आफ्नै हजुरबुबा र ठूलोबुबाबाट १३ वर्षीया अपाङ्ग बालिका बलात्कृत

भक्तपुर, २१ कात्तिक । बलात्कारका घटनाले बालिकादेखि बृद्धासम्म असुरक्षित बन्ने गरेका छन् । आपराधिक मानसिकताले अपाङ्ग बालिकालाई समेत नछाडेको तथ्य भक्तपुरको चाँगुनारायणमा देखिएको छ । १३ बर्षीया बालिका आफ्नै हजुरबुबा र ठूलोबुबाबाट बलात्कृत भएकी छन् ।

शारीरिक तथा मानसिक अपाङ्ग चागुनारायणकी १३ वर्षीया बालिकाको पीडा व्यक्त हुनै सक्दैन । कसले सोच्ला, उनीमाथि आफन्तकै गिद्दे दृष्टि पर्ला भनेर । पाटनको मानसिक अस्पतालमा उपचार गराइरहेकी पीडित बालिकालाई घर फर्कन डराउँछिन् । उनलाई अस्पताल नै सुरक्षित लाग्छ । अनि, आउने जानेलाई सोध्छिन्– मैले न्याय कहिले पाउँछु ?

पीडाले उनलाई सानैदेखि छोडेन । कक्षा १ मा पढ्दा पढ्दै आँखाले अक्षर ठम्याउन नसकेकै कारण विद्यालयबाट निकालिएकी उनको पीडा सहन नसक्ने छ । दिनहुँ घरमा एक्लै बस्ने उनी आफ्नै ठूलोबुबा र हजुरबुबाबाट पटक–पटक बलात्कृत भइन । आफूमाथिको अन्याय विरुद्ध उनी बोल्न सक्ने अवस्थामा थिइनन् । सुरुमा उनको कुरा परिवारले समेत पत्याएन ।

उनी चिच्याएपछि छिमेकीले थाहा पाए । छिमेकीको सहयोगमा उनको उद्दार गरिएको थियो । दुबै पीडक अहिले महानगरीय प्रहरी परिसर भक्तपुरको हिसारतमा छन् । उनीहरुलाई छुट्टा–छुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो । उपचाररत् पीडित बालिका अस्पतालको बेडबाट न्यायको भिख माग्दैछिन् ।

पीडित बालिकाको अभिभावकले भने अपांगता भएकी छोरी जोगाउन समस्या भएको गुनासो गरेका छन् । बलात्कारका उजुरी प्रहरीसमक्ष आउनेक्रम बढेपनि प्रारम्भिक अनुसन्धान तथा प्रमाण संकलन गर्ने पद्धतिमा सुधार नआएका कारण पीडितले न्याय नपाउने जोखिम कायम नै छ । क्यामेरामा माधवप्रसाद घिमिरेका साथ टिभी जर्नलिष्ट रिया भण्डारी ललितपुर ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!