रोनाल्डोको युभेन्ट्स र म्यानयूबीच भिडन्त

एजेन्सी । युरोपेली क्लब फुटबलको सबै भन्दा ठुलो प्रतियोगितामा युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) विभिन्न ८ खेलहरु संचालन हुँदैछ ।

आज युरोपका ठुला क्लबहरु रियल मड्रिड, युभेट्स, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, वायर्न म्युनिख लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

आज इटालियन क्लब युभेन्ट्सले इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडसंग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल राति १ः४५ बाट सुरु हुनेछ ।

म्यान युलाई नकआउट चरणमा प्रवेश गर्न युभेन्ट्सविरुद्ध जित्नै पर्ने दबाव छ । समूह ‘एच’ को शीर्ष स्थानमा रहेको युभेन्ट्सले ३ खेलबाट ९ अंक जोडेको छ । म्यान यु ४ अंक सहित दोस्रो स्थानमा छ ।

आज म्यान युले हार व्यहोरेमा र अर्को खेलमा भ्यालेन्सियाले जित निकालेमा म्यान यु समूह चरणबाट बाहिरिने खतरा बढ्ने छ । म्यान युले समूह चरणको तेस्रो खेलमा युभेन्ट्ससंग घरेलु मैदानमै १ – ० को हार व्यहोरीसकेको छ । म्यान यु घरेलु मैदानमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

यता, युभेन्ट्स सिजनको पराजित यात्रा कायम राख्न चाहन्छ । र, दुई खेल अगाबै नकआउट चरणमा पुग्न चाहन्छ । युभेन्ट्सलाई स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको साथ रहनेछ । जसले ६ बर्ष ओल्ड ट्राफोर्डमा बिताएका थिए ।

यसै समूहको अर्को खेलमा भ्यालेन्सियाले योङ ब्वाइजसंग खेल्नेछ ।

च्याम्पियन्स लिग अन्तर्गत साबिकको विजेता रियल मड्रिडले चेक क्लब भिक्टोरिया प्लाजेनसंग आजै प्रतिस्पर्धा गर्दैछ । राति १ः४५ बाट सुरु हुने खेलमा रियल सहज जितसंगै नकआउट चरणमा प्रवेश गर्ने दाउमा हुनेछ ।

समूह ‘जी’ मा ६ अंक जोडेको रियल शीर्ष स्थानमा छ । इटालियन क्लब रोमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रोमाले आजै रुसी क्लब सीएएसके मस्कोसंग खेल्नेछ ।

समूह ‘एफ’ को खेलमा अइंग्लिश क्लब म्यानचेस्टर सिटीले युक्रेनी क्लब शख्तर डोनट्स्कसंग खेल्नेछ । यसै समूहको अर्को खेलमा जर्मन क्लब होफेनहाइमले फ्रेन्च क्लब लियोनसंग प्रतिस्पर्धा गर्नेछ । दुवै टोलीको खेल राति १ः४५ मा सुरु हुनेछ ।

त्यस्तै समूह ‘ई’ को खेलमा जर्मन च्याम्पियन वायर्न म्युनिखले एथेन्ससंग खेल्नेछ । यसै समूहको अर्को खेलमा आयाक्सले पोर्चुगलको बेन्फिकासंग खेल्नेछ । दुवै खेल राति १:४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!