सिन्धुलीगढी घुमेर हेर्दा..

चारैतिर हरियाली फाँट। बीच थुम्कोमा सिन्धुलीगढी। स्वर्णिम इतिहास बोकेर उभिएको ऐतिहासिक स्थल। केही समयअघि त्यहाँ पुग्ने अवसर मिल्यो।

हरिया वनपाखा बीचबाट बनाइएका बान्की परेका घुम्ती सडक हुँदै सिन्धुलीगढी पुगिन्छ। अंग्रेज साम्राज्यलाई पहिलोपटक पराजित गरेको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते त्यहाँ विजयोत्सव मनाइन्छ।

Related image

सिन्धुलीमाडीबाट १६ किलोमिटरमा गढी। सिन्धुलीको पुरानो सदरमुकामसमेत हो गढी। सिन्धुलीको पहिचान जोगाइराख्न ०६४ सालदेखि नेपाल पत्रकार महासंघ सिन्धुलीले कात्तिकमा विजयोत्सव मनाउँदै आएको हो।

सिन्धुलीगढी (१,४०० मिटर) बाट उत्तर सीमामा तामाकोसी र भर्खर अन्माउन लागेको बेहुलीको नारीमा चाँदीको बाघमुखे चुराजस्तो गौरीशंकर हिमाल मुस्कुराइरहेको देखिन्छ। दक्षिणमा हरियाली वनजंगलले ढाकेको चुरेपहाडसँगै तराईका समथर भूभाग। पूर्वमा सुनकोसीले छेकारो मारेको छ। पश्चिम सिमानामा सललल बगिरहेको वाग्मती र मरिणखोलाको दृश्य।

तस्बिरमा कुचिकारले रङ भरेजस्तै देखिने वरिपरिका पहाडबीचको गढीथुम्को आकर्षक छ। गढी क्षेत्रको हावापानी न धेरै चिसो न गर्मी। जाडो महिनामा औसत तापक्रम सूर्योदयको समयमा ८ देखि १० डिग्री सेल्सियसका बीच रहन्छ भने सूर्यास्तमा १० देखि १२ डिग्री सेल्सियस।

गर्मी महिनामा औसत तापक्रम सूर्योदयको समयमा १८ देखि २० डिग्री सेल्सियसबीच रहन्छ भने सूर्यास्तको समयमा २५ देखि २८ डिग्री। मध्याह्नदेखि साँझसम्म हावा चल्ने हुनाले जाडो महिनामा विचार पुर्याकउनुपर्छ।

नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण स्थल सिन्धुलीगढीलाई दुई गढीमा विभाजन गरेको पाइन्छ। जसलाई सानो गढी र ठूलोपौवा गढी भनिन्छ। गढीमा बसेर वीर गोर्खालीले युद्ध जितेका थिए। त्यो कात्तिक २४ गतेको दिन थियो।

चिसो मौसममा स्वर्गकै भूमिमा छु भन्ने अनुभूति हुन्छ। यहाँ आउने स्वदेशी पुर्खाले बगाएको रगतको कथा सुन्न पाउँदा गर्वले छाती फुलाउँछन्। र, भन्छन्– ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ।’
गीतमा भनेझैं तत्कालीन समयमा गोर्खालीको वीरताले यस ठाउँबाट अंग्रेजहरूलाई लखेटेका थिए। महोत्सवका बेलामात्रै होइन, सधैं पर्यटक आउँछन्। बर्सेनि पर्यटक संख्या बढ्दो क्रममा रहेको स्थानीय भोला बरालले बताए।

सिन्धुलीगढी घुमेर हेर्दा

‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमई
कति न राम्रो दरबार…
मार्योन नि मायाले मार्योी’……
कृष्णविक्रम थापाले २०३७ सालमा रेडियो नेपालमा गाएको योे लोकगीतले गढीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे पनि यहाँको संरक्षणमा सरकारले ध्यान दिएको छैन। स्थानीय पत्रकार चीना थापा भन्छिन्, ‘गीतमा भनिएको दरबार अहिले भग्नावशेषमा सीमित छ।

विगत सम्झेर थापाले ‘सिन्धुलीगढी घुमेर हेर्दा’ गाएका थिए। जुन गीतले गढी दरबार जीर्ण हुँदासमेत त्यसको महत्वलाई स्थायी बनाउन सघाएको छ।
गढीमा दुई वटा टापुमा युद्धको समयमा सानो र ठूलो तोप राखेकाले सानोगढी र ठूलोगढी भनिएको। गढीको स्थापना कहिले भयो भन्ने तथ्य फेला नपरे पनि मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले १७६२ मा निर्माण गराएको गढी सन् १८१९ मा गोर्खाली सेनाले कब्जा गरेका थिए।

