखद जीवन बिताइरहेका छन् ।

दीपक विक र देवा गिरी

तुलसीपुर–२ सुनडबरीकी २० वर्षीया देवा गिरीले ६ वर्षअघि गाउँकै २१ वर्षीय दीपक विकसँग विवाह गरिन् । समाजले तत्काल स्वीकार गरेन । माइतीले जोडी छुटाइदिने प्रयास गरे । दुई वर्षसम्म माइती नै जान पाइनन् उनी । ‘दिनहुँजसो गालीगलौज सुन्नुपथ्र्यो । लामो समय सहेर बसें,’ उनले भनिन्, ‘समाजको धारणा बदल्न त्यति सहज थिएन । तेस्रो वर्षमा मात्रै माइती जान पाइयो । अहिले सबै सामान्य हुन थालेका छन् ।’

दीपकलाई पनि सुरुमा अप्ठेरो लाग्थ्यो तैपनि समाजलाई सही बाटोमा ल्याउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । हिम्मत हारेनन् । ‘अन्त्यमा सफल भइयो । अहिले म पनि स्वीकार्य ज्वाइँ भएको छु,’ उनले भने, ‘मायाप्रेमको अगाडि कसैको केही लागेन । हामीले त जित्यौं नै, हाम्रो छुवाछूतविरुद्धको मुद्दाले पनि सफलता पायो ।’ उनीहरू एक छोरा र एक छोरी हुर्काउँदै खुसीसाथ बसिरहेका छन् ।

समाजमा बलियो गरी अडिएको छुवाछूतको पर्खाल भत्काउन त्यति सहज थिएन । माथिल्लो र तल्लो जातबीच अझै पनि ठूलो विभेद छ । कानुनले यस्ता कामलाई वर्जित गरे पनि समाजमा अनेक रूपमा यथावत् छ तैपनि तत्कालीन सामाजिक सोचाइविरुद्ध उभिन सक्ने यस्ता उदाहरणीय जोडीहरू अहिले आदर्श बनेका छन् ।

विस्तारै जातीय कुरा सामान्य मान्दै गए पनि पुरानो पुस्तासामु अझै पनि चुनौती यथावत् छ । ४२ वर्षअघिको समाज झन् कस्तो थियो होला ? त्यतिबेलाको कट्टर समाजमा अन्तर्जातीय विवाह गरेर चलनचल्तीको सामाजिक मूल्य मान्यताविरुद्ध उभिनु सहज हुने कुरै भएन तैपनि तुलसीपुर १ सुनपुरका ७१ वर्षीय गोविन्द सापकोटाले २०३३ सालमा नै समाजमा धावा बोलेका थिए ।

उनले गाउँकै बेलमती सुनारसँग विवाह गरे । ब्राह्मणको छोरा सुनारको छोरीसँग विवाह गर्‍यो भनेर सबैले छिछि–दूरदूर गरे । उनी गाउँ–समाज र आफन्तहरूमाझ एक्लोजस्तो भए पनि हरेस खाएनन् ।

 

यशोदा गुरूङ र सञ्जीव नेपाली

आफ्नो बाटो हिँडिरहे । पहिलो घरबार बिग्रिएपछि २०५८ मा दोस्रो विवाह गरे । त्यो पनि सुनारकै छोरी तारादेवीसँग । अति नै हुन थाल्यो । उनलाई गाउँमा बसिसक्नुभएन । उनलाई पुलिसमा लगेर थुनाए, कुटाए ।

‘त्यतिबेला म एक्लो थिएँ । साथ दिने कोही थिएन । पुलिसले थुन्दा, कुट्दा पनि मैले हरेस खाइनँ,’ गोविन्दले भने, ‘जातभातको विभेद र छुवाछूत हटाउनुपर्छ भनेर नै मैले खोजीखोजी सुनारकै छोरी विवाह गरेको थिएँ ।’ अन्तरजातीय विवाह गरेकामा उनलाई कुनै पश्चाताप छैन । अहिले अन्तर्जातीय विवाह विस्तारै सामान्य बन्दै गएको छ तर उनले विवाह गर्दाताका भने अनौठो मानिन्थ्यो ।

समाजमा रहेको गलत प्रचलनविरुद्ध आँट गरेर उभिएको तारादेवीले बताइन् । ‘मलाई त हिँड्नै नसक्ने अवस्था थियो । ठूला–साना सबैले गाली गर्थे,’ ५९ वर्षीया तारादेवीले भनिन्, ‘अहिले त ती दिन सम्झँदा अचम्म लाग्छ । कसरी त्यत्रो आँट आयो होला ? मायाप्रेम भनेपछि सबै छोडेर बसियो । अहिलेसम्म मायाले नै बचायो ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!