जुवाडे समूह र प्रहरीबीच झडप, चार राउन्ड हवाई फायर !

विष्णु शर्मा
दुल्लु नगरपालिका–७ स्थित कृतखम्ब बजारमा सडक अवरुद्ध गरेर कौडा खेलिरहेको समूह र प्रहरीबीच झडप भएको छ । शुक्रबार राति भएको झडपमा इन्स्पेक्टरसहित तीनजना घाइते भएका छन् ।

जुवा चलिरहेको सूचना पाएपछि दुल्लु इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक बजिरसिंह विष्टको टोली कृतखम्ब बजार पुगेको थियो । मादक पदार्थ सेवन गरेको जुवाडेको भिडलाई सम्झाउनेक्रममा विवाद बढ्दै गएपछि झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।

करिब ४० जनाको समूहमा रहेका जुवाडेले प्रहरी टोलीमाथि आक्रमण गरेको उनले बताए । ‘उनीहरूलाई तितरबितर गरेर स्थिति नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गर्नुप-यो,’ डिएसपी पोखरेलले भने । जुवाडेले हानेको ढुंगा लागेर इन्स्पेक्टर विष्ट, प्रहरी सहायक निरीक्षक सुजन खड्का र एक स्थानीय वृद्ध घाइते भएका छन् । इन्स्पेक्टर विष्टको टाउकोमा चार टाँका लागाइएको छ । हवाई फायर गर्दा भागदौडमा वृद्धको खुट्टामा चोट लागेको जनाइएको छ । उनको नाम खुलेको छैन । दुल्लु नगरपालिका–७ का वडासदस्य सूर्यबहादुर थापाले प्रहरीकै कारण झडप भएको आरोप लगाए ।

वडा सदस्यमाथि मुद्दाको तयारी

शनिबार प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटा र दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलसहितको टोली घटनास्थल पुगेको छ । टोलीले स्थानीय बासिन्दासँग घटनाबारे सोधपुछ गरेको छ । प्रारम्भिक अनुसन्धानमा तीनजना मुख्य दोषी देखिएको प्रहरीले जनाएको छ । जुवाडेको समूहलाई नेतृत्व गरेका दुल्लु नगरपालिका–७ का वडासदस्य सूर्यबहादुर थापासहित स्थानीय पुष्कर बज्राचार्य र सुदीप शाहमाथि मुद्दा चलाउने तयारी गरिएको छ । प्रहरी टोलीमाथि भएको आक्रमणलाई गम्भीर रूपमा लिएको प्रजिअ बास्कोटाले बताए । आइतबार थप छलफल गरेर मुद्दा दर्ता गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!