दुई गढीबीचमा पृथ्वीनारायण शाहले विजय युद्धपछि सेना बस्न काठ र खरको छानो राखेर घर बनाई गढीको स्थापना गरेका थिए भनिन्छ। १९७५ सालतिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ ‰याल, टिनको छाना, सिमेन्ट र इँटाको गारो लगाएको दुईतले दरबार निर्माण सुरु गरेको इतिहास पाइन्छ।

पछि गढीका कर्णेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरेका थिए। सिन्धुलीगढीको क्षेत्रफल तीन हजार वर्गमिटरमा फैलिएको छ। दरबार क्षेत्र महाभारत जंगलबीचमा छ।
सिन्धुलीको सदरमुकाम रहेका बेला गढी क्षेत्रमा कमेरोले पोतेका कार्यालय, झिलिमिली पारेर राखेको बनेपाली भादगाँउले, खड्पू, धुलिखेले साहुजीका दोकान हुन्थे रे।

२०१९ सालसम्म जिल्लाका सबै सरकारी कार्यालय त्यहीँ थिए। २०२२ मा सेनाको ब्यारेक र प्रहरी चौकी, कारागारमात्र बाँकी रहेर सबै कार्यालय सिन्धुलीमाढी सारियो। २०२९ सालमा कारागार पनि सारियो। २०५२ सालसम्म प्रहरी चौकी गढी परिसरमा थियो।
माओवादी जनयुद्ध सुरुवातसँगै प्रहरी चौकीमा आक्रमणपछि गढी असुरक्षित बन्यो। शिलालेख पनि चोरी भइसकेका छन्।

वीरताको गाथा

सिन्धुलीगढी युद्धको कथा रोचक छ। १८२४ कात्तिक २४ गते इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको दुई हजार चार सय अंगे्रजी फौजलाई राजा पृथ्वीनारायण शाह पक्षका वंशु गुरुङ नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट भगाएको थियो। जसमा झन्डै एक हजार छ सय अंग्रेज सेना हताहत भएका थिए। अंग्रेजविरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरूको पहिलो पराजय।

Sinduligadi 3
विसं १३६७ मा सिम्रौनगढका सेनाहरूले काठमाडांैमा व्यापक लुटपाट गरी बनेपा हुँदै सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर/सितामाढी) फर्केका थिए। इतिहासका घटनाक्रम अध्ययन गर्दा डोयहरूको आक्रमणको करिब ४० वर्षपछि जयस्थिति मल्लका पालामा अर्थात विसं १४०६ को मंसिरमा बंगालका शासक समसुद्दिन इलियासको फौजले काठमाडांैलाई लगभग ध्वस्त बनाई फर्किंदा पनि सिन्धुलीगढीको बाटो हुँदै बंगाल ग्ाएका थिए।

यो अपार क्षतिबाट विछिप्त भएर पुनःआक्रमणको प्रतिरोध एवं बचावटका लागि गढी स्थापना विसं १४११ र विसं १४५२ को बीचमा जयस्थिति मल्लले गरेका हुन्। राजा जयस्थितिले गढीको फेदीभन्दा केहीपर भारदारलाई सुराकीका रूपमा राखेका थिए।

Sinduligadi2
काठमाडौंका राजा यक्षमल्लले अयोध्या र मगधसमेत नेपालमा गाभेपछि विदेशीलाई पुनः प्रत्याक्रमण गर्न नदिन विसं १५१५ तिर सिन्धुलीगढीलाई मजबुत बनाए। १५५६ तिर राजा शिवसिं मल्लले सिन्धुलीमा आक्रमण गरी विजय गरेपछि सिन्धुलीगढीलाई अधिकारमा लिएका थिए।

विसं १७४६ मा कान्तिपुरका राजा भुपालेन्द्र मल्लका भारदार र मोरङका बादशाह इन्द्रविधाता सेन (हरइन्द्र सेन) सिन्धुलीगढीमा भेला भई मैत्री सम्बन्ध स्थापना गरेका गरेका थिए।

विसं १८७३ मा सुरु भएको नेपाल–अंग्रेज युद्धको समयमा सिन्धुलीगढीको सामरिक महत्व बुझेर तत्कालीन जनरल भीमसेन थापाले सिन्धुलीगढीमा कानुनी रूपमा स्थायी सैन्य छाउनी व्यवस्था गरेका थिए। १८८६ माघमा जनरल थापाले पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका थिए। यस्ता घटनाक्रमले सिन्धुलीगढीको महत्व बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!