रोनाल्डोले गरे मेस्सीलाई फोन : मैले जित्छु बालोन डी’ओर

कात्तिक ३० – रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई टेलिफोन गरेका छन् । रोनाल्डो र मेस्सी एकअर्काका प्रतिस्पर्धी हुन्, क्लब र व्यक्तिगत रुपमा पनि । रोनाल्डोले मेस्सीलाई हालखबर सोध्न भने फोन गरेका होइनन्, बरु एक दाबी गर्नका लागि हो । फिफा वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डोले बालोन डी’ओर पनि आफैले जित्ने दाबी गर्न मेस्सीलाई फोन गरेको स्पेनिस सञ्चारमाध्यमले दाबी गरेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने बालोन डी’ओर अवार्डका लागि रोनाल्डो, मेस्सी, नेइमारसहितका खेलाडी मनोनयनमा परेका छन् । गएको वर्ष मेस्सीलाई पछि पार्दै रोनाल्डोले अवार्ड जितेका थिए ।

मेस्सीले अहिलेसम्म पाँचपटक अवार्ड जितेका छन् भने रोनाल्डोले चारपटक । यो वर्ष अवार्ड जितेमा रोनाल्डोले मेस्सीसँग बराबरी गर्ने छन् । चुहावट भएको सूचना अनुसार डिसेम्बर ७ मा घोषणा हुने अवार्ड यो वर्ष मेस्सीको पोल्टामा जानेछ । तर रोनाल्डोले भने आफूले गोप्य सूचना पाएको र यसपटक पनि आफू नै विजयी हुने बताउन मेस्सीलाई फोन गरेको स्पेनिस पत्रिका डन बालोनले दाबी गरेको छ । मेस्सीले उनलाई बधाई पनि दिएको खबरमा दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्